बेसीशहर, फागुन २ गते । राष्ट्र हित संरक्षण मञ्चले आगामी फागुन २१ गते हुने निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लाई मतदान गर्न अपील गरेको छ ।
मञ्चले एक विज्ञप्ती प्रकाशित गरी विगत ३५ वर्षमा नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलहरुले देशलाई भ्रष्टाचार ,कमिसन, तस्करी जस्ता अपराधहरुमा चुर्लुंम्म बनाएको स्मरण गराउँदै आजीवन एउटै व्यक्तिले पार्टी कब्जा गर्ने, सरकारमा निश्चित अनुहारहरू मात्र आलोपालो गरिरहने र निरंकुश शासनको अभ्यास गरिएका कारण देशमा रास्वपा बैकल्पिक राजनीतिक दलको रुपमा जन्मिएकाले अबको निर्वाचनमा रास्वपालाई मतदान गर्नुको बिकल्प नरहेको बताएको हो ।
मञ्चले पुराना दलमा मत हाल्दा हाल्दा दिक्क भएका, आश्वासन सुन्दासुन्दा आजित भएका जनताका लागि आउँदो निर्वाचनर्मा रास्वपामा मत दिनु बाध्यात्मक अबस्था बनेको पनि बताएको छ । यो जबरजस्त बिकल्प तिनै ३५ वर्षे राजनीतिक खेलाडीहरूले जनताको अगाडि प्रस्तुत गरेकाले रास्वपालाई मतदान गर्नु र चार वर्षको लागि रास्वपालाई अवसर दिएर परीक्षा लिनु बुद्धिमानी हुने पनि बताएको छ। मञ्चले यो अवसरलाई रास्वपाले पनि ईमान्दारितापुर्वक सदुपयोग गरोस भन्ने अनुरोध पनि गरेको छ ।
मञ्चका तर्फबाट डा बालककृष्ण बरालले नेपाल यतिखेर इतिहासकै सबभन्दा जटिल राजनीतिक परिस्थितिमा रहेको, विगत ३५ वर्ष देखि सत्तामा बस्नेले देशको भूराजनीतिक स्थिती नबुझ्नु, कस्तो विदेश नीति अवलम्वन गर्ने भन्ने नबुझ्नुले देश विदेशीको रणमैदान बन्दै गरेको पनि स्मरण गराएका छन् । उनले छिमेकहरु नेपालको कारणले आफू असुरक्षित भएको अनुभूत गरिरहेका र एमसीसी सम्झौता भए देखि अमेरिका अहिले आवश्यकता भन्दा बढी हावी भैरहेकोमा पनि आपत्ति जनाएका छन् । उनले एमसीसी अमेरिकाले नेपाललाई गर्ने आर्थिक प्राविधिक सहयोगको सम्झौता हो र हुनुपर्ने भए पनि यसलाई सैन्य रणनीतिसँग जोडने काम काँग्रेस एमालेले गरेको बताएका छन् । कांग्रेस एमालेले एमसीसीलाई संसदबाट पारित गर्ने अनावश्यक बिषय प्रवेश गराएमा चिन्ता ब्यक्त गर्दै डा बरालले इण्डोप्यासिफिक रणनीतिको मुद्दामा नेपाललाई फंसाउने काम गरेका र त्यसलाई प्रचण्ड र माधव नेपाल लगायतका दलहरुले अनुमोदन गरेको पनि बताएका छन् । उनले भनेका छन्– “पुराना दलहरुले चलाएको निरंकुशताले जनतालाई निरास बनायो उकुसमुकुस बनायो र युवाहरू मिलेर रास्वपाको स्थापना गरे । त्यतिमात्र हैन तिनै पुराना दलहरू सरकारमा रहंदा जेन्जी आन्दोलन दबाउन भनेर स्कुले बालबालिकालाई गोली हानेर मारियो र राष्ट्रिय महत्वका ऐतिहासिक भवनहरू जलाइयो । पुराना दलहरूको अकर्मण्यताले यस्ता घटनाहरू घटे ।”
बिज्ञप्तीमा देश युवा जनशक्ति विहिन अवस्थामा रहेको र गलत राजनीतिक सोचले गर्दा शिक्षा स्वास्थ्य जस्ता सेवाहरू रसातलमा पुगेको, पढ्न र उपचार र रोजगारीका लागि विदेश जानुपर्ने अबस्था रहेको भन्दै ३५ वर्षे समाजवादी लोकतन्त्रले देश ध्वस्त बनाएको उल्लेख गरिएको छ । देशलाई आत्मनिर्भर बनाउने जनतालाइ रोजगारी दिने कृषिलाइ व्यावसायिक बनाउने उद्योगधन्दाहरू बेचिएको, विदेशीसंगको परनिर्भरताले आज देशको सार्वभौमसत्तानै अप्ठ्यारोमा परेको र सबै उपभोग्य वस्तु विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेकोमा चिन्ता ब्यक्त गरिएको छ ।
“देशमा उद्योग छैन, काम गर्ने मान्छे छैन, बिकासको नाममा बिदेशी संग लिएको ऋणको बोझ र कमिसन तथा भ्रष्टाचारले देश कालो सूचीमा दर्ज हुंदैछ । ३५ वर्षमा देशलाई यस्तो जर्जर अबस्थामा पुर्याउने तिनै दललाई मत दिएर अब देशलाई कता पुर्याउने ?” मञ्चले विज्ञप्तीमार्फत प्रश्न गरेको छ ।
विज्ञप्तीमा अगाडि भनिएको छ– “निर्वाचन नजिकिंदैछ देश सपार्न नसकेपनि नबिगार्ने पार्टी छान्नुछ। यद्यपि राष्ट्रहित संरक्षण मञ्च अहिलेको समस्याको हल यहि निर्वाचनले मात्र गर्न सक्दैन र संविधान परिवर्तन गरेर मात्र गरिने निर्वाचनले जेन्जी नवयुवाहरुको संमान गर्छ र समस्याको पनि हल हुन्छ भन्ने ठहर गर्छ तापनि निर्वाचन नजिक आइरहेको छ । पुराना दलहरू पनि आश्वासन लिएर घरघरमा पुग्दैछन । यतिखेर तिनै पुराना दलहरूको अकर्मण्यताले बाध्य भएर बैकल्पिक दलको रुपमा जन्मिएको राष्ट्रिय स्वतन्त्र पार्टी हाम्रो अगाडि छ उसलाई मतदान गर्नु यौटामात्र बिकल्प छ । पुराना दलमा मत हाल्दा हाल्दा दिक्क भएका, आश्वासन सुन्दासुन्दा आजित भएका जनतालाई रास्वपामा मत दिनु बाध्यात्मक अबस्था बनेकोछ । यो जबरजस्त बिकल्प तिनै ३५ वर्षे राजनीतिक खेलाडीहरूले जनताको अगाडि प्रस्तुत गरेका हुन् ।”
खबरकुञ्ज