नाबालिकाहरुलाई अनैतिक कृयाकलापमा संलग्न गराएको अभियोगमा एक महिला पक्राउ

खबरकुञ्ज

बेसीशहर, पुस ८ । लमजुङ सदरमुकाम बेसीशहरमा किराना पसल तथा होटल संचालन गरि नाबालिकाहरुलाई अनैतिक कृयाकलापमा संलग्न गराएको अभियोगमा लमजुङ प्रहरीले एक महिलालाई पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरेको छ ।

बेसीशहर नगरपालिकाको वडा न ८ निवासी ४५ बर्षकी कोपिला श्रेष्ठ पक्राउ परेकी हुन् । उनले नाबालिकाहरुलाई यौन कार्यमा संलग्न गराउने गरेको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । उजुरीपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बेसिशहर ८ स्थित उनको किराना पसलबाट ३ जना नाबालिकाहरुलाई उद्धार समेत गरेको छ ।

उनको पसलमा खान तलासिका क्रममा आर्थिक अवस्था कमजोर भएका नाबालिकाहरुलाई आफ्नो किराना पसलमा काम गर्ने भनि राखेको र पसलको पछाडिको भागमा छुट्टै कोठा व्यवस्था गरि पुरुष ग्राहकहरुसँग ती नावालिकाहरुलाई शारिरीक सम्पर्क गर्न लगाई आफूले आर्थिक फाईदा लिने गरेको खुलेको प्रहरीले जनाएको छ ।

खानतलासीका क्रममा उनको पसलबाट ती नावालिकाहरुलाई जवरजस्ती यौन व्यवसायमा संलग्न गराएको पुष्टि हुने सबुद प्रमाण समेत फेला परेको जिल्ला प्रहरी कार्यालये जनाएको छ । 

पक्राउ परेकी श्रेष्ठलाई आवश्यक कानूनी प्रक्रिया पश्चात् लमजुङ जिल्ला अदालतबाट मानव वेचबिखन सम्वन्धी कसुर मुद्दामा सात दिनको म्यादथप अनुमती लिई थप अनुसन्धान भईरहेको र पिडित नावालिकाहरुलाई संरक्षण गृहमा राख्ने आवश्यक प्रवन्ध मिलाईएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रेशम बोहराले जानकारी दिए ।

प्रतिक्रिया