आन्दोलनरत शिक्षक र सरकारबीच पाँचबुदे सहमति, असन्तुष्ट शिक्षकहरुको आन्दोलन फिर्ता

काठमाडौं ।  आन्दोलनरत राहत, बाल विकासलगायतका शिक्षकहरु र सरकारबीच पाँचबुदे सहमति भए पछि असन्तुष्ट शिक्षकहरुको सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता भएको छ ।

सरकार र शिक्षक महासंघबीच भएको ६ बुँदे सहमतिमा आफ्ना मागको सुनुवाई नभएको भन्दै राहत शिक्षक, पेन्सन बञ्चित शिक्षक, अस्थायी करार बाल विकास शिक्षक कर्मचारीलगायतले निरन्तर आन्दोलन जारी राखेका थिए ।

शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा राहत शिक्षक, पेन्सन बञ्चित शिक्षक, अस्थायी करार बाल विकास शिक्षक कर्मचारीलगायतसँग सरकारले पाँचबुदे सहमति गरेको हो ।

सरकार र असन्तुष्ट शिक्षकहरुबीच प्रारम्भीक बाल शिक्षामा कार्यरत बाल सहजकर्ताको हकमा दरबन्दी कायम गर्ने, आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुने अवसर दिइने, आन्तरिकको शत प्रतिशतको व्यवस्था गरिने, राष्ट्रिय मापदण्ड तय गरी सार्वजनिक विद्यालयमा कर्मचारीको दरबन्दी कायम गरिने सहमति भएको बताइएकाे छ ।

सहमतिपछि शिक्षामन्त्री अशोक राईले विद्यालय शिक्षासम्बन्धी ऐनमा शिक्षकहरुको मागलाई संसदीय प्रक्रियामार्फत अघि बढाइने जानकारी दिएका छन् । राहत शिक्षक संघर्ष समितिका अध्यक्ष खेमराज अधिकारीले शिक्षकको हकमा आवश्यक कानून बनाउन शिक्षा मन्त्रालयले पहल गर्नेलगायतका पाँच बुदे सहमति भए पछि  आन्दोलनका सम्पूर्ण कार्यक्रमलाई फिर्ता लिएको जानकारी दिए ।

प्रतिक्रिया