बेसीशहर, जेठ ५ गते । लमजुङको मर्स्याङदी गाउँपालिका–९ सिम्पानीतर्फको खुदिबजार चोकलाई नेपाली महिला फुटबलकी सान गोल मेसिन भनेर चिनिने सावित्रा भण्डारी साम्बाको नाममा नामाकरण गरी चोकमा साम्बाको स्तम्भ राखिएको छ ।
सोमबार आयोजित एक विशेष समारोहबीच मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले साम्बाको स्तम्भ उद्घाटन गर्दै उक्त चोकलाई साम्बा चोक घोषणा गरेका हुन् । नेपाली महिला राष्ट्रिय फुटबल टिम तथा नेपाल एपीएफ क्लबकी खेलाडी साम्बाको सम्मानमा ‘साम्बा चोक’ नामकरण गरि उनको तस्वीर अंकीत स्तम्भ निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष गुरुङले बताए । फुटबल खेल्नकै लागि जन्मिएकी असाधारण क्षमताकी साम्बाले जन्मस्थल र देशकै गरिमा उचो बनाएकाले उनको सम्मानमा साम्बाचोक नामाकरण गरि साम्बाको तस्वीरसहितको स्तम्भ बनाइएको अध्यक्ष गुरुङले बताए ।

उदघाटन कार्यक्रममा लमजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेल, लमजुङका प्रहरी प्रमुख डिएसपी रोशन बोहरा, सशस्त्र प्रहरी बल आश्रित गुल्म लमजुङका गुल्मपति दिपक पुरी, मस्र्याङ्दी गाउँपालिका–९ का वडा अध्यक्ष हरिश्चन्द्र थापालगायत जनप्रतिनिधि, स्थानीय समाजसेवी एवं लब्धप्रतिष्ठित ब्यक्तिहरुको र स्थानीयको बाक्लो उपस्थिति थियो ।
उद्घाटनका अवसरमा साम्बाका आमा बुबा लाई समेत सम्मान गरिएको थियो । आफ्नी छोरीको सम्मानमा गाउँपालिकाले साम्बा चोक नामाकरण गरी स्तम्भ निर्माण गरेकामा साम्बाका आमा बुबा खुशीसंगै भावुक बनेका थिए । नेपाली राष्ट्रिय महिला फुटबलकी गहना खेलाडी सावित्रा भण्डारी साम्बा सशस्त्र प्रहरीमा सहायक हवल्दार छन् ।

कुनै दिन लमजुङकाे सिम्पानी गाउँको पाखो बारीमा मोजाको फुटबल खेल्ने एक ग्रामीण किशोरी नेपालकै सर्वाधिक चर्चित खेलाडि बन्छिन् भन्ने कसले पो सोचेको थियो र ? स्वयं ती किशोरीले पनि आफू यो उचाइमा पुग्छु भन्ने शायदै सोचेकी थिइन् । तर ती किशोरीको जीवनमा नसोचेको भयो । हिजो गाउँका दाजुभाइसंगै मोजाको फुटबल खेल्ने ती किशोरी अहिले नेपालको सबै भन्दा चर्चित, सर्वाधिक अन्तराष्ट्रिय गोल गर्ने फुटबल खेलाडी बनेकी छन्। मानिसले लक्ष्य निर्धारण गरी त्यही अनुसारको मेहनेत गर्न सके नसोचेको सफलता प्राप्त हुँदो रहेछ भन्ने उदाहरण बेनेकी खेलाडी हुन् सावित्रा भण्डारी अर्थात साम्बा ।
उनले पाएको त्यो उचाइ नेपालको फुटबल इतिहासमै दुर्लभ हो । लमजुङको मर्स्याङदी गाउँपालिका वडा नंं ९ सिम्पानीमा जन्मेकी सावित्रा भण्डारी नेपाली महिला फुटबलकी गहना हुन् । नेपालका लागि सर्वाधिक अन्तराष्ट्रिय गोल गर्ने कीर्तिमान कायम गरेकी उनले नेपालका लागि अहिलेसम्म ५७ गोल गरिसकेकी छन् । गाउँमा मोजाको फुटबल बाट शुरु भएको उनको फुटबल यात्रा गाउँका क्लव हुँदै अहिले फ्रान्सको एना भान गेङगाङ्पमा आवद्ध भइ युरोपमा तहल्का मच्चाइरहेकी छन् । अहिले फ्रान्समा रहेर युरोपियन फुटबलमा धमाका मच्चाउँदै गरेकी उनको सफलता नेपाली फुटबलकै लागि दुर्लभ उपलब्धि बनेको छ । सशस्त्र प्रहरी नेपालको एपिएफ क्लबबाट शुरु भएको उनको फुटबल करिअर युरोपमा फुटबल खेल्ने पहिलो नेपाली पनि हुन् ।
एपिएफ क्लव हुँदै सन् २०१४ बाट नेपालको राष्ट्रिय जर्सी पहिरिन थालेकी साम्बा अहिले २७ बर्षकी भइन् । यति कम उमेरमा अन्तराष्ट्रिय स्तरमा आफ्नो छबि बनाउन र देशलाई चिनाउने उनको मेहनेतलाई उनको जन्मथलोले उच्च मूल्याङ्ककन गर्दै उनको सम्मान गरेको हो । डुम्रे बेसीशहर चामे सडक अन्तर्गत लमजुङको मस्र्याङदी गाउँपालिका ९ खुदी हुँदै घलेगाउँ जाने सडकको खुदीखोला वरको चोकलाई उनको नाम दिइएको हो ।
गत चैत ३ गते मर्स्याङदी गाउँपालिकाको कार्यपालिका वैठकले साम्बाचोक नामाकरण गरी उनको तस्वीरसहितको स्तम्भ बनाउने निर्णय गरेको थियो ।
खबरकुञ्ज