नैतिकताकाे तुलाेमा ताैलिन म तयार छु, कहाँ गएर ताैलिनु पर्ने हाे पहाडीजी ?

मिलन शर्मा दनाई

बेसीशहर । अन्तरंगन्यूजडटकमको लेख/समाचारका बारेमा लेख्दैछु । गत माघ ३ गते नवराज पहाडीले पुनः कालिका बचत तथा ऋण सहकारी संस्था(साकोस)को ठगी काण्डका नायकहरू विषयान्तर गरेर उम्कने धृष्टतामा जुटेको खुलासा भनेर लेखेछन् ।

समाचारमा साकोसका पीडकहरू भनेर कृष्ण केसी र मसमेतलाई भनिएको रहेछ । अनि आफू जस्तो कर्तब्यनिष्ट पत्रकार माथि खनिएको भनेर प्रस्तुत पनि गरेका रहेछन् । उनी कति कर्तब्यनिष्ट छन त्यो त विस्तारै खुल्दै जाला । उनको कर्तब्यनिष्ट पत्रकारिताका केही नमूना मसंग सुरक्षित छन्, समय आएपछि आम पाठकलाई प्रस्तुत गर्ने नै छु । 

समाचारमा विषयान्तर गरी ‘घुडाको मल्हम नाइटोमा लगाई’ गरे झैं मानिसहरूका ध्यान अन्यत्र मोड्ने धृष्टतापूर्ण चालबाजी केही पीडकहरूबाट सुरु भएको छ । यसबाट उक्त सहकारी ठगीको जालो अझै झ्यांगिन सक्ने समेत प्रष्ट हुन आएको समेत भनेछन् । मेराे विषयमा एक समाचार र एक फेसबुक स्टाटस लेखेर त्यस्तो दुस्साहस गरियो पनि भनियो ।

राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख समेतका बिरोधमा बेलाबेला समाचार आइरहेका हुन्छन्, तर राष्ट्रप्रमुख, सरकार प्रमुख वा न्यायापालिकाको प्रमुखले कहिल्यै आफू विरुद्ध समाचार आएकोमा वा सामाजिक सञ्जालमा कुरा आउँदा आफूविरुद्ध समाचार वा स्टाटस लेखेर दुस्साहस गरियो भनेको सुनिएको छैन, तर एउटा सामान्य पत्रकारले गलत गरेको कुरा समाचार बनाउनु वा फेसबुकमा लेखिए भन्दै आफू विरुद्ध लेख्ने दुस्साहस गरियो भन्नु आफैमा बिडम्बना त हुँदै हो, आफूजस्तो ठूलो ठालु, जान्ने सुन्ने र निष्कलङ्क ब्यक्ति कोही छैन र म विरुद्ध कसैले केही भन्नै हुन्न, लेख्नै हुन्न भन्ने भ्रम पाल्नु मात्र हो ।

फेसबुकमा त फलानाले बहुविवाह गर्‍यो भनेर पनि लेखिएको थिएन । तर चोरको खुट्टो काट भन्दा चोरले आफू खुट्टो तानेझै नवराज पहाडीले मेरो दाम्पत्य जीवन यसरी दुर्घटनामा परेको हो भनेर लाचारी ब्यक्त गर्नुको अर्थ के ? अनि फेरि “त्यसबारे डाह हुनेले बहुविवाहमा जाक्न किन नसक्या ? जाकेर हेरे भो नि ।” भनेर कानुनी राज्यलाइ समेत खुल्लम खुल्ला हाँक दिन कसरी सकेको ? यो सरासर जगहसाइँ गर्न कसरी सकेको ? पहाडीले बहुविवाह गरेकोमा डाह गर्नेचाहिँ को होला फेरि ?

