बेसीशहर, जेठ ८ गते । परम्परागत च्याउ खेती गरिरहनु भएको छ ? वा आधुनिक तरिकाले च्याउ खेती गर्न चाहनुहुनछ ? यदि त्यसो हो भने नयाँ प्रविधिको च्याउ खेतीबारे सिक्न तपाइँ बेसीशहरको वडा नं. २ मा गए हुन्छ ।
देशैभर परालका डल्लामा ढुसी छर्केर परम्परागत रुपमा च्याउ खेती हुने गरेकोमा अहिले लमजुङमा नयाँ प्रविधिको च्याउ खेती शुरु गरिएको छ । टप स्पोनिङ प्रविधिको नयाँ तरिकाले च्याउको खेती गर्दा लामो समयसम्म उत्पादन लिन सकिने भएकाले अहिले लमजुङका विभिन्न ठाउँमा च्याउ उत्पादक किसानहरुले यो प्रविधि अपनाउन थालेका छन् । यो प्रविधिमा पनि परम्परागत तरिकाले जस्तै पराललाई बफाएर प्लाष्टिकको थैलामा खाँदिन्छ । थैलीको एकतर्फ हावा छिर्न सक्ने सानो मुख बनाइ त्यहीँ फाइबर कपडाले छोपिन्छ । परम्परागत र यो प्रविधिको फरक भनेको यसमा च्याउको बीउ (ढुसी) त्यही फाइबरले छोपेको मुखमा मात्र राखिन्छ र यो विस्तारै फैलेर उत्पादन दिँदै जान्छ । थैलाको सबै ठाउँमा फैलिएर बीउले ९ महिनासम्म लगातार उत्पादन दिइरहन्छ ।
बेसीशहरको वडा नं. २ तालफाँटमा रहेको वडा कार्यालय संगैको जग्गामा ईश्वरी जोशीले यस्तो प्रविधिको च्याउ खेती गरेकी हुन् । एकजना साझेदारको साथ लिएर अरुको जग्गा भाडामा लिई उनले च्याउ खेती गरेकी हुन् । ईवानी कृषि तथा पशु फर्म दर्ता गरेकी उनले तीनवटा टनेल बनाएर टप स्पोनिङ प्रविधिको च्याउ खेती गरेकी हुन् ।

यस प्रविधिले च्याउ खेती गर्दा ३० दिनभित्र उत्पादन शुरु भई ९ महिनासम्म उत्पादन लिन सकिने जोशीले बताईन् । अघिल्लो लटमा बजारबाट बीउ खरिद गर्दा गुणस्तरीय बीउ नपापएर ठगिएको भन्दै उनले तै पनि ३ लाख आम्दानी गर्न सकेको उनले सुनाईन । अहिले बीउसमेत अनुदानमा पाएको र ब्यवसाय विस्तारसमेत गरेकाले मनग्गे आम्दानी गर्न सकिनेमा उनी ढुक्क छन् ।
लमजुङमा च्याउ बाजे भनेर चिनिने कृषि प्राविधिक विष्णु कुँवरको प्रेरणा र सहयोगमा कन्ने जातको च्याउखेती थालेकी जोशी आत्मनिर्भर बनेर राम्रो आम्दानी हुनेमा ढुक्क छन् । च्याउ बाजे कुँवरले लमजुङको पर्यटकीय काउलेपानी लगायतका विभिन्न ठाउँमा च्याउ खेतीका लागि उत्प्रेरणा र सहयोग गर्दै आएका छन् । उनी ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसी)का कृषि प्राविधिक समेत हुन् ।
अहिले जोशीको फर्ममा ५ हजार पोकामा च्याउको उत्पादन थालिएको छ । ५ लाखको लागतमा तीनवटा टनेल बनाएकी उनलाई बेसीशहर नगरपालिका, कृषि ज्ञान केन्द्र लमजुङ र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले अनुदान सहयोग समेत दिएका छन् । बेसीशहर नगरपालिकाले फर्म तयार गर्नका लागि ७४ हजार, कृषि ज्ञान केन्द्रले बीउमा शतप्रतिशत अर्थात ५० हजार अनुदान दिएका छन् । परियोजनाले टनेलमा आद्र्रता कायम सहयोग पुर्याउने कुलिङ फेन खरिदमा ५० प्रतिशत अनुदान दिएको छ ।
ठूलो लगानी पनि नचाहिने र धेरै जनशक्ति समेत नचाहिने हुँदा घरपरिवारले नै च्याउखेती गरी मनग्गे आम्दानी गर्न सक्ने कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदिप खतिवडाले बताए । उनले केही गरौं भन्ने सोचले काम अघि बढाउनेलाई कार्यालयको तर्फबाट सक्दो सहयोग गरिने समेत बताए ।

कृषि प्राविधिक कुँवर पनि च्याउ खेती गर्न सके आत्मनिर्भर बनि राम्रो आम्दानी गर्न सकिने बताउँछन् । यतिकै घरमा बसेर मोबाइलमा फेसबुक र टिकटक हेरर समय फाल्नु भन्दा घरमै बसेर कृषि व्यवसाय गर्ने हो भने राम्रो आम्दानी गर्न सकिने उनले बताए ।
अहिले बजारमा कन्ने च्याउ प्रति के.जी. २ सयमा मज्जाले बिक्री भइरहेको छ । च्याउको बिक्री गर्न बजारको समस्या नभए पछि किसानहरु च्याउ खेतीतर्फ आकर्षित भएका छन् ।
मिलन शर्मा दनाई