भेटेरिनरी अस्पतालकाे वित्तीय प्रगति ७४ प्रतिशत, अफ्रिकन स्वाइन फिवर र लम्पी स्किन राेगले किसानलाइ ठूलाे क्षति

बेसीशहर । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले आइतबार एक कार्यक्रम बीच गत आर्थिक बर्षभर गरेका काम र प्रगतिबारे सार्वजनिक सुनुवाइ गरेर जानकारी गराएको छ ।

केन्द्रका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. रुपेश श्रेष्ठले आ.ब. २०७९/०८० मा कार्यलयबाट सम्पन्न भएका कार्यक्रमको प्रगति विवरण जानकारी गराएका हुन् । डा। श्रेष्ठले आ।ब। २०७९/०८० का लागि कार्यालयले संघ र प्रदेशसमेतको गरी ६ करोड १२ लाख ९ हजार ६ सय रूपैयाँको बजेट प्राप्त गरेको र वित्तीय प्रगति ७४.२५ प्रतिशत हासिल गरेको जानकारी दिए । 

उनले पशु व्यवसाय प्रवर्द्धनका लागि अनुदान सहयोग ,पशु स्वास्थ्य प्रवर्द्धन, उपचार तथा रोग नियन्त्रण, क्षमता विकास तथा सचेतना र  पुँजीगत क्षेत्रमा काम भएको सार्वजनिक सुनुवाइमा जानकारी गराए ।

सो अवसरमा श्रेष्ठले लमजुङ जिल्लामा बंगुरमा फैलिएको अफ्रिकन स्वाइन फिवर र गाइ गोरूमा फैलिएको लम्पी स्किन रोगका कारण किसानहरूले ठूलो क्षति ब्यहोर्नु परेको जानकारी दिए । उनले बेसीशहर नगरपालिका, सुन्दरबजार नगरपालिका र मर्स्याङदी गाउँपालिकाका १६ वटा फार्ममा अफ्रिकन स्वाइन फिवरको प्रकोप देखिएको र यस रोगबाट ७ सय ८२ वटा बंगुर मरेका जानकारी दिए । यस रोग नियन्त्रणका लागि खासै कुनै औषधी नहुने भएकाले नियन्त्रणका लागि बंगर तथा सुंगुर ओसार पसारमा रोक लगाइएको उनले बताए ।

वरीष्ठ पशु चिकित्सक डा. श्रेष्ठले लमजुङ जिल्लामा यो वर्ष २०८० वैशाख महिनामा पहिलो पटक लम्पी स्किन रोगको प्रकोप फैलिएको र जिल्लाका सबै ८ पालिकामा रोग फैलिएको जानकारी दिए । उनले हालसम्म १ हजार ८ सय २ वटा पशु यस रोगबाट संक्रमित भएका र ८५ वटा पशु (गाइ गोरू)को मृत्यु भएको बताए । 

मध्यनेपाल नगरपालिका र दोर्दी गाउँपालिकामा सबै भन्दा धेरै संक्रमण रहेको जानकारी दिँदै श्रेष्ठले रोग नियन्त्रणका लागि ८ वटै स्थानीय तहमा खोप कार्य जारी रहेको र हालसम्म करिब ८ हजार ५०० भन्दाबढी पशुलाई खोप लगाईएको जानकारी दिए ।

डा. श्रेष्ठले यस बर्ष लमजुङका १३ हजार ६५० घरधुरीका १ लाख ४५ हजार १६७ पशुमा भ्याक्सिन लगाइएको जानकारी दिए । 

सार्वजनिक सुनुवाइका क्रममा उनले लमजुङमा बाख्रापालन र भैंसीपालनको राम्रो सम्भावना रहेको र राइनास, सुन्दरबजार, मध्यनेपाल, बेसीशहर नगरपालिका र क्व्होंलसोंथार गाउँपालिकामा भैसीपालनको अवस्था राम्रो रहेको बताए । उनले  दूध, अण्डा र मासुमा लमजुङ जिल्ला आत्मनिर्भर बनेको पनि जानकारी दिए ।

बिभिन्न जिल्लामा भेडापालन हराउँदै गएकोमा लमजुङमा भने भेडापालन भइ नै रहेको र घले जातीले भेडाको मात्र मासु खाने परम्पराले भेडापालन बाँचिरहेको र लमजुङमा करीब १३ हजार भेडाहरू पालिएको डा. श्रेष्ठले सुनाए । 

सार्वजनिक सुनुवाइकै क्रममा भेटेरिनरी अस्पतालका प्रमुख डा. श्रेष्ठले अनुदानको लोभमा किसानहरूले किर्ते काम गर्ने गरेको अनुभव पनि सुनाए । भकारो सुधार कार्यक्रमको अनुदानका लागि एउटा राँगो मात्र पालेका किसानले फोटो इडिट गरी राँगोको तस्वीरमा अरू दुइवटा भैंसीको फोटो जोडेर अनुदानको माग गरेको तस्वीर सार्वजनिक गरेका थिए । उनले अनुदान कार्यक्रम आलोचित हुँदै गएकाले अबका दिनमा अनुदानका कार्यक्रम आउटपुट बेस हुने जानकारी गराए ।


प्रतिक्रिया