बेसीशहर । आगामी २०८२ सालभित्र सहयोगापेक्षी वा सडक आश्रित मानवमुक्त राष्ट्र निर्माण गर्ने संकल्प लिएकाे मानव सेवा आश्रमले साे संकल्प पूरा गर्न अघि बढाएकाे राष्ट्रव्यापी रुपमा मानवता प्रबर्द्धन कार्यक्रम अन्तर्गत लमजुङमा आमा सेमिनार कार्यक्रम हुने भएकाे छ ।
हरेक ब्यक्तिलाइ मानवता, राष्ट्रियता, परोपकार र जन्मदिने माता पिताको महत्वबोध गराई, प्रेम, करुणा भाव, सद्भाव, मातृप्रेम जस्ता मानवीय गुणकाे प्रबर्द्धन गर्ने उद्देश्यले आमा सेमिनार कार्यक्रम सञ्चालन गर्न लागिएकाे मानव सेवा आश्रम लमजुङकी प्रमुख अनिता अधिकारीले जानकारी दिइन् ।
यही श्रावण २७ गते बेसीशहरमा हुने एक दिवसीय आमा सेमिनारमा मानवता, राष्ट्रियता, परोपकार र जन्मदिने माता पिताको महत्वबारे प्रकास पारिनुका साथै परिवारबाटै पीडित भइ सडकमा जान बाध्य भएका, सडकपेटी एवं सार्वजनिक स्थलमा कष्टकर जीवन यापन गर्न बाध्य भएकाहरूलाइ कसरी संरक्षण र उद्धार गर्ने तथा कसरी पराेपकारी काम गर्ने लगायतका बिषयमा प्रशिक्षण दिइने छ।

३ सय ५० जनाको सहभागिता रहने कार्यक्रममा मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले प्रशिक्षण दिने छन् । सेमिनारमा जनप्रतिनिधि, कर्मचारी, युवा, विद्यार्थी, आमा समूह, लगायत संघसंस्थाका प्रतिनिधिहरूलाई सहभागी गराइने छ ।