बेसीशहर, कार्तिक १३ गते । लमजुङको बेसीशहर नगरपालिका २ गैरीमा घाँस काट्न गएकी एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ ।
बेसीशहरको वडा नंं २ गैरी निवासी ६१ बर्षकी गीतादेवी पराजुलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । गैरीस्थित गैरी क्याम्पस नजिकै आज बिहानै घाँस काट्न भनि गएकी उनी खाना खान समेत नआए पछि परिवारले खोजी गर्दै जाँदा उनको शब भेटिएको थियोे ।
प्रहरीका अनुसार गैरी क्याम्पस पछाडि रहेको ३३ केभीए प्रसारण लाइनको करेण्ट लागेर उनको निधन भएको हो । त्यहाँ रहेको इपिलिपीको रुख ३३ केभिए प्रसारण लाइनमा छोइएको र सोही रुखको घाँस काट्ने क्रममा उनलाई करेण्ट लागेको प्रहरीले जानकारी दिएको छ ।
करेण्टका कारण उनको शरीरका विभिन्न भागमा जलन भएको भेटिएको छ । स्थानीयले खबर गरेपछि प्रहरीले बिहान ११ बजे घटनाबारे जानकारी पाएको थियो । दुर्घटनाको खबर पाउना साथ घटनास्थल पुगेको प्रहरीले घटनास्थल मुचुल्का तयार पारी शबलाई पोष्टमार्टमका लागि लमजुङ अस्पतालमा ल्याएको छ ।
नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रका प्रमुख मेघनाथ भट्टराईले उदीपुर सबस्टेशन हुँदै मनाङ लगिएको ३३ केभिए प्रसारण लाईनको करेण्ट लागेर उनको मृत्यु भएको बताए । उक्त स्थानमा इपिलिपीको रुखको हाँगाले ३३ केभिएको प्रसारण लाइनमा छोएको र सो स्थानमा लाइन क्लियरेन्सक कम भएका पाइएको जानकारी उनले दिए ।
खबरकुञ्ज