तीज भडकिलो बन्दै गएकामा प्रशासनको चिन्ता, कानुन विपरित भए कारबाही गरिने

खबरकुञ्ज
बेसीशहर, भदौ १४ गते । हिन्दु नारीहरूको पवित्र एवं धार्मिक पर्व हरितालिका तीज भड्किलो बन्दै गइरहेकोमा सर्वत्र चिन्ता ब्यक्त गरिएको बेला जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीजमा अनावश्यक खर्च र तडकभडक नगर्न अपील गरेको छ ।
कार्यालयले बिहीबार एक जरुरी सार्वजनिक सूचना जारी गर्दै तीज पर्व भड्किलो ढंगले नमनाउन अपिल गर्दै अनावश्यक तडकभडक र खर्चिलो कार्यक्रम गरे गराए कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको हो ।
विगतको तुलनामा पछिल्ला बर्षहरुमा तीज मनाउने क्रममा अनावश्यक तडक भडक सहितका खर्चिला कार्यक्रमहरु बढ्दै गएकाले प्रशासनले सामाजिक ब्यवहार (सुधार) ऐन २०३३ र सामाजिक ब्यवहार(सुधार) नियमावली २०३३  अनुसार कारबाही गर्ने चेतावनी दिएको हो ।

सामाजिक सुधार ऐन २०३३ ले धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरु मनाउने बिषयलाई ब्यबस्थित र नियमन गरेको छ । 
कार्यालयले आफ्नो परम्परा एवं सामाजिक रितिरिवाजलाई मौलिक रुपमा संरक्षण र सम्बद्धृन गर्नेबाहेक अन्य कुनै पनि खालका तीजसंग सम्बन्धित खर्चिला एबं भड्किला कार्यक्रम सञ्चालन गर्न नगराउन र पर्व मनाउने सन्दर्भमा अनावश्यक तडक भडक र फजुल खर्च नियन्त्रण गरी असल सरकारको विकास गर्दै जानु सबैको कर्तब्य भएको स्मरण गराएको छ ।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले तीजका गतिविधिहरुमा निगरानी गरी कानुन बमोजिम कारबाही गरिने ब्यहोरो यसै सूचनाद्वारा जानकारी गराइन्छ भनिएको छ ।
पछिल्ला बर्षहरुमा तीज आउनु महिना दिन अघिदेखि नै तीजका नाममा दर खाने, भोजभतेर, नाचगान र कतिपय ठाउँमा त महिलाहरु मदिराले मातेर उच्छृंखल गतिविधि गर्ने गरेको समेत पााइएको छ ।
यसरी महिनादिन अघि नै तीजका नाममा गरिने यस्ता क्रियाकलापले तीजको मौलिकता मासिदै गएको भनि सांस्कृतिक÷धार्मिक क्षेत्रबाट चिन्ता ब्यक्त गरिँदै आएको छ । पर्वको मर्म नबुझेर पवित्र पर्वलाई गलत ढंगले मनाउँदा मौलिक संस्कृतिको मर्म र महिमा कम हुँदै जानुका साथै नयाँ पुस्तामाझ तीज पर्वको गलत सन्देश प्रवाह भइरहेको अबस्था विद्यमान छ ।
नेपाली परम्परा अनुसार तीजमा माइतीको आँगनमा जम्मा भएर दुःखसुख बाँड्ने गरिन्छ । माइतीमा आमा बाबुले छोरीहरुलाई मीठोमसिना खुवाउने र छोरीहरुले घरखाँदाका दुःख बिसाउने परम्पराको विपरित अहिलेको तीजमा महिनादिन अघि देखि नै होटल र पार्टी प्यालेसमा पुगेर भड्किलो ढंगले भोजभतेर गर्ने, गरगहना र महंगा साडीमा सजिएर उच्छृंखल गतिविधि बढिरहेको सन्दर्भमा प्रशासनको यस्तो सार्वजनिक सूचनाको स्वागत गरिएको छ ।

प्रतिक्रिया