भाेर्लेटार । मध्यनेपाल नगरपालिकाले नगर क्षेत्रका सबै वडा कार्यालय र इलाका प्रहरी तथा प्रहरी चाैकीहरमा विपदमा प्रयाेग हुने सामग्री वितरण गरेकाे छ । नगरप्रमुख रमेश कुमार पाण्डेले ती सामग्री प्रहरी प्रतिनिधि र वडाध्यक्षहरूलाइ हस्तान्तरण गरेका छन् ।
बर्षायाम शुरू भइसकेकाे अबस्थामा जुनसुकै बेला पनि विपदका घट्न सक्ने भएकाले सबै वडा कार्यालय र प्रहरी चाैकीहरूमा विपद प्रतिकार्य सामाग्री वितरण गरिएकाे नगरप्रमुख रमेश कुमार पाण्डेले जानकारी दिए ।
"बर्षायाम शुरू भइसक्याे, बाढी पहिराेले जुनसुकै बेलामा पनि प्रकाेप निम्त्याउन सक्छ, त्यसैले विपदका बेला तत्काल प्रतिकार्य गर्न सहज हाेस् भनि सामग्री वितरण गरेका हाैं ।"– नगरप्रमुख पाण्डेले भने ।
बिपदजन्य घटना पुर्व जानकारी दिएर हुँदैनन्, त्यसैले पहिल्यै तयारी गर्नुपर्ने भएकाले विपदकाे प्रतिकार्यका लागि सबै वडा कार्यालय र प्रहरी कार्यालयहरूमा प्रतिकार्यका लागि सामाग्री उपलब्ध गराउने निर्णय भए अनुसार ती सामग्री वितरण गरिएकाे पाण्डेले बताए ।
नगरपालिकाले प्रत्येक वडाबाट प्रतिनिधित्व हुनेगरी स्वयंसेवक छनौट गरी विपद व्यवस्थापन सम्वन्धी प्रशिक्षण समेत दिएको छ । नगरपालिकाले केही समय अघि सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी, रेडक्रस लगायतका सँस्थासँग समन्वय गरी विपद प्रतिकार्य सम्वन्धी प्रशिक्षण गराएको थियो । हाल प्रशिक्षण प्राप्त स्वयंसेवकहरुलाई परिचालन गर्नसक्ने गरी सवै वडा कार्यालय र सवै प्रहरी चौकीहरुमा विपद प्रतिकार्य समाग्री राखिने छ ।
नगरपालिकाले इलाका प्रहरी कार्यालय भोर्लेटार मार्फत मातहतका प्रहरी युनिटहरु र सवै वडा अध्यक्ष मार्फत वडा कार्यालयहरुमा सामाग्री हस्तान्तरण गरेको नगरपालिकाका प्रवक्ता रामचन्द्र भण्डारीले बताए । उनका अनुसार नगरपालिकाले प्रत्येक वडा कार्यालय र प्रहरी युनिटहरुलाई हेलमेट, लाईफ ज्याकेट, प्राथमिक उपचार किट बक्स, पन्जा, गमबुट, स्ट्रेचर, त्रिपाल, गैंची, बेल्चा लगायतका सामाग्री उपलब्ध छ ।