बेसीशहर, पुस ५ गते । लमजुङको बेसीशहर नगरपालिका वडा नं. १ उदीपुरमा सञ्चालन भएको २१ दिने स्वस्थ रानु उत्पादन कृषकस्तर २१ दिने तालिम शनिबार सम्पन्न भएको छ ।
राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइक लमजुङ(मनाङ)को आयोजनामा लमजुङका विभिन्न स्थानका मौरीपालक किसानहरुलाई उनीहरुको क्षमता अभिबृद्धि गरी ब्यवसायीक मौरीपालनमा उत्प्रेरित गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।
तालिममा बेसीशहर, सुन्दरबजार, क्व्होंलसोथार, राइनास, दोर्दीका २६ जना किसान प्रशिक्षार्थीको रुपमा सहभागि भएका थिए । तालिममा मौरी विकास केन्द्र गोदावरीका प्रमुख तीर्थ श्रेष्ठ, राष्ट्रिय कृषि अधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ लमजुङ(मनाङ)का प्रमुख पद्मनाथ आत्रेय, जिल्ला कृषि विकास कार्यालय लमजुङका प्रमुख किरण सिग्देल, राष्ट्रिय कृषि अधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ लमजुङ(मनाङ)का सूचना अधिकारी हरिबहादुर मिजार, मौरी विकास केन्द्र गोदावरीका सूचना अधिकारी सुरक्षा सुवेदी, दूधपोखरी गाउँपालिकाका कृषि अधिकृत सुशान लामिछाने, मौरीपालन विकास केन्द्र, भण्डाराका प्राविधिक सहायक राजेश प्रसाद यादव, अर्जुन बेष्ट हनि बीका सञ्चालक अर्जुन पोखरेल, राष्ट्रिय कृषि अधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ लमजुङ(मनाङ)का पूर्व प्रमुख दीपक अधिकारी, नायव प्राविधिक सहायक नवीन श्रेष्ठ, लमजुङका अगुवा मौरीपालक किसानहरु मीनबहादुर गुरुङ, बेन बहादुर गुरुङ, केश बहादुर गुरुङ, शिव बहादुर पाण्डे, जनक तिवारी लगायतले नेपालमा मौरीपालनको सम्भावना, मौरीपालनका फाइदा, रोग कीरा ब्यवस्थापन, मौरी गोला ब्यवस्थापन, स्वस्थ रानु उत्पादन, मौरीजन्य उत्पादन, बजार, मौरीको चरन क्षेत्र, स्वस्थ र गुणस्तरीय रानु उत्पादन लगायत समग्र मौरी पालनका विषयमा प्रशिक्षण दिएका थिए ।

गत मंसिर १४ गतेदेखि शुरु भएको तालिम पुस ५ गते सम्पन्न भएको हो । तालिममा सैद्धान्तिक कक्षका साथमा गुणस्तरीय रानु उत्पादन लगायत मौरीपालनका विबिध पक्षका बारेमा प्रयोगात्मक अभ्यास गराइएको थियो ।
२१ दिने तालिम निकै फलदायी भएको र भविष्यमा मौरीपालनमा थप सफलता मिल्ने विश्वास लिइएको सहभागी प्रशिक्षार्थी राजुराम पन्तले बताए । अर्का सहभागी रिता पौडेल बुढाथोकीले तालिमले थप आत्मविश्वास मिलेको भन्दै मौरीपालन सम्बन्धी सीप ज्ञान प्राप्त भएपछि ब्यवसायलाई थप विस्तार गर्न प्रेरित गरेको बताइन् ।

