५ लाख नहुँदा मुटुराेगी सबिना बसेलकाे उपचार हुन सकेन, सहयाेगकाे याचना

खबरकुञ्ज

बेसीशहर, पुस १४  । लमजुङको मस्र्याङदी गाउँपालिका वडा नं ५ निवासी सबिना बसेलको उपचारका लागि सहयोगको याचना गरिएको छ ।

मुटुरोगका कारण त्रिवि शिक्षण अस्पताल काठमाडौंमा उपचारका  लागि भर्ना भएकी बसेलको मुटुको दुवै भल्व फेर्नुपर्ने भएर उपचारमा धेरै पैसा लाग्ने भएकाले उनको परिवारले सहयोगको याचना गरेको हो । सबिनाका श्रीमान मंगले बसेलले बेसीशहरमा पत्रकारहरुसंग भेट गरी मुटुरोगबाट पिडित श्रीमतीको उपचारको लागि सहयोगको अपिल गरेका हुन् । 

२३ बर्षिया बसेललाई १० बर्ष अघिदेखि नै मुटुमा सामान्य समस्या देखिएको थियो । तर रोग बढ्दै गएपछि गत असोज देखि चितवनबाट शुरु भएको उनको उपचार काठमाडौंको मनमोहन मेमोरियल अस्पताल र गंगालाल हृदय केन्द्र हुँदै अहिले त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ । सबिनाका श्रीमान मंगलेले श्रीमतीको उपचारमा हालसम्म पाँच लाख भन्दा बढी रकम खर्च भईसकेको र अब थप उपचारका लागि आफूसंग पैसा नभएकाले सहयोगको याचना गर्नुपरेको बताए।

काठमाडौंमा बिरामी श्रीमतिलाई छोडेर उपचार खर्च जुटाउन घर  आएका मंगलेले आइतबार बेसीशहरमा पत्रकारहरुलाई भेटेर आफ्नो दुःख बिसाए। घरायसी आर्थिक अवस्था कमजोर रहेका बसेललाई अहिले श्रीमतिलाई कसरी बचाउने भन्ने चिन्ता छ। आफूसंग भएको रकम उपचारमा सकिएपछि गाउँघर र इष्टमित्रसंग सरसापटी गर्दा पनि उपचारमा रकम नपुगेपछि बाध्य भएर सहयोग माग्नु परेको दुःख उनले सुनाए ।

गाउँमा सामान्य मजदुरी गरी परिवार चलाउँदै आएका उनलाई यतिबेला श्रीमति बिरामी भइ थलिएपछि बज्रपात परेको छ। अस्पतालले सविनाको मुटुको दुवै भल्भ फेर्न पाँच लाख रुपैया लाग्ने जानकारी दिएकोले चिन्तामा परेका बसेलले सहयोग जुटाइदिन पत्रकारहरुसंग अनुरोध गरेका छन् । उनले भने– “मेरी श्रीमतिको उपचारका लागि सहयोग गरिदिनुस् तपाइँहरुलाई पुण्य मिल्नेछ ।”

अहिले सबिनाको उपचारका लागि सहयोग संकलन गर्न उनका आफन्तहरु बेसीशहर बजारमा घरदैलो गरीरहेका छन् । बेसीशहरका ब्यपारीहरुले कसैले ५÷१०, कसैले ५०÷१०० र कोही मनकारीहरुले त्यो भन्दा अलि धेरै सहयोग गरिरहेका छन् । तर यसले उनको उपचारका लागि चाहिने ५ लाखको जोहो हुने छाँट देखिएको छैन । त्यसैले सहयोगी मन, विभिन्न संघसंस्थाहरुले सहयोग गरिदिए उनको उपचार सम्भब हुने थियो ।

मस्र्याङदी गाउँपाालिकाको वडा नं. ५ खोरियाखेतका बसेल हाल सोही पालिकाको वडा नं. ८ बडागाउँस्थित ठूलोबुवाको घरमा वस्दै आएका छन् ।  उनको ६ वर्षिय छोरी समेत छन् । सविनाको उपचारमा सहयोग गर्न चाहनेले मंगले बसेलको हिमालयन बैंक लिमिटेडमा रहेको ११०२३०३९४०००१६ खाता नम्बरमा रकम जम्मा गर्न सकिन्छ ।

प्रतिक्रिया