पोखरा, जेठ २८ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् ।
गत जेठ १६ गते सर्वोच्च अदालतको आदेशबाट ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका पाण्डेले आज प्रदेश सभामा विश्वासको मत मागेकामा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल समाजवादी पार्टी र स्वतन्त्र सांसदसमेतले उनलाई विश्वासको मत दिएका हुन् ।
गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पाण्डेको पार्टी नेपाली कांग्रेससंग २७ सीट छ । सरकार टिकाइराख्न उनलाई ३१ प्रदेश सभा सदस्यको समर्थन चाहिनेमा राप्रपाको २, समाजवादीको १ र स्वतन्त्र १ सांसदले विश्वासको मत दिएपछि उनको सरकार जोगिएको हो ।
यसपाली विश्वासको मत दिने क्रममा नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट प्रदेश सभामा निर्वाचित भएका फणिन्द्र देवकोटाले फ्लोर क्रस गरी सरकारलाई विश्वासको मत दिए । यस अघि माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले पाण्डेलाई विश्वासको मत नदिन ह्वीप जारी गरेकामा देवकोटाले ह्वीप उल्लंघन गरेका हुन् । राप्रपाका दुई सांसद र स्वतन्त्र सांसद मनांगेले समेत मत दिएपछि २७ सांसद रहेको कांग्रेस संसदीय दलका नेता पाण्डेले विश्वासको मत पाएका हुन् ।
पाण्डेले मागेको विश्वासको मतको बिपक्षमा नेकपा एमालेका २२ र माओवादी केन्द्रका ६ गरी २८ प्रदेश सभा सदस्यले मत हालेका थिए ।
बिश्वासको मत पाएसंगै अब मुख्यमन्त्री पाण्डेलाई सरकार विस्तार गर्ने बाटो खुलेको छ । अब उनले राप्रपा, नेसपा र स्वतन्त्र सांसदलाई समेत मन्त्री बनाउने छन् । प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउनु अगाडि नै उनले मन्त्रीपरिषद विस्तार गर्ने गरी छलफल अघि बढाएका छन् ।
मिलन शर्मा दनाई