चामे । हिमाली जिल्ला मनाङमा पनि गाइ गाेरूमा लाग्ने लम्पी स्किन राेगकाे प्रकाेप देखिएकाे छ । याेसंगै याे राेग नेपालका सबै जिल्लामा फैलिएकाे पुष्टि भएकाे हाे ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङका अनुसार मनाङकाे चामे गाउँपालिका वडा नंं २ थानचाेकमा पालिएकाे गाेरूमा याे राेग देखिएकाे छ । केन्द्रका प्रमुख पशु चिकित्सक नारायण कुसुमले गोरु बिरामी भएको खबर अाएपछि उपचार गर्न जाँदा गोरुमा लम्पी स्किन रोगको लक्षण देखिएको बताए । गोरुलाई १ सय ४ डिग्रीको ज्वरो आएको रहेछ । गोरुको छालामा स–सानादेखि ठूलासम्म पूरै गिर्खा देखिएकाे र घाँस पनि कम खाएकाे उनले जानकारी दिए ।
याेसंगै केन्द्रले चामे र नासाें गाउँपालिकामा मंगलबारबाट याे रोग विरुद्धको खोप लगाउन सुरु गरेको छ । मनाङमा २ हजार डोज लम्पी स्किन रोग विरुद्धको खोप ल्याएको कुसुमले बताए ।
राेग नियन्त्रणका लागि भेटेरिनरी अस्पतालले गत असार २७ गते स्थानीय तहका प्राविधिक संग छलफल गरेर कार्ययोजना वनाइ सकिएको जनाएकाे छ । कुसुमले छिटो भन्दा छिटो सेवा प्रवाह गर्न सवै प्राविधिक साथीहरुमा अपिल गरिएकाे र कृषकहरूले लम्पी स्किन रोग विरुद्द खोप लगाउन आ आफ्नो स्थानीय तहका प्राविधिहरुलाइ तुरुन्त खवर गर्न अनुराेध गरेका छन् ।
16 Jul 2023