"लिस्टाे फ्याक्टर"ले एमाले लमजुङमा खैलाबैला, नेतृत्वसंग चिढिए कार्यकर्ता

खबरकुञ्ज

बेसीशहर, चैत २० गते । नेकपा एमाले जिल्ला कमिटीको नवौं जिल्ला अधिवेशन सोमबार सम्पन्न भएको छ । अधिवेशनले राजकुमार विष्टको अध्यक्षतामा नयाँ जिल्ला कमिटीको चयन गरेको छ ।

अधिवेशन सकिए पनि अधिवेशनको चर्चा सेलाएको छैन । अधिवेशनमा केही तीता कुराहरु समेत भए, जसले एमालेका कार्यकर्ताहरुलाई झस्काइरहेको छ । पार्टीको आन्तरिक प्रतिस्पर्धा भएकाले जसले जिते पनि एमालेकै मान्छेहरुले जित्ने हो भन्ने सोचेका कार्यकर्ताहरुलाई अधिवेशनमा गरिएको राजनीतिले झस्काएको हो । लोकतन्त्रमा जीतहार सामान्य कुरा हो, त्यसमाथि आन्तरिक प्रतिस्पर्धासमेत भएकाले सामान्य रुपले नेताहरुले यसलाई  ग्रहण गरेर पार्टी संगठनलाई मजबुत बनाउन भूमिका खेल्नुपर्नेमा यो योलाई भोट देउ भनेर निर्देशन जारी भएपछि अधिवेशन चल्दै गर्दा कार्यकर्ता बृत्तमा खैलाबैला मच्चाइदियो ।


हरेक पार्टीमा आन्तरिक प्रतिस्पर्धा हुन्छ नै । लमजुङमा नेपाली कांग्रेसभित्रको गुटगत राजनीतिबारे त धेरै जना जानकार नै छन् र यो गुटको राजनीतिले कांग्रेसको हविगत पनि सबैले देखेकै छन् । एमाले लमजुङभित्र त्यस्तो गुटगत राजनीतिको उस्तो छनक मिल्दैनथ्यो । तर नवौं जिल्ला अधिवेशनले लमजुङमा सुषुप्त अवस्थाको गुटबन्दीमा मलजल गरिदिएको छ । गुटको नाममा गरिएको निषेधको राजनीतिले भोलि नेकपा एमाले लमजुङको संगठनमा के कस्तो असर पर्ने हो भन्ने चिन्ताले सच्चा एमाले कार्यकर्ताहरुलाई पिरोल्न थालेको छ ।

नेकपा एमालेमा गण्डकी प्रदेशभित्र उपमहासचिव पृथ्वीसुब्बा गुरुङको एउटा गुट छ । अर्को गुट स्थायी समितिका सदस्य खगराज अधिकारीको छ । प्रदेशको राजनीतिमा हावी हुन दुवै नेताहरुले बनाएको गुट गण्डकीका सबै जिल्लामा ब्यप्त छन् । धेरै जिल्लामा गुरुङ हावी छन्, केहीमा अधिकारी ।

यही गुटगत लडाइँको प्रभाव लमजुङमा एमालेको अधिवेशनमा समेत देखियो । अधिवेशनमा गुरुङको समूहबाट अध्यक्षमा राजकुमार विष्ट उमेदवार थिए । यो समूहबाट उपाध्यक्षमा जीतबहादुर गुरुङ, सचिवमा राजेन्द्र बोहोरा, उपसचिवमा विवश बुढाथोकी उमेदवार थिए । अधिवेशनमा धेरै सदस्यहरु निर्विरोध रुपमा निर्वाचित भएका थिए । पदाधिकारीमा महिला उपसचिव पद र लेखा समितिका अध्यक्ष, उपाध्यक्ष, सचिव र एक सदस्य पद समेत निर्विरोध भयो । अध्यक्ष लगायत पदाधिकारी र भूगोल अन्तर्गत बेसीशहर र सुन्दरबजारबाट प्रतिनिधित्व हुने सदस्य पदमा निर्वाचन भयो ।

मतदानको बेला बाँडिएको गोप्य चिटमा गुरुङ समूहले जिल्ला कमिटीमा निर्वाचित हुन बाँकी सदस्य पदका लागि मत दिन भन्दै एउटा लिस्ट बाड्यो । लिस्टमा आफ्नो समूहका उमेदवारमध्ये निर्वाचित हुन बाँकी पदाधिकारी सहित सदस्यहरुको नाम उल्लेख थियो ।

निर्वाचनमा हारजीत हुन्छ भन्ने जानि जानी थुप्रै प्रतिनिधिहरुले उमेदवारी दिएका थिए । साथीहरुसंग मत मागे, कतिले जिते, कतिले पराजयको सामना गरे । यहाँसम्म ठिकै थियो । तर अधिवेशनमा निर्वाचन पक्रिया चल्दै गर्दा एउटा गुटले सिमित ब्यक्तिहरुको नामसहितको उमेदवारहरुको लिस्ट मतदाताहरुलाई बाँड्यो । त्यो लिस्ट एक हिसाबले पार्टीका ठूला नेताहरुको निर्देशन थियो । लिस्टमा नाम लेखिएकाहरुलाई मात्र मत देउ भन्ने उर्दी थियो । र त्यो उर्दी जारी गरिएको थियो पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङको समूहबाट  ।

