एमाले बेसीशहर नगर कमिटीको अध्यक्ष पदका प्रत्यासी शरद बरालमाथि कुटपीट

बेसीशहर, बैशाख ३० गते । नेकपा एमाले बेसीशहर नगर कमिटीको अध्यक्ष पदका प्रत्यासी शरद बराल माथि कुटपीट भएकाे छ ।

नगर कमिटीको अधिवेशन चल्दै गर्दा नेतृत्वका लागि सहमतिको प्रयास भइरहँदा बराल एमाले कार्यकर्ताबाटै कुटिएका हुन् । नेकपा एमाले जिल्ला कमिटीको कार्यालय मदन आश्रित स्मृति भवन बेसीशहरमा आइतबार दिउसो करीब १२.३० बजे उनलाई एमालेकै कार्यकर्ता मनबुजा राउतले कुटेका पीडित बरालले बताएका हुन् ।


नगर अधिवेशन चल्दै गर्दा र नगर कमिटीको नयाँ नेतृत्वका लागि पार्टी कार्यालयमा छलफल चलिरहेका बेला उनीमाथि एक्कासी आक्रमण भएको थियो । राउतको मुक्का प्रहारबाट बरालको निधारमा गहिरो चोट लागेको छ । उनलाई तत्कार अस्पताल लगि उपचार गरिएको थियो । उनको निधारमा दुईवटा टाँका लगाइएको र अहिले उनको अवस्था सामान्य रहेको बुझिएको छ ।

अध्यक्षका प्रत्यासी बरालले आफूमाथि किन कुटपिट भयो भन्ने थाह नपाएको बताए । “मलाई किन कुटियो, मलाई नै थाह छैन ।” उनले भने ।

अधिवेशनबाट नयाँ नगर कमिटी चयनका लागि अध्यक्ष लगायत पदाधिकारीमा सहमति नजुटेपछि आइतबार पार्टी कार्यालयमा नेताहरुले सहमतिको प्रयास गरेका थिए । सहमतिको लागि प्रयास भइरहँदा दिनभरी एमाले कार्यकर्ताहरु पार्टी कार्यालयमै थिए ।

तर नगर कमिटीको अध्यक्षको उमेदवारी फिर्ता नलिएपछि उनीमाथि कुटपिट भएको भन्ने बेसीशहरमा हल्ला चलेको छ । उनलाई खगराजको मान्छे भन्दै उमेदवारी फिर्ता लिन भनिएकोमा उनले नमानेपछि कुटपिट गरिएको केही एमाले कार्यकर्ताहरुले नै बताए पनि बरालले भने त्यसमा आफूलाई विश्वास नलागेको बताए । उनले भने-“म कुनै गुटमा छैन र गुटमा लाग्ने मान्छे पनि हाेइन, मलाई मेरै नेताहरुले कुटाए् भन्नेमा विश्वास छैन ।” 

शरद बराल अहिलेको बेसीशहर नगर कमिटीको सचिव हुन् । नगर कमिटीका अध्यक्ष रहेका राजकुमार विष्ट जिल्ला अध्यक्षमा निर्वाचित भएका कारण गत चैत १९ देखि उनी कार्यबहाक अध्यक्ष भएर काम गरिरहेका छन् । जारी नगर कमिटीको अधिवेशनको उद्घाटन सत्रसमेत उनकै अध्यक्षतामा भएको थियो । उनी नेकपा एमाले बेसीशहरको तदर्थ कमिटीको पनि सचिव थिए । अघिल्लो नगर अधिवेशनमा सर्वसम्मत सचिव चयन भएका उनी यस पटक अध्यक्ष पदका आकांक्षी छन् ।

शनिबार मध्यरातसम्म उनलाई नेतृत्वले उपाध्यक्ष वा पुनः सचिव भएर काम गर्न आग्रह गरेपछि उनी त्यसका लागि समेत तयार भएका थिए । तर आइतबार बिहान हुन नपाउँदा  पुन कुरा अर्कैतिर मोडिएपछि उनले अध्यक्ष पदमा उमेदवारी दिएका हुन् । 

उनले अध्यक्ष पदमा उमेदवारी दिएपछि जिल्ला नेतृत्वले उनलाई उमेदवारी झिक्न दबाब समेत दिएको थियो । बरालले भने- मलाई अध्यक्ष पदबाट उमेदवारी झिक्न दबाब आएको थियो । तपाइँ हार्नुहुन्छ, उमेदवारी फिर्ता लिनुस् भनिएको थियो । तर मैले लोकतन्त्रमा हारजीत स्वभाविक हो, साथीहरुले मत दिएनन् भने हार्न पनि तयार छु भनि उमेदवारी फिर्ता लिन मानिन । निर्वाचन मण्डलले हामीले नेतृत्व छान्दा तपाइँलाई मान्य हुन्छ कि हुन्न भनेर पनि सोधेका थिए ।”

बरालले भने- “मसंगै नगर कमिटीमा काम गरेका साथीहरु सबै जिल्ला कमिटीमा पुगिसके । म फेरि पनि नगर कमिटीको सचिवमा बसेर काम गर्न समेत तयार रहँदा पनि मलाई अनुचित दबाब दिइएको छ, मलाई हराउने कसरत भइरहेको बुझेको छु । म खाँट्टी एमाले हूँ, चुनाव हारेछु भने पनि एमाले छोडेर कतै जानेवाला होइन, सधैं पार्टीको बफादार सिपाही भएर रहने हो । हिजो एमाले भएकै कारण माओवादीबाट मरणासन्न हुने गरी कुटिएको हूँ । यो त मेरो नाफाको जिन्दगी हो । पार्टीका लागि मेरो निष्ठा, काम, र योगदान हेरेर साथीहरुले मलाई निर्वाचित गराउनु हुन्छ भन्ने विश्वास छ ।”

प्रतिक्रिया