बेसीशहर, चैत ४ गते । भोलि हुने स्ववियू निर्वाचनका लागि देशभरका क्याम्पसहरुमा विद्यार्थी संगठनबीच रस्साकसी चलिरहेका बेला लमजुङको एक क्याम्पसमा भने नेविसंघको प्यानलले निर्विरोध जीत निकालेको छ ।
लमजुङको मध्यनेपाल नगरपालिका वडा नंं ३ सोतीपसलमा रहेका मंगला क्याम्पसमा नेपाली कांग्रेस निकटको नेपाल विद्यार्थी संघको प्यानल निर्विरोध निर्वाचित भएको हो ।
स्नातक तहको अध्यापन हुने मंगला क्याम्पस सोतीपसलका क्याम्पस प्रमुख उदयचन्द्र कँडेलले स्ववियू निर्वाचनका लागि नेविसंघ बाहेक अन्य विद्यार्थी संगठनले मनोनयन नै दर्ता नगरे पछि नेविसंघको प्यानल निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।
१ सय ४ जना विद्यार्थी मतदाता रहेको क्याम्पसमा पदाधिकारी र सदस्यसहित ११ जनाको स्ववियूको लागि चैत ५ गते हुने निर्वाचनको लागि फागुन २७ भित्र उमेदवारहरुको मनोनयन दर्ता हुनुपर्नेमा नेविसंघबाहेक अन्य विद्यार्थी संगठनको उमेदवारी नपरे पछि क्याम्पसले सोमबार नेविसंघको प्यानल निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।
क्याम्पस प्रमुख कँडेलका अनुसार मंगला क्याम्पसको स्ववियू सभापतिमा रामचन्द्र खनाल, सचिवमा रामकुमार श्रेष्ठ र कोषाध्यक्षमा राधा सिंजाली निर्विरोध भएका हुन् । त्यस्तै सदस्यहरुमा दिपक ओझा, कृष्ण मुरारी कगाले, मनिता भुजेल, मनिषा नेपाली, शुष्मा अधिकारी, सुकमित गुरुङ, अनिल मिश्र र विनोद न्यौपाने निर्विरोध निर्वाचित भएका छन् ।

खबरकुञ्ज