एजेन्सी । पाकिस्तानको उत्तरपश्चिम क्षेत्र बाजुर जिल्लास्थित खार तहसिल इलाकामा आइतबार भएको शक्तिशाली बम बिष्फाेट हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । बिष्फाेटमा परी कम्तीमा २०० जना घाइते भएका अन्तराष्ट्रिय समाचार एजेन्सीहरूले बताएका छन् ।
पाकिस्तानकाे इस्लामवादी राजनीतिक दलले आयोजना गरेको र्यालीमा विस्फोटन भएकाे बीबीसीले जनाएकाे छ । पाकिस्तानी सुरक्षा निकालय हाल उक्त क्षेत्रलाई घेराबन्दी गरेकाे छ । सुरक्षाफाैजले मृतकको सङ्ख्या अझ बढ्नसक्ने बताएका छन्।
याे घटना अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको खैबर पख्तूनख्वा प्रान्तमा पर्छ जुन अफगानिस्तानको सीमा नजिकै बाजुर जिल्लामा भएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जमियत उलेमा इस्लाम-फजल (जेयूआईएफ) का कार्यकर्ताहरूले र्याली निकाल्ने क्रममा विस्फोट भएको हो । विस्फोटमा परी त्यहाँका एक प्रभावशाली नेता मौलाना जिउल्लाह जानको समेत मृत्यु भएको पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
विस्फोटमा घाइते भएकाहरूलाई उपचारका लागि नजिकका अस्पतालमा लगिएको छ । उक्त क्षेत्र अस्पतालहरूमा मानिसहरूको घुइँचो छ र कतिपय घाइतेहरूले उपचार प्राप्त गर्न नसकिरहेका विवरण आएका छन् । घटनास्थलमा अहिले प्रहरीले कर्फ्यू लगाउनुका साथै सुरक्षा व्यवस्था कडा पारेको बताइएकाे छ । प्रहरीले विस्फोटनको कारणबारे केही खुलाएको छैन ।
अधिकारीहरूले जिल्लाको सरकारी अस्पतालमा स्वास्थ्य सङ्कटकाल घोषणा गरेका छन्।
पाकिस्तानका प्रधानमन्त्रीले घटनाको निन्दा गर्दै हमलाको जाँचका लागि निर्देशन दिएका छन्। उनले उक्त विस्फोटनका कारण भएको क्षतिप्रति दु:ख व्यक्त गर्दै ‘आतङ्कवादीहरू पाकिस्तानका दुस्मन भएका र तीनलाई पराजित गरेरै छाड्ने’ दृढता व्यक्त गरेका छन्।