बेसीशहर । लमजुङ अस्पतालका डाक्टर सन्दीप अधिकारीमाथि हातपात गर्ने लमजुङका एकजना जनप्रतिनिधि पक्राउ परेका छन् । उनी विरूद्ध जिल्ला प्रहरी कार्यालय लमजुङमा जाहेरी दर्ता भएकाे छ ।
जिल्ला अस्पताल लमजुङका डा. सन्दिप अधिकारीलाइ मुक्का हानेकाे अभियाेगमा बेसीशहर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष ऋषिराम बस्नेत पक्राउ परेका हुन् । साेमबार अबेर उनी बिरूद्ध प्रहरीमा जाहेरी परेकाे हाे । उनले आइतबार राती करीब साढे १० बजेतिर लमजुङ अस्पतालभित्रै डा. अधिकारीमाथि हातपात गरेका थिए ।

डाक्टरलाइ कुटपिट भएकाे बिराेधमा उजुरी गर्न प्रहरी कार्यालय पुगेका डाक्टर तथा स्वास्थ्यकर्मीहरू
डेंगी संक्रमण भएपछि आमाको उपचारका लागि अस्पताल पुगेका वडाअध्यक्ष बस्नेतले बिरामी भर्नाका क्रममा भनाभन भएपछि डाक्टर अधिकारीलाइ कुटपिट गरेका थिए । अस्पतालका अनुसार अस्पतालमा उनकी आमालाइ भर्ना गर्नका लागि परिवारकाे मञ्जुरीनामा चाहिने भन्दै मञ्जुरीनामामा सही गर्न आग्रह गर्दा बस्नेतले इन्कार गरेका थिए । अस्पतालकाे नियम अनुसार मञ्जुरीनामामा सही नगरे भर्ना गर्न नसकिने भनेपछि एक्कासी उनले डाक्टरमाथि हातपात गरेका थिए ।
अस्पताल श्राेतका अनुसार मदिराकाे नशामा अस्पताल पुगेका बस्नेतले अस्पतालमा निकैबेर हाेहल्लासमेत गरेका थिए । अस्पतालमा अभिभावकीय भूमिका खेल्नु पर्ने वडा अध्यक्ष स्वयं मदिरा सेवन गरी अस्पतालमा गइ डाक्टरलाइ कुटपीट गर्ने र हताेत्साही बनाउन खाेजेकाे भन्दै अस्पतालका डाक्टर एवं स्वास्थ्यकर्मीहरूले बिराेध गरेका छन् ।
डाक्टरमाथि हातपात भए पछि अस्पतालका डाक्टर तथा स्वास्थ्यकर्मीहरूले असुरक्षा महशुस गरेका अस्पतालका अध्यक्ष हरिजंग तामाङले बताए । आफू काम बिशेषले काठमाडाैंमा रहेकाे र गएराती करीब ११ बजेतिर यसबारे जानकारी पाएकाे भन्दै उनले घटनाप्रति दुःख प्रकट गरे । उनले ड्युटीमा रहेकाे डाक्टरमाथि हातपात भएकाे भन्दै आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा अस्पतालकाे तर्फबाट जाेहरी दर्ता भएकाे बताए ।
यस विषयमा साेमबार दिउसाे जिल्ला प्रशासन कार्यालयमा पीडित र पीडक दुवै पक्षवीच छलफल गराइ मिलापत्र गराउने प्रयास भएकाेमा असफल भएपछि अस्पतालकाे तर्फबाट जाहेरी दर्ता भएकाे हाे ।
वडाध्यक्ष बस्नेतलाइ भने हिजै प्रहरीले पक्राउ गरेकाे थियाे । उनी बिरूद्ध स्वास्थ्यकर्मीकाे सुरक्षा सम्बन्धी ऐन अनुसार कारबाहीकाे माग अस्पतालले गरेकाे छ ।