"मैले बा आमा त्यागेर रोजेको" फिमेल भर्सनमा, अञ्जु पन्तले दिइन् स्वर

"मैले बा आमा त्यागेर रोजेको,मायाले मलाई धोका दियो

मनको त साह्रै कुरूप रैछ, रूपको त साह्रै राम्रो थियो ।"

लमजुङ दुराडाँडाँका हरिहर खनियाले डेढदशक अघि लेखेको यो गीत गायक स्वरुपराज आचार्यको स्वरमा बजारमा आउँदा संगीतिक क्षेत्रमा वाहवाही पाउन सफल भएको थियो । 

धेरै दर्शक श्रोताले यो गीत निकै मन पराए । खनियाको शब्द एवं संगीत रहेको गीत ‘दोष’ एल्बममा समावेश यो गीतको भाव यथार्थ परक, संगीत र स्वरसमेत उत्कृष्ट भएकाले अहिले पनि गीतका पारखीहरूबीच यो गीतको चर्चा हुने गर्छ । कतिपयले त गीतकार तथा संगीतकार खनियालाइ यसको फिमेल भर्सन ल्याउन बाराम्बार आग्रह गरिरहे ।

धेरैको मनमा बस्न सफल यो गीतको फिमेल भर्सन खनियाले सार्वजनिक गरेरै छोडेका छन् । आइतबार सर्जककैै अफिसियल युटयुब च्यानल "हरिहर खनिया"मार्फत यो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । 


यसपटक गीतमा अन्जु पन्तले सुमधुर स्वर दिएकी छन् । राजकुमार बगरको मिक्सिङ र माष्टरिङ रहेको गीतलाई विशाल निरौलाले एरेन्ज गरेका छन् । विक्रम चौहानको कथा, कन्सेप्ट एवं निर्देशनमा फिमेल भर्सनको भिडियो युट्युवमा तयार भएको छ। 

भिडियोमा शिल्पा पोखरेल, विक्रम बुढाथोकी र प्रमिता राजघतानीको अभिनय हेर्न पाइन्छ । 

लमजुङको सुन्दरबजार नगरपालिका वडा नंं ४ दुराडाँडा कछारथोक पुख्र्यौली घर भएका गीतकार हरिहर खनिया हाल पोखराको बगरमा बस्छन् । गीतकार प्रतिष्ठान नेपाल पोखराको अध्यक्षसमेत रहेका खनियाले झण्डै १८ वर्षअघि कसैको वास्तविक कथालाई गीतको रुप दिएका हुन् ।

उनी भन्छन्- “यो गीत हाम्रो समाजका धेरैको वास्तविक जीवनसँग मेल खाने भएरै होला धेरै श्रोता दर्शकले मन पराउनुभयो । त्यसबेला अत्याधिक रुपमा चर्चा आएको यो गीतको फिमेल भर्सन समेत लोकप्रिय गायिका अञ्जु पन्तको स्वरमा ल्याउन पाउँदा निकै खुशी लागेको छ । आशा छ दर्शकहरुले मन पराउनु हुनेछ ।”

भिडियाे हेर्नुहाेस् ।


प्रतिक्रिया