काठमाडौं, जेठ १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सांसद रवि लामिछानेको पद खारेजीको माग सहित सर्वाेच्च अदालतमा पुनः रिट निवेदन परेकाे छ ।
युवराज पौडेल सफलले लामिछानेको प्रतिनिधिसभा सदस्य पद खारेज गरिपाउँ भनि बुधवार सर्बाेच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् ।
रिटमा लामिछानेको प्रतिनिधिसभा सदस्य पद खारेज गर्ने आदेशको दिन माग गरिएको छ । रिट निवेदनमा पाैडेलले "विपक्षी रवि लामिछानेले सर्वोच्च अदालतको मिति २०७९/१०/१३ गतेको आदेशले कायम नरहेको भनि घोषित नागरिकताको प्रतिलिपि लिएर उपनिर्वाचनमा भाग लिएका हुँदा कायम नभएको नागरिकताको प्रतिलिपि वैध हुन् र नेपाली नागरिकता कायम हुन् वा पुनः प्राप्त भएको मान्न नसकिने भएकाले नेपालको संविधानको धारा ८७(१) (क) र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२(क) ले तोकेको योग्यता नपुगेको हुँदा उत्प्रेषणको आदेशले लामिछानेको प्रतिनिधिसभा सदस्यको पद र सोसँग सम्बन्धित उम्मेदवारी एव निर्णय लगायतका सम्पूर्ण कार्यहरू खारेज गरी पाउँ" भनि माग गरेका छन् ।
उनले रिट निवेदनमा लामिछानेले अमेरिकी नागरिकता त्याग गरिसकेको भन्ने प्रमाणित निस्सा पेस गर्न नसकेको पनि जिकिर गरेका छन् ।
रिटमा लामिछानेसँगै निर्वाचन आयोग, जिल्ला प्रशासन कार्यालय काठमाडौं, प्रतिनिधिसभा, काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यलाई विपक्षी बनाइएको छ ।
यो रिट निवेदन वैशाख २५ गते नै सर्वोच्च अदालतमा पेस भएकोमा सर्वोच्चका रजिष्ट्रारले दरपीठ गरिदएका थिए ।
यस विरूद्ध पौडेलले पुन जेठ २ मा इजलासमा नै निवेदन पेस गरेका थिए । उक्त दरपीठको आदेशलाई सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठले बदर गरी रिट दर्ता गर्न आदेश दिए पछि रिट बुधवार दर्ता भएकाे हाे ।