अध्यक्ष पदका प्रत्यासी कृष्णप्रसाद अधिकारी र उपाध्यक्ष पदका प्रत्यासी सुभाष पौडेल खगराज अधिकारी निकटका हुन् । तर उनीहरुले गुरुङको समूहले झै प्यानल भने बनाएनन् । गुरुङको प्यानलमा नअटेका र जिल्ला कमिटीको विभिन्न पदमा रहेर काम गर्ने ईच्छा राख्नेहरुले उमेदवारी दिएको देखियो ।

“लिस्टो फ्याक्टर” हावी हुँदा निर्वाचन प्रक्रिया चलिरहँदासम्म चुनाव जित्ने पक्का पक्की भएका उमेदवारहरुले पनि अन्ततः पराजयको सामना गर्नु परेको महशुस गरेका छन् । अहिले निर्वाचित भएका एकजना जिल्ला कमिटी सदस्य भन्छन् “यो लिस्ट नबाँडिएको भए केही कतिपय नेताहरु जिल्ला कमिटीमा आउन सक्ने थिएनन् ।”

गुटगत राजनीति गर्न हुन्न, यसले पार्टीलाई हानी गर्छ भनि थुप्रैले नेताहरुलाई सुझाव दिएका पनि थिए । नवनिर्वाचित एक जिल्ला कमिटीका सदस्य भन्छन्-“कृष्णप्रसाद अधिकारी मान्य नभए सुभाष पौडेललाई अध्यक्ष बनाएर सर्वसम्मतिमा नेतृत्व चयन गर्न मैले नेताहरुलाई सुझाव समेत दिएको थिएँ, तर सुनुवाई भएन । मतदान शुरु भएपछि कहाँ कहाँबाट लिस्ट बाँडिएछ, मैले त पछि मात्र थाह पाएँ ।”

अहिले लमजुङमा एमाले कार्यकर्ताहरुबीच अधिवेशनको समीक्षा भइरहेको छ । समीक्षा अनुसार अधिवेशनबाट केही उर्जावान, आशा, भरोसा र सम्भावना बोकेका युवाहरुले जिल्ला कमिटीमा प्रवेश पाएकामा खुशी हुने र गुटबन्दीले जिल्ला कमिटीमा आउनै पर्ने कतिपय नेताहरु भने छुट्न पुगेकामा दुःखी हुनेहरु उत्तिकै छन् । जिल्ला कमिटीमा नआए पनि फरक नपर्ने केहीखालका पनि आएका भन्दै कतिपय कार्यकर्ताहरुले दुःख समेत प्रकट गरेको सुनिएको छ ।

गुटको लडाइँले अबिच्छिन्न रुपमा एमालेको पार्टी राजनीतिमा लागेकाहरु पाखा लागेका छन् । कृष्ण प्रसाद अधिकारी, सुभाष पौडेल जस्ता नेताहरु विद्यार्थी आन्दोलनबाट निरन्तर राजनीतिमा सक्रिय थिए । अनेरास्ववियू हुँदै पार्टीको जिल्ला तहमा तहगत रुपमा नेतृत्व गर्दै आएका उनीहरु अब पाखा लागेका छन् । उनीहरुको ठाउँमा सजिलो अवस्थामा राजनीति गर्ने, सरकारी जागिर खाएर पेन्सन पकाउने, पार्टीको संगठनमा भन्दा एनजिओमा धेरै समय खर्चिएकाहरुको पार्टीमा बोलावाला रहने अवस्थाले लमजुङ एमालेलाई कहाँ पुर्‍याउने हो समयले देखाउला भनि टिप्पणी गर्नेहरु धेरै देखिएका छन् । 

यो खेमामा रहेका जमीन्द्रमान घले, धनञ्जय दवाडी लगायतका नेताहरुले पनि यो गलत अभ्यासलाई मलजल गरेको गुनासो कार्यकर्ताहरुको छ । उनीहरुलाई अधिवेशनमा हारजीत भएकोमा भन्दा ठूला नेताहरुले कसैलाई काखा र पाखा गरेकोमा चित्त दुखाइ भएको छ ।

हुन त नवनिर्वाचित अध्यक्ष राजकुमार विष्टले अधिवेशन सकिए लगत्तै पार्टीलाई एकढिक्का, गतिशील बनाउने उद्घोष गरेका छन् । उनको उद्घोष अनुसारसबैको सहयोग लिएर पार्टी चल्यो भने त ठिकै होला, होइन, यी हाम्रा विरोधी हुन् यिनलाई अधिवेशनमा जस्तै ठेलेरै जाने हो, भित्तैमा पुर्‍याउने हो भन्ने ठूला नेताहरुकै सोचले पार्टी चल्यो भने एमाले लमजुङलाई क्षति हुन पनि सक्छ ।

प्रतिक्रिया