वडा तहको समितिको लागि रास्वपाकाे निर्वाचन तालिका सार्वजनिक

बेसीशहर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वडा तहको समितिको लागि कात्तिक १० देखि १६ सम्म निर्वाचन तालिका सार्वजनिक गरेकाे छ ।

रास्वपाले मंगलबार एक सूचना जारी गर्दै वडा तहकाे कार्यसमितिमा चयन हुनेहरुको नामावली कात्तिक २० गते सार्वजनिक गरिने जनाएको हाे । बिधान अनुसार रास्वपाको वडा समितिमा ११ सदस्यीय रहने व्यवस्था छ । सभापति, उपसभापति, सचिव सहित सबै सदस्य निर्वाचित हुनुपर्ने र ११ जनामा एक जना दलित र ४ जना महिला काेटा अारक्षित छ । समितिमा ४५ वर्षुमनि उमेर समूहका ६ जना निर्वाचित हुने बिधानमा ब्यवस्था छ ।


रास्वपाले वडा तहको समितिका लागि समेत अनलाइनबाट उम्मेदवारी दिनुपर्ने व्यवस्था गर्दै असोज २ देखि २० सम्म उम्मेदवार दर्ताका लागि आह्वान गरेको छ । उम्मेदवार हुनका लागि १०० रुपैयाँ शुल्क तोकिएको छ । वडा समिति गठनका लागि आजदेखि वडा तहको भेला रोकिएको सह महामन्त्री एवं संगठन बिभागका प्रमुख कबिन्द्र बुर्लाकाेटीले जानकारी दिए।

यहि भाद्र ३१ गते सम्म भेला मार्फत समिति गठन भएका वडाहरुको असोज २० गतेसम्म केन्द्रीय वेभसाईटमा अद्यावधिक गर्न सकिने रास्वपाले जनाएकाे छ । उम्मेदवार उपर दावि विरोध पेश गर्ने समयावधिमा २० गते सम्म अद्यावधिक भएका वडाहरुमा परेको उम्मेदवारी रद्ध गरी उम्मेदवारी शुल्क समेत फिर्ता गरिने र यस्तो हकमा योग्य उम्मेदवारहरुलाई पार्टीको अन्य जिम्मेवारीको लागि तयारी गरिने रास्वपाले जनाएकाे छ ।

तालिका अनुसार उम्मेदवार नामावली प्रकाशन असोज २१ गते देखि कार्तिक ९ गते सम्म हुनेछ, रित पूर्वक परेको उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन पछि उम्मेदवारहरु उपर दावि विरोध दिन सकिने छ । दावि विरोधको छानविन र अन्तिम नामावली प्रकाशन, निर्वाचन कार्तिक १० गते देखि १६ गते सम्म हुने छ । निर्वाचन परिणाम प्रकाशन कार्तिक २० गते गरिनेछ ।

प्रतिक्रिया