त्रिवेणी कप फुटबलको खेलतालिका सार्वजनिक, लिग बिजेता क्लवहरू पनि खेल्ने

खबरकुञ्ज

बेसीशहर, पुस ६ गते । गण्डकी प्रदेशकै प्रतिष्ठित र सर्वाधिक पुरस्कार भएको त्रिवेणी कप फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ ।

यही पुस १२ गतेबाट लमजुङ सदरमुकाम बेसीशहरमा सञ्चालन हुने ३२ औं त्रिवेणी कप राष्ट्रब्यापी फुटबल प्रतियोगितामा यस बर्ष ए डिभिजनका थप चर्चित टीमले पनि सहभागिता जनाउने भएका छन् । 

सहिद स्मारक ए डिभिजन राष्ट्रिय लिग २०७६ र २०७८ को विजेता बनिसकेको मच्छिन्द्र क्लव, २०५२ को बिजेता एनआरटी र २०४२ को विजेता संकटासंगै विभागीय टीमहरु त्रिभुवन आर्मी क्लव र एपिएफ क्लव पनि यस बर्ष त्रिवेणी कपमा प्रतिस्पर्धा गर्दै छन् ।

अघिल्लो बर्ष क्वार्टर फाइनलमै पराजित भएको नेपाल प्रहरीको विभागीय टीम नेपाल प्रहरीले भने यस पटक सहभागिता नजनाउने भएको छ । 

त्रिवेणी युवा क्लव बेसीशहरका अध्यक्ष राजकुमार घिमिरेले यस बर्ष कूल १६ वटा टीमबीच उपाधिका लागि प्रतिस्पर्धा हुने जानकारी दिए । खेलको स्तर बढाउन यस पटक धेरै टीमको सहभागिता नगराइएको र पुरस्कार राशीमा बृद्धि गरी राष्ट्रिय रुपमा ख्यातिप्राप्त क्लवहरुलाई प्रतियोगितामा समावेश गराइएको उनले बताए ।


उनका अनुसार प्रतियोगितामा लमजुङ जिल्लालाई भने प्राथमिकता दिइएको छ । यस बर्ष आयोजक क्लवसहित लमजुङका ७ वटा टीम प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् । त्रिवेणी कपको ३१ औं श्रृंखला गत बर्ष लमजुङकै लालीगुराँस युवा क्लव भुजुङले जितेको थियो ।

यस बर्ष अभिषेक चर्च एफसी, टोखा भगवती एफसी, सामना एफसी, चामे युवा क्लव एफसी पनि प्रतिस्पर्धामा छन् ।

लमजुङबाट आयोजक त्रिवेणी एफसीसंगै सुन्दरबजार एफसी सुन्दरबजार, बुद्ध युवा क्लव (बीवाइसी) भोटेओडार, मस्र्याङदी युवा क्लव (बेसीशहर), ठडराई अधिकारी समाज (दिहीथोक), लाङदी देवी युवा क्लव नाल्मा र लालीगुराँस युवा क्लव भुजुङ प्रतियोगितामा सहभागी हुँदै छन् ।

प्रतियोगिताको विजेताले नगद १२ लाख, त्रिवेणी कप, स्वर्णपदक र प्रमाणपत्र पाउने छ । उपबिजेताले नगद ६ लाख ट्रफि, रजत पदक र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगितामा सेमीफाइनल पुग्ने दुई टीमले पनि नगद २÷२ लाख रुपैयाँ पुरस्कार पाउने अध्यक्ष घिमिरेले बताए ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार, स्वर्णपदक र प्रमाणपत्र, सर्वाधिक गोलकर्ताले २५ हजार, स्वर्णपदक र प्रमाणपत्र र अनुशासित टीमले ट्रफी र प्रमाणपत्र पाउने छन् ।

८४ लाख रुपैयाँको आय ब्ययको अनुमान गरिएको त्रिवेणी क्लवले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको क्लवले जानकारी दिएको छ । 

२०४९ सालमा स्थापना भएको त्रिवेणी क्लवले हरेक बर्ष पुस १२ गतेदेखि फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रथम पुरस्कार खसी र दोस्रो पुरस्कार कुखुराको भाले राखेर शुरु गरिएको प्रतियोगिता ३२ औं श्रृंखलासम्म पुग्दा गण्डकी प्रदेशकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता बन्न सफल हुनु सुखद पक्ष हाे ।

प्रतिक्रिया