भाेर्लेटार (लमजुङ) । मध्यनेपाल नगरपालिकाले आर्थिक बर्ष २०८०/०८१ को नीति कार्यक्रम र बजेटमार्फत नगरको समृद्धि, सुशासन र सामाजिक न्यायमा काम गर्ने लक्ष्य राखेको छ ।
मध्यनेपालको केन्द्र भोर्लेटारमा आइतबार नीति कार्यक्रम र बजेट प्रस्तुत गर्दै नगर प्रमुख रमेश कुमार पाण्डेले ६० करोड ३३ लाख ५६ हजार १ सय रुपैयाको अनुमानित बजेट पेश गर्दै आम नगरबासीको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्ने तथा सीमान्तकृत तथा पछाडि परेका वर्ग, क्षेत्र, लिङ्ग र समुदायलाई आर्थिक लाभको पहुँचमा पुर्याउने तर्फ बजेट तथा कार्यक्रम लक्षित गरेको बताए ।
नगर प्रमुख पाण्डेले कृषि क्षेत्रको व्यवसायीकरण, विविधकरण तथा आधुनिकीकरण, पर्यटनका क्षेत्रहरुमा लगानी र सम्भाव्य क्षेत्रको खोजी गरी दीगो पूर्वाधारका विकास, रोजगारमूलक कार्यक्रममा आगामी बर्षको बजेट लक्षित हुने बताए ।
नगर प्रमुख पाण्डेले चालु आ.ब.मा ६५ करोड १३ लाख ५ हजार रुपैयाको आय तथा व्ययको अनुमान गरिएकोमा मिति २०७२/११/१७ गतेको नगर सभाको बैठकबाट संशोधित अनुमान ६८ करोड २२ लाख ७८ हजार ८३७ रुपैया गरिएको र ६८ करोड २२ लाख ७८ हजार ८३७ रुपैया आय अनुमान गरिएकोमा ५६ करोड ८ लाख ८९ हजार ४७९ रुपैया ९३ पैसा प्राप्त भएको जानकारी नगर सभामा गराए । त्यसैगरी व्यय तर्फ ४० करोड ९५ लाख ५३ हजार ९०६ रुपैया ८१ पैसा खर्च भएको उनले बताए ।
नगर प्रमुखले गत आर्थिक वर्षमा ६४ करोड २१ लाख ६१ हजार ८३५ रुपैया ५२ पैसा आय अनुमान गरिएकोमा ६१ करोड २७ लाख २९ हजार २९१ रुपैया प्राप्त भएको र व्ययतर्फ ५४ करोड ४० लाख ४५ हजार ६१३ रुपैया २३ पैसा खर्च भएको जानकारी गराए ।
आगामी बर्षका लागि नेपाल सरकारको समानीकरण अनुदान तर्फ ९ करोड ७२ लाख रुपैया, प्रदेश सरकार समानीकरण अनुदान तर्फ १ करोड २४ लाख ९० हजार रुपैया, नेपाल सरकारको अन्तशुल्क, भन्सार महशुल तथा मूल्य अभिवृद्धिकर बाट प्राप्त हुने राजस्व बाँडफाँडको ८ करोड ५४ लाख ६१ हजार १ सय रुपैया प्रदेश सरकार सवारी साधन करबाट प्राप्त हुने १ करोड ९० लाख ७५ हजार रुपैया प्राप्त हुने अनुमान गरिएको उनले बताए ।
पाण्डेले संघ सरकारको सशर्त अनुदान तर्फ ३३ करोड १७ लाख रुपैया र प्रदेश सरकारको सर्शत अनुदान २५ लाख रुपैया अनुमान गरिएको बताए । यसैगरी नेपाल सरकारबाट प्राप्त हुने समपुरक अनुदान तर्फ ५० लाख, विशेष अनुदान तर्फ १ करोड साथै प्रदेश सरकारबाट प्राप्त हुने समपुरक अनुदान तर्फ ५० लाख विशेष अनुदान तर्फ ५० लाख रुपैया प्राप्त हुने अनुमान गरिएको उनले बताए ।
मध्यनेपाल नगरपालिकाबाट दहत्तर बहत्तर बाट प्राप्त हुन आउने राजस्वको ६० प्रतिशतले हुन आउने रकम ८० लाख रुपैया, सिफारिस लगायतका शुल्क तथा जरिवाना बाट प्राप्त हुने रकम रु १ करोड २० लाख तथा चालु आ.व. मा खर्च हुन हुने आउने बैंक मौज्दात रु १ करोड हुने अनुमान गरिएको उनले बताए ।
नगर प्रमुख पाण्डेले आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको ६० करोड ३३ लाख ५६ हजार १ सय रुपैयाको व्यय अनुमान गरिएकोमा पुँजीगत तर्फको तलब, भत्ता लगायतका प्रशासनिक खर्चका लागि ९ करोड ५२ लाख, नेपाल सरकार तथा प्रदेश सरकारबाट प्राप्त हुने सर्शत तर्फका चालु तथा पुँजीगत प्रकृतिका कार्यक्रमका लागि ३३ करोड ४२ लाख विनियोजन गरिने उनले बताए ।
त्यस्तै नेपाल सरकार विशेष अनुदान र समपुरक अनुदानबाट सञ्चालित हुने आयोजना तथा कार्यक्रमका लागि २ करोड ५० लाख, विनियोजन गरिने उनले बताए ।
नगरप्रमुखले मध्यनेपाल नगरवासीको स्वास्थ्य सुरक्षा कृषि क्षेत्रको व्यावसायीकरण रोजगारमूलक क्रियाकलाप सिर्जना तथा उद्यम प्रवर्द्धन प्राथमिकतामा रहनुको साथै शिक्षा क्षेत्रलाई पनि उतिकै ध्यान दिइएको बताए ।
आर्थिक समृद्धि विना विकासको लक्ष्य पुरा गर्न कठिनाई हुने भएकोले “समृद्ध मध्यनेपाल सुखी मध्यनेपाल वासी’ भन्ने नारासहित आर्थिक समृद्धिलाई विकासको मूल आधार बनाइने उनले बताए ।
पाण्डेले मध्यनेपालमा विशिष्ट पहिचान भएका कृषि उपजलाई प्याकेजिङ र ब्राण्डिङ गरी निर्यातयोग्य तुल्याइ कृषकको मनोबल उच्च बनाउन प्रोत्साहनको व्यवस्था मिलाइने, नगरपालिका भित्र रहेका बाँझो जग्गाहरुको एकीकृत तथ्याङ्क संकलन गरी भूमि बैंकको अवधारणा कार्यान्वयन गरी जमिनलाई बाँझो राख्न नदिने नीति तय गरिने जानकारी दिए ।