बेसीशहर, जेठ १८ । लमजुङको दार्दी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम गाउँपालिका अधिवेशन सोमबार सर्वसम्मत नेतृत्व चयन गर्दै भब्य रुपले सम्पन्न भएको छ । गाउँ अधिवेशनले रमा कुँवर खड्काको सभापतित्वमा नयाँ गाउँपालिका समिति सर्बसम्मतिले निर्वाचित गरेको हो ।
गाउँ समितिको उपसभापतिमा ईन्द्रजीत गुरुङ, सचिवमा कन्यालाल घले, सहसचिवमा रीता अधिकारी चयन भएका छन् ।

त्यस्तै समितिका सदस्यहरुमा सुरेन्द्र जंग गुरुङ, प्रवीण गुरुङ, हुमराज घले र चन्द्रबहादुर जैरु चयन भएका छन् । नवनिर्वाचित समितिले दलित महिला लगायत अन्य सदस्यहरु पछि मनोनित गर्ने भएको छ । त्यस्तै सदस्यहरुमध्येबाट कोषाध्यक्ष समेत वैठकबाट मनोनित गरिने छ ।
अधिवेशनले ओमबहादुर गुरुङलाई केन्द्रीय महाधिवेशन प्रतिनिधि, कल्याण अधिकारीलाई प्रदेश अधिवेशन प्रतिनिधि र प्रिया गुरुङ, सिंहबहादुर घले, काशीराज गुरुङ र विनोद गुरुङलाई जिल्ला अधिवेशन प्रतिनिधिको रुपमा चयन गरेको छ ।
अधिवेशनको रास्वपाका केन्द्रीय उर्जा तथा जलश्रोत समितिका सदस्य राजेन्द्र वस्तीले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै उनले पार्टी सभापति रवि लामिछानेको बिशाल छाती र बालेन्द्र शाहको कामलाई मन पराएर जनताले रास्वपालाई दुईतिहाइ हाराहारीको बहुमत दिएका भन्दै अब स्थानीय निर्वाचनमा पनि सबै पालिकामा जित्ने गरी काम गर्न पार्टी सदस्यहरुलाई आग्रह गरे । उनले राजनीतिलाई समाजसेवाको रुपमा लिन आग्रह गर्दै उनले पुराना पार्टीमा नेता कार्यकर्ताले गल्ती गर्दा पार्टी र नेताले संरक्षण गर्ने पारिपाटी रास्वपामा नभएकाले सभ्य एवं निष्कलंक रहन उनले पार्टी सदस्यहरुलाई आग्रह गरे ।
अधिवेशनकै उद्घाटन सत्रमा बोल्दै दोर्दी गाउँपालिकाका पूर्व अध्यक्ष ओमबहादुर गुरुङले पुराना पार्टीहरुका दस्तावेज हेर्दा राम्रो भए पनि पार्टी खोक्रो भएको भन्दै नयाँ नेपालका लागि रास्वपाको विकल्प नभएको बताए । उनले रास्वपाकै नेतृत्वमा देशमा भ्रष्टाचारको अन्त्य भइ सुशासन लागू हुने विश्वास ब्यक्त गरे । उनले अबको स्थानीय निर्वाचनमा रास्वपाविरुद्ध कांग्रेस एमाले र माओवादीले गठबन्धन गर्न सक्नेतर्फ औंल्याउँदै तयार रहन सबैमा आग्रह गरे ।
तदर्थ समितिका सभापति रमा खड्काको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा गण्डकी प्रदेश शिक्षा विभागका भरत भण्डारी, जिल्ला कार्य समितिका सदस्य होमबहादुर राउत, दूधपोखरी ३ का वडा अध्यक्ष श्याम गुरुङ, रास्वपा दोर्दी १ का सभापति विष्णु बहादुर अधिकारी, वडा नंं २ का सभापति श्याम अधिकारी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
खबरकुञ्ज