गाेरखा वेलफेयर ट्रष्टकाे सहयाेगमा दाेर्दीका विभिन्न गाउँमा घरघरै घारा

गाेरखा वेलफेयर ट्रष्टले लमजुङकाे दोर्दी गाउँपालिकाका विभिन्न वडामा घरैपिच्छे खानेपानीकाे धारा जडान गरिदिएकाे छ ।
ट्रष्टले र दाेर्दी गाउँपालिकासंगकाे सहकार्य र स्थानीय बासीन्दाकाे श्रमदानबाट खानेपानीका विभिन्न याेजना सम्पन्न गरी समुदायलाइ हस्तान्तरण गरेकाे हाे ।

पछिल्लाे पटक कीर्तिपुर गाउँमा खानेपानी याेजना सम्पन्न भएपछि गाउँका ३१ वटा घरमा खानेपानीकाे धारा जडान गरिएकाे छ ।उक्त याेजनाबाट कीर्तिपुर गाउँकाे एक सामुदायिक भवनमासमेत खानेपानीकाे धारा जडान गरिएकाे छ ।

उक्त याेजना सम्पन्न भइ गत जेठ ८ गते स्थानीयलाइ हस्तान्तरण गरिएकाे छ । साेमबार एक कार्यक्रमबीच दाेर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले खानेपानी याेजना स्थानीयलाइ हस्तान्तरण गरेका छन् ।

साे अवसरमा उनले गाउँका सबै घरमा खानेपानीकाे धारा जडान भएपछि गाउँलेकाे दिनचर्यामा परिवर्तन अाउने र खानेपानी बाहेक सिञ्चाइमा समेत सहज हुने बताए । उनले घरघरमा धारा बनेपछि करेसाबारीमा तरकारी लगायत अाय अार्जन हुने खेती गर्न स्थानीयलाइ अाग्रह गरे ।

साे अवसरमा दाेर्दी गाउँपालिकाका पूर्व उपाध्यक्ष दिल बहादुर घले ,वडा अध्यक्ष नन्दराज घले, गाेरखा वेलफेयर ट्रष्टका आयोजना प्रबन्धक बेल गुरुङ लगायतले मन्तब्य राखेका थिए ।

दोर्दीकाे वडा नं. ४ लामीडाँडा गाउँमा पनि घरघरमा खानेपानीको धारा निर्माण गरिएको छ । दोर्दी गाउँपालिका र गोरखा वेल्फेयर ट्रष्टको आर्थिक सहयोगमा वडामा नवनिर्मित धाराको ट्रष्टका प्रवन्धक वेलबहादुर गुरुङले गाउँपालिका अध्यक्ष युवराज अधिकारीलाई हस्तान्तरण गरेका छन् ।

साे वडामा यसअघि ५ वटा मात्र सार्वजनिक धारा रहेकामा अब घरघरै धारा जडान भएपछि स्थानीयलाइ सजिलाे भएकाे छ । 

कूल ३६ लाख ६७ हजार ३ सय ८५ रुपैयाँ ८७ पैसा लागतमा निर्मित खानेपानी याेजनाका लागि गोर्खा वेल्फेयरले ३१ लाख ४ हजार ८ सय १८ रुपैयाँ ५ पैसा, गाउँपालिकाले ३ लाख ११ हजार रुपैयाँ उपलब्ध गराएका थिए । याेजनामा स्थानीय उपभोक्ताले ३ लाख २८ हजार ८ सय ५० रुपैयाँ बराबरको श्रमदान गरेका थिए ।


गोर्खा वेल्फेयर ट्रष्टले दाेर्दी गाउँपालिकामा दासडाँडा, श्रीमाञ्ज्याङ, कामचोक, खहरे, सिमी, लप्सीबोट, उपल्लो दैलुङ, टापगाउँ र कीर्तिपुर खानेपानी याेजनामा सहयाेग गरिसकेकाे छ । यसबाहेक वडा नं. ६ काे हरिगाउँमा खानेपानी याेजना निर्माणाधीन छ ।


यी सबै याेजनाबाट ८ सय घरधुरी लाभान्वित भएका छन् ।

प्रतिक्रिया