राष्ट्रिय स्वतन्त्र पार्टीका वरीष्ठ नेता बालेन्द्र शाह शनिबार लमजुङ आउने

खबरकुञ्ज

बेसीशहर फागुन १ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका वरीष्ठ नेता बालेन्द्र शाह (बालेन) शनिबार लमजुङ आउने भएका छन् । रास्वपाको चुनावी अभियान अन्तर्गत देशका विभिन्न भागको दौडाहमा निस्किएका बालेन शनिबार बिहान ११ बजे लमजुङको राईनास नगरपालिकाको धमिलीकुवा, सुन्दरबजार नगरपालिकाको पाउँदी, भोटेओडार, बेसीशहर नगरपालिकाको उदीपुर हुँदै बेसीशहर आउने कार्यक्रम छ ।

बालेन शाह शुक्रबार गोरखाका विभिन्न ठाउँको चुनावी अभियानमा सहभागी भएका छन् । यस अघि धादिङ जिल्लाको चुनावी अभियानमा रहेका उनी शुक्रबार बेलुकासम्म गोरखा बजार आइपुग्ने कार्यक्रम छ । शनिबार बिहान गोरखाबाट छेवेटार हुँदै पालुङटार नगरपालिकाका विभिन्न स्थानमा रास्वपा उमेदवार तथा नेता कार्यकर्तासंग भेटघाट गरी उनी मध्यपहाडी लोकमार्ग हुँदै लमजुङको राईनास नगरपालिकाको वडा नंं ७, ६, ८ हुँदै सुन्दरबजार नगरपालिकाको वडा नंं ७ पाउँदी प्रवेश गर्ने छन् ।

बालेन पाउँदीबाट सिधै बेसीशहर आउने कार्यक्रम छ । बेसीशहरमा लमजुङबाट प्रतिनिधि सभाका लागि रास्वपाका उमेदवार धर्म केसी, रास्वपा जिल्ला कार्य समितिका सभापति एवं पदाधिकारी तथा सदस्य लगायत कार्यकर्तासंग भेटघाट गरी उनले लमजुङको चुनावी अभियानका बारेमा बुझ्ने छन् । 

रास्वपा लमजुङका सभापति अशोक सापकोटाका अनुसार बेसीशहर बजारमा बालेनले लमजुङे मतदाता, पार्टी सदस्य एवं सुभेच्छुकहरुलाई अभिभादन गर्ने कार्यक्रम तय भएको छ । समय अभावका कारण बालेनको सम्बोधनको कार्यक्रम राखिएको छैन । बेसीशहर बजार परिक्रमा पछि बालेन उदीपुर, भोटेओडार हुँदै सुन्दरबजार पग्ने कार्यक्रम छ । सुन्दरबजारमा पनि मतदाता, पार्टी सदस्य एवं सुभेच्छुकहरुलाई अभिवादन गरी मध्यनेपालको भोर्लेटार, दुईपिप्ले रम्घा हुँदै दमौली जाने कार्यक्रम तय भएको छ ।

बालेन लमजुङ आउने पक्का भए पनि गोरखा हुँदै आउने र गोरखाका विभिन्न ठाउँका चुनावी अभियानमा सहभागी हुनुपर्ने भएकाले समय तालिका केही तलमाथि हुन सक्ने बताइएको छ ।

बालेनले भोलि नै तनहूँको दमौलीमा पुगी तनहूँका रास्वपा नेता कार्यकर्ता तथा सुभेच्छुकहरुसंग भेट गर्ने कार्यक्रम छ ।

झापा ५ बाट प्रतिनिधि सभा सदस्य उमेदवार रहेका बालेन रास्वपाको तर्फबाट प्रधानमन्त्रीका उमेदवार समेत हुन् । चुनावी अभियानका क्रममा उनले मधेस, सुदुर पश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरिसकेका छन् । उनको भ्रमणका क्रममा हजारौं रास्वपा कार्यकर्ता र सुभेच्छुकहरुको भीड लाग्ने गरेको छ ।

प्रतिक्रिया