सम्मान गर्न पुगेका जनप्रतिनिधि र कर्मचारीलाई हँसाएर पठाए रामे सार्कीले

खबरकुञ्ज

बेसीशहर, माघ १४ गते । उमेरले १०६ बर्ष पुगिसकेका गाउँशहरका रामे सार्की अझै पनि बलिया छन् । हाँसो ठट्टा उनको बानी नै हो । कोही उनलाई भेट्न गयो भने उनी ठट्यौला गफ गर्छन्, भेट्न जानेहरुलाई हँसाएर पठाउँछन् ।

हेर्दा उनी त्यति धेरै उमेर नपुगेका जस्तो देखिए पनि सरकारी कागजपत्रले उनी १०६ बर्ष नै पुगेका छन् । उमेरसंगै उनीसंग अनुभवको लामो फेहरिस्त छ । उहिले उहिलेका कुरा देखि वर्तमानसम्मका कुरा सुनाउँछन् उनी । फरासिला मिजासका उनलाई नचिन्ने वरपरमा कोही छैनन् ।

धेरै उमेर खाएका यी बुढा बा पुराना केही दाँत झरिसके । तर १०२ बर्षको उमेरमा फेरि उनका केही दाँँत पलाएका छन् । बुढ्यौली लागेसंगै धेरै बृद्धहरु रोगी हुन्छन् र ओछ्यानमा पर्छन् । तर रामे सार्की अझै तगडा छन् । घरको भित्रबाहिर गर्ने मात्र होइन, घरका सना तिना काम पनि गर्छन् । घरमा छोरा बुहारी र नाती नातिनालाई आर्ति बुद्धि दिन्छन्, काममा खटाउँछन् ।

जवानीमा निकै बलिया रहेका र दुई तीन जनाको काम एक्लै गरिदिने यी बृद्धको जोश देखेर जो कोही पनि आश्चर्यमा पर्छन् । यस्तै आश्चर्यमा परे बेसीशहर नगरपालिकाका उपमेयर पदमा गुरुङ र प्रमुख प्रशासकीय अधिकृत चेतनाथ अर्याल पनि ।

केही दिन अघि नगरपालिका भित्रका ९५ बर्ष उमेर कटेका ज्येष्ठ नागरिकहरुलाई घरमै पुगेर सम्मान गर्ने कार्यक्रम अनुसार नगरपालिकाको वडा नं. ३ बसौलागाउँ नजिकै रहेको रामे सार्कीको घरमा बेसीशहर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु पुगेका थिए ।

सम्मान गर्नुपूर्व उपमेयर गुरुङ, प्रमुख प्रशासकीय अधिकृत अर्याल, वडा अध्यक्ष चित्रबहादुर दनाई, नगरपालिकाका प्रवक्ता हिरालाल विश्वकर्मा लगायत जनप्रतिनिधि र कर्मचारीहरुले उनीसंग भलाकुसारी गरे । भलाकुसारीकै क्रममा रामे सार्कीको जोश देखेर उनीहरु दंग परे । 


अन्त्यमा उपमेयर गुरुङले उनलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै नगद ५ हजार रुपैयाँ प्रदान गर्दै तपाइँ अझै धेरै बाँच्नुस् है भन्दै दीर्घजीवनको शुभकामना दिइन् । उनले पैसा दिँदै यो पैसाले के के खान मन लाग्छ किनेर खानुस है भन्दा रामे सार्कीले जवाफ दिए– “खान त म अडकलेर खान्छु, खानलाई म खान्छु । खानि हो भनेर बल गरे त फेरि उसैले धकेलिदिन्छ नि ।”

बेसीशहर नगरपालिकाले रामे सार्की जस्तै नगरपालिका भित्रका ९५ वर्ष माथीका १८ जना ज्येष्ठ नागरिकहरुलाई घर घरमै पुगेर सम्मान गरेको छ ।

नगरपालिकाले गत पुस ११ गते नगरपालिकाभित्रका ज्येष्ठ नागरिकहरुलाई राम्रो हेरचाह गरी लालन पालन गर्ने उनीहरुका हेरचाहकर्ता सन्ततिहरुलाई सम्मान गरेको थियो । लगत्तै पालिकाभित्रका ९५ बर्ष पुरा गरेका १८ जना ज्येष्ठ नागरिकलाई नगरपालिकाले सम्मान गरेको हो ।

सम्मानित हुने अन्य ज्येष्ठ नागरिकमा वडा नंं १ का सुर्यप्रसाद पण्डित, वडा नंं २ का ओम नारायण श्रेष्ठ, वडा नंं ३ का देउमाया सार्की, वडा नंं ६ का धनबहादुर अधिकारी, पवित्री रिमाल, मिनबहादुर अधिकारी, वडा नं. ७ का अन्नपूर्ण खत्री, तिलकबहादुर पौडेल, सरस्वती अधिकारी, वडा नंं १० का कुश्मी गुरुङ, खडक बहादुर घिमिरे, धनजङ्ग गुरुङ, बमबहादुर घिमिरे, वडा नंं ११ का केशर कुमारी जोशी, खिलकुमारी पन्त, रत्नकुमारी तिवारी र लिलाकुमारी थापा छन् ।


सम्मानित ज्येष्ठ नागरिक मध्ये हाल काठमाडौंमा बसोबास गरिरहेका केशर कुमारी जोशी र रत्नकुमारी तिवारीलाई काठमाडौंमै पुगेर सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत चेतनाथ अर्यालले जानकारी दिए ।

नगरपालिकाले गत पुस ११ गते नगर क्षेत्रमा ज्येष्ठ नागरिकको राम्रो हेरचाह गर्ने सम्बन्धित परिवारका हेरचाहकर्तालाई समेत एक औपचारिक कार्यक्रम गरी सम्मान गरेको थियो । 


प्रतिक्रिया