बेसीशहर, फागुन २९ । लमजुङमा यस बर्ष आलु उत्पादनमा भारी बृद्धि भएको छ । लमजुङका विभिन्न स्थानमा लगाइएको हिउँदे आलुले राम्रो उत्पादन दिएपछि किसानहरुमा उत्साह थपिएको छ ।
कृषि ज्ञान केन्द्र लमजुङको सहयोगमा लमजुङको राईनास, मध्यनेपाल र सुन्दरबजार नगरपालिका तथा क्व्होंलसोथार र मर्स्याङदी गाउँपालिकामा ब्यवसायीक रुपमा आलु खेती गरिएको छ । विभिन्न कृषि समूह एवं सहकारीहरुलाई कृषि ज्ञान केन्द्रले आलुको बीउ, यान्त्रीकरण, सिञ्चाइ र अन्य बन्दोवस्तीका लागि अनुदान सहयोग उपलब्ध गराएपछि आलु खेतीमा किसान हौसिएका थिए । अहिले ज्ञान केन्द्रकै सहयोगमा उत्पादित आलु खेतबाटै बिक्री भएपछि किसानहरुको खुशीको सीमै छैन ।

आलु लगाउन प्रोत्साहन र सहयोगसंगै उत्पादित आलुको बजारीकरणका लागि समेत कृषि ज्ञान केन्द्रले सहयोग गरेपछि किसानहरुमा थप उत्साह थपिएको हो । कृषि ज्ञान केन्द्र लमजुङले किसानहरुले उत्पादन गरेको आलुको बजारीकरणका लागि बुटवलको फस्ट च्वाइस फुडसंग सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार उक्त कम्पनीले किसानको खेतबारीमै पुगेर उत्पादित आलु खरिद गर्न थालेको छ ।
अहिले राईनासको वडा नंं ६ धमिलीकुवा र वडा नंं ३ टिमुरेबाट तीन ट्रक आलु कम्पनीले खरिद गरी लगेको छ । दुःख गरेर उत्पादन गरिएको कृषि उपज बिक्री नहुने पो हो कि भन्ने चिन्तामा रहने किसानहरु खेतबारीबाटै आलु धमाधम बिक्री भएपछि खुशीसंगै दंग परेका छन् ।

बारीको आलु खनेर नभ्याउँदै खरिद गर्ने कम्पनीको ट्रक आलु खेतमै पुगेपछि राईनास ३ टिमुरेस्थित ढम्के टिमुरे तरकारी तथा फलफूल र पशुपालन बहुद्देश्यीय कृषक समूहका अध्यक्ष सुकदेव पौडेल दंग छन् । समूहले कृषि ज्ञान केन्द्र लमजुङको सहयोगमा टिमुरेको ७० रोपनी क्षेत्रफलमा हिउँदे आलु लगाएको थियो । अहिले आलुको उत्पादन पनि असाध्यै राम्रो भएको एकरोपनी क्षेत्रफलमा एक मेट्रिक टनसम्म आलु उत्पादन भएपछि समूहमा आवद्ध सबै किसानहरु खुशी भएका उनले बताए ।

अध्यक्ष पौडेलले कृषि ज्ञान केन्द्रसंगै राईनास नगरपालिका, प्रदेश सरकारलाई समेत आलु खेती प्रबर्द्ध नमा सहयोग गरेकामा धन्यवाद दिए । उनले खबरकुञ्जसंग भने “आलुको बीउ, यन्त्रीकरण, सिञ्चाई र आलु राख्ने बोरा समेत अनुदानमा पायौं र कृषि प्राविधिकहरुले निरन्तर खेतीबालीको निरीक्षण गरी हामीलाई सुझाव सल्लाह दिए । अहिले आलु असाध्यै राम्रो फल्यो, बिक्री पनि खेतबाटै भयो । हामी असाध्यै हौसिएका छौं ।”

कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदिप खतिवडाले समुदायस्तर प्रशाेधन याेग्य कृषि उत्पादन आयाेजना अन्तर्गत लमजुङकाे ७ सय ६८ राेपनी जमीनमा आलु खेती गरिएकाे र किसानहरुको मेहनत र कृषि प्राविधिकहरूकाे सहयाेगले आलुको उत्पादन निकै राम्रो भएको बताए । उनले राईनासबाट सोमबारसम्म ६० मेट्रिक टन आलु बिक्री भइ निकासी भएको जानकारी दिए । उनले ज्ञान केन्द्रले किसानहरुलाई ७५ प्रतिशत अनुदानमा खुमल उज्वल र खुमल उपहार नामक आलुको बीउ उपलब्ध गराउनुका साथै, सिञ्चाइ र पूर्वाधारमा ८५ प्रतिशत, यन्त्रीकरणमा ७५ प्रतिशत र ढुवानीमा ५० प्रतिशत सहयोग गरिरएकाे बताए ।
उनका अनुसार उत्पादित आलुकाे मूल्य खरिद गर्ने कम्पनीले किसानहरुलाई प्रति केजी २३ रुपैयाँको दरले दिएकाे र कृषि ज्ञान केन्द्रले किसानहरुलाई प्रति केजी २ रुपैयाँका दरले प्रोत्साहन मूल्यसमेत दिने जानकारी दिए ।

लमजुङको राइनास नगरपालिकाकाे वडा नंं ३, ४ र ६ काे ५०८ राेपनी क्षेत्रफल जमीनमा आलु खेती गरिएकाे छ । त्यहाँका ६ वटा कृषक समूहले ब्यवसायीक आलु खेती गरेका छन् । त्यस्तै सुन्दरबजार नगरपालिकाको धुसेनीमा २ वटा समूहले १ सय राेपनीमा र मध्यनेपालको नेटामा एउटा कृषक समूहले ५० राेपनी क्षेत्रफलमा आलुखेती गरेको छ । क्होलासोथारको घाम्राङमा १ सय राेपनी क्षेत्रफल जमीनमा बर्षे आलुको बीउ उत्पादनको कार्यक्रम चलिरहेको छ भने मर्स्याङदी गाउँपालिकाको च्याम्चेमा ८० राेपनी र छिनखोलाकाे ८० राेपनी जमीनमा बर्षे आलुको खेती गरिएको छ ।

कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत विजय पौडेलका अनुसार समुदायस्तरमा गरिएको आलुखेती लमजुङमा सफल भएको छ । “एक बाेरा बीउ लगाएकाे ठाउँमा २२ बाेरासम्म आलु उत्पादन भएकाे छ । समयमै बाली लगाउने, राेग कीरा नियन्त्रण र राम्राे मलजल र गाेडमेल गरेकाे ठाउँमा निकै राम्राे उत्पादन भयाे । तर एकदुई ठाउँमा लगाइएको आलुबालीमा रोग कीराले दुःख दिएको पनि पाइयो । याे कार्यक्रमबाट ९५ प्रतिशत किसानहरु खुशी छन् ।” पौडेलले भने ।
राइनासमा लगाइएकाे आलु मात्र खनेर बिक्री हुने क्रममा रहेकाे र अन्य ठाउँकाे आलु खन्न बाँकी रहेकाले उत्पादन कति भयाे भन्न नसकिने भयाे भन्न नसकिने कृषि ज्ञान केन्द्रले जनाएकाे छ । प्रमुख खतिवडा भन्छन् “परीक्षणका लागि गरिएकाे आलु खेती सफल देखियाे र लमजुङमा आलुकाे उत्पादन राम्राे हुने र बजार समेत राम्राे देखियाे । यसबाट किसानहरूमा गरे हुँदाे रहेछ, अब गर्छु भन्ने भावना पनि पलाएकाे हुनुपर्छ ।”