लमजुङमा पशु चौपायमा लम्पि स्किन रोगकाे प्रकोप, १५ वटा गाइगाेरू मरे, सयाैं पशु प्रभावित

बेसीशहर । लमजुङमा विगत केही समययता पशु चौपायमा लाग्ने लम्पि स्किन रोगकाे प्रकोप फेलिएको छ । यो रोगले पशुचौपाया धमाधम बिरामी पर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् ।

अहिले यो रोग लमजुङका सबै स्थानीय निकायमा फैलिएको भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले जानकारी दिएको छ । केन्द्रका अनुसार अहिले लमजुङ जिल्लामा ७ सय भन्दा बढी पशुमा यो रोगको प्रकोप देखिएको छ । विशेष गरी गाई गोरुमा यो रोगको प्रकोप उच्च छ ।

केन्द्रका सूचना अधिकारी डा. सुनिल न्यौपानेका अनुसार यो रोगको प्रकोपबाट १५ वटा पशु चौपाय मरिसकेका छन् । लम्पी स्किन रोगबाट १० वटा गोरु र ५ वटा गाई मरेको तथ्याङ्क विज्ञ केन्द्रमा छ । यो रोगबाट ४÷५ वटा भैंसी पनि विरामी परेका छन् । 

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डा. रुपेश श्रेष्ठले रोगको प्रकोप देखिएपछि विरामी पशु चौपायको उपचारका लागि हरसम्भब प्रयास भएको जानकारी दिए । यो रोगको मृत्युदर २ प्रतिशत मात्र रहेकोले आतिनु पर्ने अवस्था नरहे पनि रोगको संक्रमण भएपछि गाई भैंसीले दूध दिन नसक्ने, गोरुले जोत्न नसक्ने हुने भएकाले सावधानी अपनाउनु पर्ने उनले बताए ।

लम्पी स्किन रोग लामखुट्टे, कीर्ना, माखा आदिको माध्यमबाट संक्रमित पशुबाट अरु स्वस्थ पशुमा सर्छ । रोगी पशु र निरोगी पशु एकैठाउँ राख्ने, एउटै भाँडामा कुँडो दाना खुवाउँदा पनि रोग सर्छ । यो रोग लागे पछि पशुको घाँटी, पुच्छर वरिपरीको भाग, पेट, थुन लगायत शरीरका विभिन्न भागहरूमा साना साना गिर्खाहरू देखिने तथा सुन्निने, उच्च ज्वरो आउने, कचेरा वा सिंगान बग्ने, मुखबाट फिंज निकाल्ने, खान नसक्ने अदि लक्षणहरू देखिने कार्यालय प्रमुख डा. श्रेष्ठले जानकारी दिए ।

विशेषगरी लमजुङको मध्यनेपाल नगरपालिका र दोर्दी गाउँपालिकामा यो रोगको प्रकोप उच्च छ । मध्यनेपालमा मात्रै ४ सय र दोर्दीमा २ सयको हाराहारीमा गाई गोरु यो रोगबाट विरामी परेका केन्द्रका सूचना अधिकारी डा. न्यौपानेले जानकारी दिए । उनले यो रोगको प्रकोप अरु फैलिन नदिन जिल्लाभर पशुहरुलाई खोप लगाउने अभियान चलिरहेको जानकारी दिए ।

खेतीपातीको सिजन शुरु भइसकेको बेला लम्की स्किन रोगले गोरु विरामी भएपछि किसानहरु मर्कामा परेका छन् । यस्तो बेला रोगी गोरुलाई नजोतेर केही दिन आराम गराउनु पर्ने डा. न्यौपानेले सुझाव दिए ।

मध्यनेपाल नगरपालिका लमजुङका नायव पशु स्वास्थ्य प्राविधिक दिपेन्द्र पौडेलले यस रोग मध्यनेपाल नगरपालिकाान नियन्त्रण बाहिर रहेको बताए । मध्यनेपाल भित्र लम्पी स्किनको प्रकोपले ७ वटा गोरु, एउटा जर्सी गाई, एउटा स्थानीय जातको गाई, २ वटा बाच्छी र एउटा बाच्छो गरी १३ वटा पशु मरेका उनले जानकारी दिए ।

पौडेलका अनुसार गत बैशाख ५ गते पहिलो पटक मध्यनेपाल नगरपालिकामा यो रोग देखिएको हो । रोगको प्रकोप देखिएपछि, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङ, र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय र मध्यनेपाल नगरपालिकाको सहयोगमा संक्रमण देखिएको क्षेत्रमा ४५० डोज खोप लगाइएको पौडेलले बताए ।

अहिले त्यहाँ ३९४ गाई गोरुको नियमित उपचार भइरहेको छ । जसमध्ये विरामी गोरुको संख्या मात्रै २ सय रहेको उनले बताए । तीमध्ये २० वटा गोरु जोत्नै नसक्ने अवस्थाका छन् । 

पौडेलले मध्यनेपाल नगरपालिकाको वडा नंं ५, ६, ७, ८ र ९ मा लम्पी स्किन रोगको प्रकोप बढी रहेको जानकारी दिए । विरामी पशु चौपायलाई ज्वरो आएमा सिटामोल, घाउमा ड्रेसिङ गरी एण्टिसेप्टिक मल्हम लगाउने र गोठहरुमा झिङ्गा लामखुट्टे आदि भगाउन फिनेल छर्किने गरिएको उनले जानकारी दिए ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले किसानले आफ्ना पशु चौपायालाई जोगाउन सरसफाई देखि उचार विधिमा ध्यान दिन आग्रह गरेको छ । यो रोगको प्रभावकारी उपचार नभएको भन्दै रोगी पशुहरुलाई झोलिलो खानेकुरा खुवाउन, गोठ सफा राख्न, रोग लागेका पशुचौपायालाई निरोगी पशु चौपाया देखी टाढै राख्न, टोक्ने माखा, लामखुट्टेको टोकाईबाट पशु चौापयालाई जोगाउन, रोगी पशु र निरोगी पशुको बसाई, खानपिन अलग अलग बनाउन सुझाव दिएको छ ।

यो सरुवा रोग भएकाले कोरोनाकालमा मान्छेहरु आइशोलेनमा बसैझैँ यो रोग देखिएका पशुहरुलाई पनि आइशोलेसनमा राख्न केन्द्रले सुझाव दिएको छ ।


प्रतिक्रिया