बेसीशहर, जेठ २७ गते । उपचार गर्न गएका एक विरामीलाई गलत औषधी दिईएको भन्ने आरोपलाई प्रदेश अस्पताल बेसीशहरले अस्वीकार गर्दै त्यसको खण्डन गरेको छ ।
अस्पतालले गलत औषधि दिएको कारण आफ्ना बुबाको स्वास्थ्य अवस्था गम्भीर बनेको आरोप लगाउँदै हाल पोर्चुगल बस्ने निर्मला श्रीले सामाजिक सञ्जालमा राखेको भिडियो भाइरल भइरहेको छ । भिडियोमा उनले पेट दुखेर अस्पताल गएका आफ्ना बुबालाई कोल्स्टोर भएको भन्दै अस्पतालले गलत औषधि दिएको र स्वास्थ्य अवस्था झनै बिग्रिएको बताएकी छिन्। उनले आफ्नो बुबाको शरीरका विभिन्न भाग र गोप्य र सम्बेदनशील अंगहरुमा समेत असर पुगेपछि भरतपुर अस्पतालमा उपचार भइरहेको भन्दै आफ्नो बुबाको न्यायका लागि साथ दिन आग्रह गरेकी थिइन् ।

उनको यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहँदा प्रदेश अस्पतालले भने उनको आरोपमा सत्यता नभएको र विरामीलाई गलत औषधी दिइएको नभई औषधीको साइड इफेक्टले समस्या उत्पन्न भएको प्रष्ट पारेको छ ।
अस्पतालले सोमबार पत्रकार सम्मेलन गरी बेसीशहर नगरपालिकाको वडा नंं ८ बस्ने दिलबहादुर दमाई गत जेठ १९ गते विभिन्न समस्या लिएर अस्पतालमा जँचाउन गएकामा जाँचका क्रममा उनलाई पिसाबको इन्फेक्सन, टिग्लीसराइट (टीजि) र मृगौलामा पत्थरीको समस्या देखिएपछि डाक्टरले Omega 3 Fatty Acid, Hyoscine 10mg, Pantaprazole 40mg, Ciprofloxacin 500mg, Cyrup DJ Citral चलाउन सिफारिस गरेकोमा जेठ २१ गते उनी निको नभएको र शरीरमा डावर उठेको भन्दै पुनः अस्पतालमा जँचाउन पुगेको जानकारी दिएको छ ।
औषधी खाएपछि शरीरमा डावर आएको र समस्या कम नभएको भन्दै पुनः जँचाउन अस्पताल पुगेका उनको जाँच गर्दा उनलाई Ciprofloxacin नामको एण्टिबायोटिक औषधीले एलर्जी भइ साइड इफेक्ट देखिएको पत्ता लागेपछि चिकित्सकले उक्त औषधी बन्द गरी त्यसको सट्टा Allegra 180mg दिई समस्या कम नभएमा पुन आउनु भनि पठाएकामा जेठ २३ गते आफूलाई ठीक नभएको भन्दै रिफर गरिदिन अनुरोध गर्न आएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा शिशिर देवकोटाले जानकारी दिए ।
डा देवकोटाले हरेक औषधीको साइड इफेक्ट हुन सक्ने र यस किसिमको साइड इफेक्ट १०–१५ हजारमा एक जनामा देखिने बताए । उक्त औषधी नेपाल सरकारले निःशुल्क वितरण गर्ने औषधी रहेका र उक्त दिन अस्पतालमा औषधी सकिएकाले बिरामीले बाहिरबाट खरिद गरेको पनि जानकारी दिए । उनले भने– “हामीले प्रोटोकल अनुसार नै औषधी चलाएको हो र उक्त औषधी गलत होइन, तर उहाँलाई औषधीको दुष्प्रभाव (साइड इफेक्ट) देखिएको हो ।”

डा देबकोटाले भिडियोमा भनिएझै कोलस्टोरको समस्या विरामीलाइ नरहेको तर बिरामीको टिजी भने बढी देखिएको र पिसाबको संक्रमण कम गर्न दिइएको औषधीको ४ चक्की मात्र खाँदा साइड इफेक्ट देखिए पछि उक्त औषधी बन्द गरी अर्को औषधी दिइएको बताए । उनले सिएमसी अस्पतालले समेत उनको जाँच गर्दा औषधीकै साइड इफेक्टले त्यस्तो भएको जानकारी आफूले पाएको बताए ।
अहिले सामाजिक सञ्जालमा छाइरहेको उक्त भिडियोका कारण अस्पताल प्रशासन र चिकित्सकहरुले गाली खानु परिरहेको भन्दै अस्पतालले दुःख ब्यक्त गरेको छ । अस्पतालले एक प्रेस विज्ञप्ती जारी गर्दै कुनै पनि औषधीले साइड इफेक्ट दिन सक्ने र कतिपय विरामीमा यसको पूर्वानुमान गर्न नसकिने प्रष्ट पारेको छ । विज्ञप्तीमा विरामीको उपचारमा अस्पतालबाट कुनै किसिमको लापार्वाही नभएको भन्दै विरामीको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
मिलन शर्मा दनाई