विवादका बीच नेकपा एमाले मध्यनेपाल नगरकमिटिको नगर अधिबेशन सम्पन्न

भोर्लेटार, बैशाख १५ गते । विवादका बीच नेकपा एमाले मध्यनेपाल नगरकमिटिको नगर अधिबेशन सम्पन्न भएको छ । 

सर्वसम्मतिको नाममा नेताहरुले आफ्नो निर्णय कार्यकर्ताहरुलाई लादेको भन्दै अधिवेशनमा बिबाद उत्पन्न भए पनि नेताहरूकाे निर्देशन र अध्यक्ष मण्डलको जोडबलमा नयाँ नगर कमिटीको घोषणा भएको छ । नगर कमिटीको अध्यक्षमा सुमन श्रेष्ठलाई चयन गरिएको छ ।

नेकपा एमालेका उपमहासचिव एवं प्रतिनिधि सभा सदस्य पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यमा भएको अधिवेसन शुक्रबार मध्यराती सम्पन्न भएको हो । बैशाख १४ र १५ गतेका तय भएको नगर अधिवेशन अन्ततः सर्वसम्मतको नाममा मध्यरातमा टुंग्याइएपछि विवाद उत्पन्न भएको हो । नगर अधिवेशनका प्रतिनिधिहरुले नयाँ नगर कमिटी निर्वाचनबाट चयन गर्नुपर्ने माग राखे पनि अधिवेशनमा नेताहरुले कार्यकर्ताहरुको भावना विपरित जबर्जस्ती सर्वसम्मति गराएका र आफ्नै मान्छेलाई नेतृत्व दिएको भन्दै कार्यकर्ताहरुले अधिवेशन स्थलमा होहल्ला गरेका थिए ।

कार्यकर्ताहरुको भावना विपरित सर्वसम्मति भन्दै जबर्जस्ती नगर कमिटी घोषणा गरिएपछि कार्यकर्ताहरुले नेतृत्वका विरुद्ध नाराबाजी समेत गरेका थिए ।

प्राप्त जानकारी अनुसार नगर कमिटीको नेतृत्वका लागि पूर्व अध्यक्ष सुर्य गुरुङ, नारायण कुँवर र सुमन श्रेष्ठ आकांक्षी थिए । उनीहरुबीच सर्बसम्मतिको प्रयाससमेत भएको थियो । तर सहमति जुट्न सकेन । छलफलबाट सर्बसम्मत हुने अवस्था नभएपछि निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्नुपर्ने नगर अधिवेशनका प्रतिनिधिहरुले माग गरेका थिए । तर पालिका ईन्चार्ज जमीन्द्रमान घले लगायतका नेताहरुले कार्यकर्ताहरुको भावना विपरित सुमन श्रेष्ठको अध्यक्षतामा नगर कमिटी घोषणा गरेपछि कार्यकर्ताहरु आक्रोसित भई नेतृत्व विरुद्ध नै नाराबाजी गरेका थिए ।

नेताहरुले सर्बसम्मत नेतृत्व चयन गरिएको भन्दै नयाँ नगर कमिटीको नाम सुनाउँदा र नयाँ निर्वाचित कमिटीका पदाधिकारीले सपथ खाँदै गर्दा हलमा कार्यकर्ताहरु कोही पनि नभएको बताइएको छ । विरोधमा बाहिर कार्यकर्ताहरुले नाराबाजी र होहल्ला गरिरहेका थिए ।

नेताहरुले कार्यकर्ताको भावना अनुसार चल्नुपर्नेमा मनोमानी गरि टिके प्रथाको शुरुवात गरेको भन्दै उपस्थित नगर अधिवेशनका प्रतिनिधिहरुले नेतृत्वका आलोचना गरेका छन् । उनीहरुले नवयसबाट पार्टी संगठनमा गम्भीर धक्का लाग्ने चेतावनीसमेत दिएका छन् । 

२०७९ को स्थानीय निर्वाचनमा समेत घलेले टिकट वितरणमा चलखेल गरेको पश्चिम लमजुङका एमाले कार्यकर्ताको गुनासो छ । शालीन, गुणी, असल भनिने उनको मिठो बोल्ने बानी छ तर उनी संगठनमा भने सफल नभएको कार्यकर्ताको आरोप छ । 

गएको मध्यराती नयाँ चयन भएका भनिएका पदाधिकारीहरुको सपथ चलिरहँदा बाहिर प्रतिनिधिहरु भने पार्टी भित्र गुटवन्दी मौलाइरहेको अवस्थामा अध्यक्ष मण्डललेसमेत पालिका ईन्चार्ज घले र उपमहासचिव गुरुङको निर्देशनमा गल्ती गरेको भनेको सुनिदै थियो ।

नगर अधिवेशनबाट अध्यक्षमा सुमन श्रेष्ठ, उपाध्यक्षमा विश्वनाथ भुसाल, सचिवमा रामकृष्ण  पोखरेल, उपसचिवमा सवला नेपाली र सुदिप पौडेल चयन भएको बताइएको छ । ३३ सदस्यीय नगरकमिटीका सदस्यहरुमा भद्रबहादुर कुँवर, अर्जुनुकुमार श्रेष्ठ, बासुदेव घिमिरे, सुर्यबहादुर नेपाली, सुर्यबहादुर साँखी, तेजबहादुर तामाङ, जीतबहादुर विक, लक्ष्मी घिमिरे, पार्वती नेपाली,, अनिलकुमार रानाभाट, रामचन्द्र थापा, सुशिला घिमिरे, तारादेवी गुरुङ, जयश कुँवर, भरत गिरी, जातीमाया नेपाली, चित्रबहादुर राना, रामबहादुर विक, चित्रबहादुर राना, रत्न भुजेल, मोहन बहादुर गुरुङ, कूल बहादुर गुरुङ, सरिता नेपाली, रामकृष्ण कुँवर, रामशरण पोखरेल, मनिषा वि.क. जमुना थापा खत्री, शेरबहादुर भण्डारी र राजेन्द्र खत्री चयन भएका छन् ।

प्रतिक्रिया