तालिममा क्रममा सहभागीहरुलाई देशकै नमूना बन्न सफल लमजुङको सुन्दरबजार ५ गहतेस्थित सुजिता मौरीपालन तथा घार उद्योग, काठमाडौंमा रहेका गण्डकी बी कन्सर्न, माउण्टेन बी कन्सर्न, मौरी विकास केन्द्र गोदावरी लगायतका स्थानको स्थलगत अवलोकन भ्रमण गराइएको थियो ।
तालिमको शनिबार एक समारोहबीच समापन गरिएको छ । समापनका अवसरमा जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्णबहादुर गुरुङ, राष्ट्रिय कृषि अधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ लमजुङ(मनाङ)का प्रमुख पद्मनाथ आत्रेय, जिल्ला कृषि विकास कार्यालय लमजुङका प्रमुख किरण सिग्देलले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरे ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङले मौरीले परागसेचनको माध्यमले कृषिबालीमा लाभ पु¥याउने भन्दै मौरीबिना कृषिको कल्पना गर्न नसकिने बताए । स्वस्थ रानु उत्पादन तालिमले मौरीपालन ब्यवसायलाई सुदृढ बनउने र मौरीपालक किसानको क्षमता अभिबृद्धिमा सघाउ पुग्ने भएकाले तालिम पश्चात सिकेको ज्ञान सीपलाई ब्यवसाय प्रबद्र्धनमा लगाउन आग्रह गरे । उनले लमजुङलाई मौरीपालनको हब बनाई किसानहरुलाई आत्मनिर्भर बनाउन कार्यालय गरेको प्रयासको सरहना पनि गरे ।
कृषि विकास कार्यालयका प्रमुख किरण सिग्देलले स्वस्थ रानु उत्पादन जस्तो गुणस्तरीय तालिम दुर्लभ अबसर हो भनदै जो कोहीले चाहेर पनि पाउन नसक्ने भए पनि यस्तो तालिम लमजुङमै प्राप्त गर्नुु किसानहरुका लागि ठूलो अबसर भएकाले सिकेको सीपलाई ब्यवहारमा उतार्न प्रशिक्षार्थीलाई आग्रह गरे ।

बेसीशहर नगरपालिका वडा नं. १ का अध्यक्ष दुर्गाबहादुर बुढाथोकीले मौरीपालन ब्यवसायले किसानहरुको जीवन सहज हुने भन्दै स्वस्थ रानु उत्पादन तालिममा सिकेका सीपलाई कर्मथलोमा कार्यान्वयन गर्न प्रशिक्षार्थीलाई आग्रह गरे । उनले तालिम र ज्ञान जति धेरै भए पनि अपूर्ण हुने भएकाले जति काममा प्रयोग भयो त्यतिनै पोख्त भइने भएकाले मौरीजस्तै मेहनत गर्न प्रशिक्षर्थी किसानहरुलाई आग्रह गरे ।
मौरीपालन महासंघका अध्यक्ष एवं, तथा मौरी जोन लमजुङका संयोजक ध्रुब दुराले मौरीजन्य उत्पादनहरु मह, कुट, शाहीखुराक, मौरीबिष आदिका देश विदेशमा ठूलो माग रहेकाले मौरीपालन ब्यवसायबाट आर्थिक उन्नति गर्न सकिने बताए । उनले बिरामीको उपचार गर्ने डाक्टर भन्दा पनि सबैलाई आफ्ना उत्पादनले पोषण दिने किसान ठूलो हुने भन्दै मौरीपालन ब्यवसाय गर्न र किसान हुनु गर्वको कुरा भएको बताए ।
कार्यक्रममा सहभागीहरुको तर्फबाट लक्ष्मीकान्त न्यौपाने र रिता पौडेल बुढाथोकीले मन्तब्य राखेका थिए । राष्ट्रिय कृषि अधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ लमजुङ(मनाङ)का प्रमुख पद्मनाथ आत्रेयको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रम कार्यालयका सूचना अधिकारी हरिबहादुर मिजारले सहजीकरण गरेका थिए ।

यसैबीच राष्ट्रिय कृषि अधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ लमजुङ(मनाङ)काे आयोजनामा लमजुङको सुन्दरबजार ५ गहतेमा सञ्चालन भएको मौरी उद्यमीहरूका लागि मौरीघार निर्माण सम्बन्धी १५ दिने क्षमता अभिबृद्धि तालिम शुक्रबार सम्पन्न भएको छ । तालिममा सुजिता माैरीपालन तथा घार उद्याेगका सञ्चालक मीन बहादुर गुरूङ लगायतले तालिम दिएका थिए । तालिममा जिल्लाका विभिन्न स्थानका १५ जना उद्यमीहरूकाे सहभागिता थियाे । तालिमका सहभागीहरूलाइ प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरूङ, राष्ट्रिय कृषि अधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ लमजुङ(मनाङ)का प्रमुख पद्मनाथ आत्रेयलगायतले प्रमाणपत्र वितरण गरेका थिए ।
खबरकुञ्ज