राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लमजुङको अध्यक्षमा प्रशान्त तामाङ

खबरकुञ्ज

बेसीशहर, कात्तिक २३ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति लमजुङको अध्यक्षमा प्रशान्त तामाङ निर्वाचित भएका छन् । 

लोक स्वर सम्राट राजु परियारको प्रमुख अतिथ्य र बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्याल र प्रतिष्ठानका केन्द्रीय सदस्य सम्झना भण्डारीको बिशेष आतिथ्यमा शनिबार बेसीशहरमा सम्पन्न प्रतिष्ठानको २४ औँ वार्षिक साधारणसभा तथा नवौँ जिल्ला अधिवेशनबाट तामाङ निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनले प्रतिष्ठानको प्रथम उपाध्यक्ष किशोर बिक, द्वितीय उपाध्यक्षमा पृथ्वीराज गुरुङ, महिला उपाध्यक्षमा सङ्गीता गुरुङलाई चयन गरेको छ । अधिवेशनले जिल्ला शाखाको सचिवमा चित्र दुरा, कोषाध्यक्षमा सुमन न्यौपाने, सह–सचिवमा सावित्री पोखरेल, सह–कोषाध्यक्षमा राजकुमार गुरुङ (राज) र प्रवक्तामा लक्ष्मी तामाङलाई चयन गरेको छ ।

जिल्ला शाखाको कार्य समिति सदस्यहरुमा कृष्ण वस्ती (निक्की), समीक्षा विष्ट, सुशील परियार, आशिष गुरुङ, नवीन बराल, खुमराज गुरुङ, हस्त सेन्चुरी र युगेश परियार निर्वाचित भएका प्रतिष्ठानका नवनिर्वाचित प्रवक्ता लक्ष्मी तामाङले जानकारी दिइन् । 


‘हाम्रो अभियान, लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन’ भन्ने नाराका साथ देशैभर शनिबार प्रतिष्ठान जिल्ला शाखाहरुको एकसाथ साधारण सभा आयोजना गरिएको थियो । जिल्ला शाखा लमजुङको नयाँ कार्य समितिको निर्वाचनका लागि प्रतिष्ठानको केन्द्रीय सदस्य गायिक सम्झना भण्डारी, लोकगायक राजु परियार, गण्डकी प्रदेश सदस्य टसबहादुर गुरुड, जिल्ला सल्लाहकार रेशमलाल श्रेष्ठ र जिल्ला शाखाका पूर्व सचिव केदार बोहोरा रहेको पाँच सदस्यीय निर्वाचन मण्डल गठन भएको थियोे ।

साधारण सभाको भब्य समारोहमा दुईजना स्रष्टालाई सम्मान गरिएको थियो । पुरानी गायिका (गाउँशहरमा लमजुङ दरबार गाउने मध्येकी एक गायिका) उमा गुरुङ र ठाडोभाकाका गायक यमबहादुर दुरालाई दोसल्ला ओढाएर नगद पुरस्कार र सम्मानपत्र सहित सम्मान गरिएको थियो ।

त्यस्तै प्रतिष्ठानको जिल्ला कार्य समितिमा उत्कष्ट काम गर्ने दुईजना साे अवसरमा सम्मानित भए । सम्मानित हुनेहरूलाइ  प्रतिष्ठानका अध्यक्ष अनुज अधिकारी, प्रमुख अतिथि, बिशेष अतिथिले संयुक्त रुपमा सम्मान गरेका थिए ।


कार्यक्रममा वरिष्ठ लोकदोहोरी गायक राजु परियार, गायिका सम्झना भण्डारी, माया गुरुङ, उमा गुरुङलगायतका कलाकारका गीत र विभिन्न विद्यालयका छात्रछात्राहरूकाे सुन्दर नृत्यले कार्यक्रमकाे शाेभा बढाएकाे थियाे । 



प्रतिक्रिया