बेसीशहर, असार १३ गते । यस बर्षको एसइइ परीक्षमा लमजुङ जिल्लाबाट ५२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
जिल्लाभरका सामुदायिक र नीजि विद्यालयका गरी २ हजार ६ सय ५० जना परीक्षार्थी परीक्षामा सहभागी भएकामा ५२ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका हुन् ।
यस बर्षको एसइइ परीषामा लमजुङ जिल्लाभरबाट ३ जना विद्यार्थीले ४ जिपिए नतिजा ल्याएका छन् । देशभरबाट जम्मा १ सय ८६ विद्यार्थीले सर्वोत्कृष्ट नतिजा ल्याएकामा यसभित्र लमजुङका तीन जना परेका हुन् । लमजुङमा सामुदायिक विद्यालयतर्फ १ जना र नीजि विद्यालयबाट २ जनाले सर्वोत्कृष्ट नतिजा ल्याएका छन् ।
सर्वोत्कृष्ट नतिजा ल्याउनेमा मध्यनेपाल नगरपालिका ७ मा रहेको कुशमाकर माविका छात्र विश्वास घिमिरे र बेसीशहर नगरपालिका ७ मा रहेको युनिभर्सल अंग्रेजी विद्यालयका आयुश्मा गुरुङ र आयुष के.सी. रहेका शिक्षा विकास तथा समन्वय इकाई लमजुङका प्रमुख वीरबहादुर गुरुङले जानकारी दिए ।
युनिभर्सल एकेडेमीका प्रिन्सिपल बिमल अधिकारीले उक्त ३.६ देखि ४ जिपिए प्राप्त गर्ने विद्यार्थीको संख्या ३० जना रहेको जानकारी दिए । त्यस्तै ३.२ जिपिए देखि ३.६ जिपिए प्राप्त गर्ने २३ जना र २.८ जिपिए देखि ३.२ जिपिए प्राप्त गर्ने ९ जना रहेका छन् ।
उता कुशुमाकर माविबाट ३.९ जिपिए ल्याउने १ जना, ३.८२ जिपिए ल्याउने २ जना र ३.२ देखि ३.६ जिपिए नतिजा ल्याउने ७ जना, २.८ देखि ३.२ जिपिए ल्याउने १३ जना, २.४ देखि २.८ जिपिए ल्याउने ५ जना र २.० देखि २.४ जिपिए ल्याउने विद्यार्थी १ जना रहेका प्र.अ. ध्रुबराज घिमिरेले बताए ।
मिलन शर्मा दनाई