बगुमका पहिराे पीडितकाे बिचल्ली, कहिले पाउँछन् राहत ?

खबरकुञ्ज

बेसीशहर । गएको असार ११ गते राती गएको पहिरोमा परी मृत्यु भएका र घाइते भएका लमजुङको क्व्होलसोंथार गाउँपालिका वडा नंं ३ बगुमका पहिरो पीडितहरुले उचित राहत नपाउँदा समस्यामा परेका छन् ।

पहिरोले तीनवटा घर बगाएको थियो । पहिरो परी त्यहाँ एकै परिवारका ४ जनाको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए । पहिरोमा परेर आफन्त गुमाउनु पर्दा शोकमा रहेका त्यहाँका पहिरो पीडितर्को यतिबेला बिचल्ली छ । पहिरोले घरसंगै, धनमाल र सबै सपना समेत बगाएपछि अब के गर्ने ? कहाँ बस्ने ? के खाने भन्ने सुर्ताले उनीहरुलाई दिनरात पिरोलेको छ ।

गाउँका कूल ९ घरधुरीमध्ये  ३ घर पहिरोले बगायो । अरु घरमा समेत जोखिम देखिएपछि अहिले त्यस ठाउँमा बाँकी रहेका घरसमेत खाली भएका छन् । पानी पर्ने क्रम चलिरहेको र पहिरो वरिपरीका घरमा बस्दा जोखिम हुने भएकाले अन्य ६ घर परिवार समेत घर छोडेर आफन्तको घरमा शरण लिइरहेका छन् ।


बगुमकाे पहिराेमा परी ज्यान गुमाएका रूद्रमान, उनकी बुहारी पञ्चमाया र नातिनीहरू 

पहिरो पीडितका लागि क्व्होंलसोंथार गाउँपालिकाले तत्कालका लागि दाल, चामल लगायतका खानेकुरा, खाना पकाउने र खाने भाँडाकुँडा, ओढ्ने ओछ्याउने राहतस्वरुप उपलब्ध गराएको थियो । त्यस्तै मृत्यु भएका परिवारका लागि किरिया खर्च स्वरुप अन्नपूणर् संरक्षण क्षेत्र आयोजना(एक्याप)ले प्रति मृतक १५ हजारका दरले राहत उपलब्ध गराएको  थियो । यसबाहेक अन्य सरकारी तथा गैर सरकारी निकायबाट पहिरो पीडितका लागि कुनै सहयोग पुगेको छैन ।

पहिरोले घर बगाएका स्थानीयलाई गाउँकै आमा समूहको भवनमा बस्न भनिएको थियो । तर पहिरोमा पुरिएका आफन्तको क्षतविक्षत भएको शब  भेटिएपछि निकालेर सोही स्थानमा राखिएका कारण उनीहरु सो भवनमा बस्न सकेका छैनन् । पीडितहरुले भने- “पहिरोले पुरेर मृत्यु भई क्षत विक्षत अवस्थामा भेटिएका हाम्रा आफन्तको शब यही ठाउँमा जम्मा गरेर राखिएको थियो । अनि कसरी यस्तो ठाउँमा बस्न सकिन्छ र ? त्यसैले आफन्त गाउँलेहरुको घरमा शरण लिएर बसेका छौं ।”


पहिरोमा परी बगुमका  ६९ बर्षका रुद्रमान (बाँकी पृष्ठ ३ मा) गुरुङ, उनकी बुहारी ३७ बर्षकी पञ्चकुमारी गुरुङ र नातिनीहरु ७ बर्षकी ईच्छा गुरुङ तथा ५ बर्षकी नम्रता गुरुङको मृत्यु भएको थियो । 

सोही पहिरोमा परी ३७ बर्षका  भीमबहादुर घले पनि घाइते भएका थिए । घरमा सुतिरहेको अवस्थामा गएको पहिरोले घर बगाउँदा उनी करीब १ सय मिटर तल सम्म पहिरोमा बगेका थिए । तर सौभाग्यले उनी बाँच्न सफल भए । उनी अहिले उपचारको लागि  चितवन सामुदायिक अस्पतालमा गएका छन् ।

पहिरोले आफन्त र बस्ने बास गुमाएका बगुमका पहिरो पीडित राहतको आशमा जिल्ला प्रशासन कार्यालयसम्म पुगेका थिए । तर प्रशासनबाट उनीहरुले अहिलेसम्म कुनै राहत पाएका छैनन् ।

पहिरोले घर बगाएपछि राहतको आशमा विभिन्न कागजपत्र तयार गरेर प्रशासनमा पुगेका बगुमका चित्र घलेले प्रशासनिक झञ्जटले दिक्क भएर फर्केका छन् । क्व्होलसोंथार गाउँपालिकाको योजना शाखाको प्रमुख रहेका घले आइतबार जिल्ला प्रशासनमा राहतको आशामा पुगेका थिए । तर उनलाई प्रशासनले घर बगाएकोमा राहत नपाइने बरु पछि सरकारबाट घर बनाउन सहयोग गरिने आश्वासन दिइएको छ ।

घले क्व्होंलसोंथार गाउँपालिकाको विपद ब्यवस्थापन समितिको सचिव समेत हुन् । गत असार ११ गते रातीको पहिरोले उनको घरसमेत बगाएको छ । उनका भाइ  भीम घले पहिरोमा परि घाइते भएका छन् । भाइको चितवनमा उपचार भइरहेको छ । आमा चितवनमा दिदी बहिनीकोमा र उनी भने पालिकाको केन्द्र मालिङमा बस्छन् । अहिले पहिरोले घर बगाएर आफै घरबिहीन भएका  घले परिवारलाई घर कसरी बनाउने भन्ने चिन्ता छ ।

बगुममा पहिरोले घर बगाएका पीडित परिवार र पहिरोको जोखिमले घर छोडेर हिँडेका अन्य गाउँलेहरु सुरक्षित बासको खोजीमा छन् । छिमेकी आफन्तहरुकोमा बसेर कति दिन गुजारा चल्छ र ? पहिरोले  घरसंगै सबै धनमाल गुमाएका घले भन्छन्- “यस्तो विपद्को बेलामा पनि राज्यले नागरिकलाई सहयोग गर्दैन भने राज्यबाट नागरिकले के आशा गर्ने ? आखिर किन चाहिन्छ त सरकार ?”

बगुमको पहिरोमा परी ज्यान गुमाएका रुद्रमान गुरुङकी श्रीमती, दुईवटा छोरा र पहिरोमा परी ज्यान गुमाएकी पञ्चमायाका छोरा निरोजको समेत यस्तै हालत छ । उनका बाबु कुमबहादुरको पनि ३ बर्ष अघि करेण्ट लागेर निधन भइसकेकाे छ । अहिले उनी काकाहरुको शरणमा छन् । तर उनका काकाहरुसंगै  बगुम पहिरोमा पीडित र प्रभावित गरी १३ जना  गाउँमै शरण लिएर बसेका छन् ।

सोही राती आएको पहिरोमा परी घर भत्कँदा दोर्दी ९ हिलेटक्सारको सुनारगाउँमा १६ बर्षका विकल विकको मृत्यु भएको थियो भने १८ बर्षका मिलन वि.क. घाइते भएका थिए । वि.क. परिवारले पनि राहत पाएकाे छैन ।

प्रतिक्रिया