स्थानीय निकायकाे परिपत्र पछि खुल्न थाले लमजुङका सामुदायिक विद्यालय

खबरकुञ्ज

बेसीशहर, बैशाख १५ गते । सामुदायिक विद्यालका शिक्षकहरु विभिन्न माग राखेर काठमाडौं केन्द्रीत आन्दोलनमा रहेका बेला लमजुङका स्थानीय निकायहरुले भने विद्यालय भर्ना अभियान सञ्चालन गरी विद्यालय खोल्न परिपत्र गरेपछि लामो समयदेखि बन्द विद्यालयहरु खुल्न थालेका छन् ।

लमजुङको मध्यनेपाल नगरपालिका र बेसीशहर नगरपालिकाले विद्यालय खोल्न परिपत्र गरेका हुन् । शिक्षक आन्दोलनका कारण लामो समयसम्म विद्यालय बन्द हुँदा विद्यार्थी तथा अभिभावकहरुमा परेको मर्का र परीक्षासमेतलाई मध्यनजर गर्दै ती पालिकाहरुले विद्यालय खोल्न परिपत्र गरे अनुसार मध्यनेपालका तीनवटा विद्यालय सोमबारबाट खुलेका छन् । मध्यनेपालको वडा नंं ४ मा रहेको भैरवकाली मावि, वडा नंं ६ को ईशानेश्वर मावि र वडा नंं ७ को कुश्माकर मावि सोमबारदेखि खुलेका छन् । 


मध्यनेपाल नगरपालिकाले आइतबार विद्यालयमा भर्ना अभियान र पठनपाठन सुचारु विद्यालयहरुलाई आग्रह गरेको थियो । नगरप्रमुख रमेश कुमार पाण्डेले आइतबार एक सूचना जारी गर्दै नयाँ शैक्षिक सत्र शुरु भएको दुई हप्ता ब्यतित हुँदा पनि विद्यार्थी भर्ना तथा पठन पाठन सञ्चालन नहुँदा प्रत्येक गाउँ टोलबाट अभिभावक, शैक्षिक सरोकारवाला एवं स्वयं विद्यार्थीहरुले समेत यथाशीघ्र पठन पाठन सञ्चालन गर्न गुनासो गरिरहेको सन्दर्भमा गम्भीरतापूर्वक मनन गरी बैशाख १५ गतेदेखि अनिबार्य रुपमा विद्यालय सञ्चालन गर्न अनुरोध गरेका थिए ।

मेयर पाण्डेले शिक्षक तथा विद्यालय कर्मचारीहरुका जायज मागहरु यथाशीघ्र पूरा गरी उनीहरुलाई कार्यास्थलमा फर्काउन आवश्यक कार्यहरु गर्न नेपाल सरकार लगायत सबै सरोकारवालाहरु समक्ष अनुरोध गरेका छन् । मेयर पाण्डेल शिक्षा सम्बन्धी ऐन २०७५ ले शिक्षालाई सर्वब्यापी, जीवनपयोगी, प्रतिस्पर्धाी एवं गुणस्तरीय बनाउने लक्ष्य लिएको स्मरण समेत गराएका छन् ।


नगरपालिकाको परिपत्रपछि विद्यालयहरूसँगको सहमतिमा वैशाख १७ गतेबाट कक्षा आठको पुरक परीक्षा सञ्चालन गर्न परीक्षा तालिका समेत सार्वजनिक गरिएको छ । काठमाडौंमा शिक्षक आन्दोलन जारी रहँदा आन्दोलन र विद्यालय सञ्चालन संगै गर्ने गरी ब्यवस्था मिलाइएको छ । कुशुमाकर माविका प्रधानाध्यापक ध्रुवराज घिमिरेले अभिभावक र विद्यार्थीको गुनासो आइरहेका बेला नगरपालिकाले समेत परिपत्र गरेपछि विद्यालय सुचारु गरिएको जानकारी दिए ।

यता बेसीशहर नगरपालिकाले पनि सोमबार यस्तै परिपत्र गरेको छ । मेयर गुमानसिंह अर्यालले शिक्षक आन्दोलनका कारण शैक्षिक शत्र शुरु भएको १५ दिन भईसक्दा पनि परीक्षाको नतिजा प्रकाशन, भर्ना अभियान, निःशुल्क पाठ्यपुस्तक वितरण र पठ्नपाठन शुरु गर्न ढिलाई भइसकेको र शिक्षक आन्दोलनका कारणले विद्यार्थीहरुले निर्वाध रुपमा शिक्षा पाउने अधिकारबाट बञ्चित भएको भन्दै नियमित तवरले विद्यालय सञ्चालन गर्न अनुरोध गरेका छन् । 

उनले लामो समयसम्म नयाँ शैक्षिक शत्र शुरु नहुँदा सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या न्यून भई विद्यालयनै बन्द हुने अबस्था सिर्जना हुनसक्ने भएकोले आफ्ना जायज माग प्रतिनिधि मार्फत वार्ता र संवादका माध्यमबाट पूरा गर्ने विकल्प यथावत राखि २०८२ बैशाख १६ गतेबाट सामुदायिक विद्यालयहरु नियमित रुपमा संञ्चालनगरी शैक्षिक क्रियाकलापमा सहभागी हुन अनुरोध गरेका छन् । 

मेयर अर्यालले केन्द्रीय तहमार्फत र सम्बादबाट तत्काल समस्या समाधान हुने परिस्थिति नदेखिएको शिक्षकहरुको पेशागत आन्दोलनका कारण विद्यार्थीहरुले निर्वाध शिक्षा पाउनेअधिकारबाट बञ्चित भइरहेको बिषम परिस्थिति सिर्जना भएकोतर्फ सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन् । उनले शिक्षक आन्दोलनको प्रभावले कतिपय सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या समेत ज्यादै न्यून भई विद्यालय नै बन्द हुने परिस्थिति समेत सिर्जना हुनसक्ने तर्फ पनि ध्यानाकर्षण गराएका छन् । 

प्रतिक्रिया