आज १८ औं लोकतन्त्र दिवस

बेसीशहर । आज १८ औं लोकतन्त्र दिवस । २०६३ वैशाख ११ गते आजैका दिन १९ दिने जनआन्दोलनको बलमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता जनतालाई सुम्पिएका  थिए ।

विसं २०५९ असोज १८ गते जननिर्वाचित प्रधानमन्त्री शेरबहादुरदेउवालाई अपदस्थ गरी तत्कालीन राजा ज्ञानेन्द्रले आफूखुशी कार्यकारी प्रमुख तोकेका थिए । आफूखुशी तोकिएका प्रधानमन्त्रीबाट समेत सन्तुष्ट नभई २०६१ माघ १९ गते मन्त्रिपरिषद्को अध्यक्षसमेत राजा आफै बनेपछि नागरिकहरुमा राजतन्त्रप्रति वितृष्णा बढ्न गयोे ।

माघ १९ पछि तत्कालीन आन्दोलनरत सात दल र सशस्त्र जनयुद्ध गरिरहेको नेकपा माओवादीबीच २०६२ मंसिरमा १२ बुँदे समझदारी भएपछि त्यसैको बलमा जनआन्दोलन शुरुभएको थियो । जनआन्दोलनको माग २०५९ जेठ ८ गते विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना र निरङ्कुश राजतन्त्रको अन्त्यका लागि पुनस्र्थापित प्रतिनिधि सभालाई जिम्मा दिइने भनिएको थियो ।

नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको आन्दोलनमा लाखौँ मानिस सडकमा उत्रिएपछि २०६३ सालमा आजैका दिन तत्कालीन राजा ज्ञानेन्द्र संसद् पुनःस्थापनासहित जनताको नासो जनतालाई नै  फिर्ता गर्न बाध्य भएका थिए । जनताले अधिकार पाएको सोही दिनलाई लोकतन्त्र दिवसका रुपमा मनाउने गरिएको छ ।

लोकतन्त्र स्थापना भएपछि त्यसै वर्ष जेठ ४ गते बसेको प्रतिनिधिसभाको बैठकले राजतन्त्र निलम्बनसहित महत्वपूणर् ऐतिहासिक घोषणा गर्‍यो । यही घोषणाबमोजिम पहिलोपटक २०६४ चैत २८ गते पहिलो संविधानसभाको निर्वाचन सम्पन्न पनि भयो । संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालमा २४० वर्षे राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । सो संविधानसभाले संविधान बनाउन नसके पनि दोस्रो संविधानसभाले २०७२ असोज ३ गते संविधान बनायो ।

संविधान निर्माण भएकाे ८ बर्ष बितिसकेकाे छ । तर जनताले चाहेकाे नेपाल बन्न अझै सकेकाे छैन । जुन अपेक्षा गरेर जनताले राजा फाले, त्यसपछि अरू धेरै राजा जन्मिएकाे जस्ताे महशुस जनताले गरेका छन् । लाेकतन्त्र भनाैं वा गणतन्त्र जनताकाे शासन ब्यवस्था हाे तर जनताकाे हितकारी शासन हाम्राे देशमा भएकाे छैन । संविधानलाइ कतिपयले विश्वकै उत्कृष्ट भनेका छन् र अहिले याे कार्यान्वयनको क्रममा छ । तर कतिपयले अझै संविधान जलाउन छाेडेका छैनन् ।

प्रतिक्रिया