बेसीशहर, फागुन ४ गते । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशमा आसन, शासन र भाषणमा सुधार गर्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस लमजुङको आयोजनामा सोमबार बेसीशहरमा आयोजित चुनवी शुभारम्भ सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले भने– “देशमा सुधार गर्नुपर्ने थुप्रै कुरा छन् । देशमा सुधार गर्नुपर्ने आसन पनि छ, भाषण पनि छ र देशमा सुधार गर्नुपर्ने शासन पनि छ । आसन सुधार गर्ने भनेको कोही पनि मान्छे सिंहदरबार एकपटक छिरेपछि कहिल्यै ननिस्कने, एकपटक कुनै माथिल्लो जिम्मेवारीमा पुगेपछि अड्किरहने ।। हामीले नीति लिएका छौं बिशेष महाधिवेशनबाट । यो देशको राष्ट्रपति बन्दा कोही पनि अब एकपटक मात्र बन्नुस्, प्रधानमन्त्री बन्दै गर्दा दुईपटक मात्र बन्नुस् । वान, टु, थ्री, फोरको पोलिसी हामीले लिएका छौं । जिम्मेवारीमा मानिसलाई बदलिरहने, पालो अरुलाई दिइरहने, अरु साथीहरु आइरहने, नयाँले अवसर पाइरहने, समानुपातिकमा एकपटक गयो कोही तागतले भ्याएसम्म अर्कोपटक पनि, फेरि अर्कोपटक पनि । कांग्रेसको राजनीतिमा लागेर जिन्दगीमा एकपटक वडा सदस्य बन्न नपाइरहेको मान्छे पनि कांग्रेस भनेर जिताउन लागि रहेको हुन्छ । एकपटक वडा सदस्यमा जिन्दगी गुजार्न कसैले मिल्छ, अनि कसैले समानुपातिकमा एकपटक, दुईपटक, तीनपटक । यसपाली नीति बदलिएको छ, एकपटकको समानुपातिक अन्तिम पटकको समानुपातिक ।”
उपसभापति शर्माले कांग्रेस पार्टी विगतको जस्तो नभइ सुधारिएको छ भन्दै सुधारिएको कांग्रेसले अब भागबण्डाको राजनीति नगर्ने प्रतिबद्धता जनाए । उनले भने – “पार्टीभित्र ६०–४० कोभागबण्डा थियो, अब हुँदैन, विश्वविद्यालय, राजदूतहरुमा भागबण्डा अब अन्त्य हुन्छ । मेरिटको योग्यताक्षमताकोे आधारमा छनोट हुन्छ । कांग्रेस देशलाई बदल्नका लागि आफूलाई बदलेर आएको छ । अब पहिले कांग्रेस ८० बर्ष माथिका सभातिको नेतृत्वमा थियो, अहिले ५० मुनिका सभापतिको नेतृत्वमा छ । कांंग्रेसका कुनै ब्यक्ति चाहे सरकारमा बस्ने हुन्, चाहे प्रदेशमा चाहे वडामा हुन्, कसैमाथि भ्रष्टाचारको मुद्दा दायर हुन्छ भने उसको सदस्यता तत्काल निलम्बन हुन्छ ।"
उनले अबको नेपालको चुनौति सुधारिएको नेपाली कांग्रेसले मात्र थेग्न सक्ने दावी गरे । फागुन २१ गते हुने निर्वाचन प्रतिनिधि सभा बनाउन र सरकार गठन गर्नका लागि मात्र नभएको भन्दै देशलाई एकसुत्रमा बाध्नका लागि हुन लागेको बताए । उनले देशमा विभिन्न किसिमका चुनौति रहेको भन्दै राणा शासन, पञ्चायती ब्यवस्था, राजतन्त्र समाप्त गर्न र माओवादी जनयुद्धको अन्त्य र देशको वर्तमान संविधान निर्माण गर्न कांग्रेसले नेतृत्व गरेको इतिहास रहेको भन्दै अब देशका चुनौति पनि कांग्रेसले नै समाधान गर्ने दावी उनले गरे ।
उपसभापति शर्माले नेपाली कांग्रेस प्रतिनिधि सभा सदस्यका लागि देशका सबै १६५ निर्वाचन क्षेत्रबाट उमेदवार उठाउने एकमात्र पार्टी भएको बताउँदै तीमध्ये १ सय ६ जना नयाँ उमेदवार र अघिल्लो निर्वाचनमा भन्दा दोब्बर महिला उमेदवार उठाएको बताए । उनले अबका निर्वाचनमा उमेदवारको टिकटका लागि कांग्रेसका कार्यकर्ताले काठमाडौं र पोखरातर्फ हात फैलाउन नपर्ने पनि बताए ।
उपसभापति शर्माले चुनाव जिते यो गर्छौं, उ गर्छौं भनेर झुटो आश्वासन नदिन र अन्य पार्टीलाई गाली नगर्न कांग्रेस कार्यकर्तालाई आग्रह गरे । उनले भने– “चुनावमा जाँदै गर्दा सक्ने कुरा गर्नुपर्छ । हामी सक्ने कुरा गर्छौं, यो देशमा विगतमा केही काम भएका पनि छन्, तर धेरै काम गर्न बाँकी नै छ ।
उनले अगाडि भने– “जेनजीको आन्दोलन ०८२ मा भयो । सही ढंगले यो विद्रोहको जरो पत्ता लगाउन सकिएन भन अबको १० १५ बर्षपछि अल्फाको नेतृत्वमा अर्को विद्रोह हुन सक्छ । त्यो अवस्था आउन दिन हामीले हुँदैन । फेरि सिंह दरबार जल्न दिन हुँदैन । निर्वाचनमा कसले जित्ने भन्ने होइन, के हामी चाहन्छौ फेरि निर्वाचन संगसंगै देशलाई कसले गाँस्ने भन्ने छ । त्यो गांस्ने अठोट कांग्रेसले गरेको छ ।”
चुनावी सभा शुभारम्भ गर्नु अघि बेसीशहरको मनाङे चौताराबाट बिशाल र्याली निकाल्न भने नेपाली कांग्रेसले सकेन । पार्टीका उपसभापति शर्मा समेत सम्मिलत भएर र्याली निकाल्ने तयारी गरिएकोमा सहभागी कम भएपछि स्थगित गरिएको थियो । पार्टी कार्यालयमा कार्यक्रम शुरू भएपछि जम्मा भएका नेता कार्यकर्तालाइ लिएर कांग्रेसले बेसीशहर बजारमा दिउसो मात्र बेसीशहरमा र्याली निकालेको थियो ।
खबरकुञ्ज