पत्रकार समाजको पथ प्रदर्शक पनि हो । समाजमा हुने राम्रा नराम्रा कुरा उजागर गर्नु उसको कर्तब्य हो । तर त्यही पत्रकार कानुनले बर्जित गरेको काम गर्ने अनि नैतिकताको तुलामा तौलिन तयार छु भन्दै सार्वजनिक हाँक दिन्छ भने त्यस्ताको नैतिकता आफै छर्लंग हुन्छ । मत भन्छु, मसंग तौलिने हो भने तयार भए हुन्छ । कहाँ गएर तौलिनु पर्ने हो म तयार छु । आफै कानुनले अपराध भनि परिभाषित गरेको गल्ती गर्ने, अझ भनौं फौज्दारी अपराध गर्ने अनि गर्वका साथ सके बहुविवाहमा जाक भनेर हाँक दिनु कानुनी राज्यको खिल्ली उडाएको होइन ? नेपालको कानुनले कस्तो अवस्थामा बहुविवाह गर्न छुट दिएकोे छ भन्ने कुरा धेरैलाई थाह छ । अनि छोराछोरीको संख्या यति उति भनेर कोही बहुविवाहको अपराधबाट मुक्ति पाउँछु भन्ने सोच्छ भने त्यो मूर्खता हो ?

अनि कमिसन पत्रकार’को विल्ला भिर्न रमाउनेहरू भनेको कसलाई हो ? कसले कहाँबाट के कति कमिसन खायो ? यदि मैले कतैबाट कमिसन खाएको भए देखाउँदा हुन्छ, म खुशी हुनेछु । यो मेरो चुनौति पनि हो । प्रायोजित पत्रकारिता कसले गरेको छ, भन्ने पनि पाठकहरुले विस्तारै बुझ्दै जानेछन् ।

म कालिका सहकारीकाे जिम्मेवार सदस्य हाे । नवराज पहाडीले कालिकाको समाचार लेखेकोमा मेरो किञ्चित आपत्ती छैन । अझै लेखुन् । तर मेरो मान्यता समाचार लेख्दा कसैको ब्यक्तिगत चरित्रहत्या गर्न हुँदैन भन्ने हो । कसैलाई पनि उसले नगरेको अपराध गर्‍यो भनेर जबर्जस्ती भिराउन कसैले पाउँदैन । कसैलाई ठग, अपराधी, टाउके, असनका साँढे आदि ईत्यादि उपनाम दिने अधिकार पहाडीलाई कसले दियो ?

हो, कालिका सहकारीको एक सञ्चालक समेत भएको नाताले कालिकाभित्रको समस्याको नैतिक जिम्मेवारी मैले लिने गरेको छु, लिनुपर्छ पनि । समस्याबाट कहिल्यै भागको छैन म । सहकारीमा समस्या आयो, समाधान खोज्ने प्रयास पनि गरेको हो । केही सफलता हात लागे पनि, पुरै सफलता पाउन विभिन्न कारण सकिएन । सहकारीका बचतकर्ताको बचत हिनामिनामा मेरो संलग्नता रहे नरहेको बारे मुद्दा सम्मानित अदालतमा विचाराधीन छ, अदालतले निक्र्यौल गर्ला । तर अदालत भन्दा चारकदम अघि सरेर नवराज पहाडी होस् वा अरु कोही नै, कसैले पनि कसैलाई अपराधी भन्ने छुट पाउँदैन । दोषी करार गर्ने अदालतले मात्रै हो । यति सामान्य कुरा पनि थाह छैन भने पेशा छोडिदिए हुन्छ ।


भएका घटनाक्रमको समाचार लेख्नु एउटा कुरा, तर हुँदै नभएका कुरामा आफ्ना विचार लादेर समाचार बनाउन हुँदैन । तर पहाडी यही गरिरहेछन् । अरुलाई पत्रकारिताको आदर्श, मर्म र धर्म सम्झाउने धृष्टता गर्नेले आफूले पहिला सम्झनु पर्ने होइन ? अरुलाई पैसा विना सिन्को नभाच्नेहरु भनेर भन्नु नै कागले आफ्नो नाम आफै काढ्छ भन्ने कुरा प्रमाणित हुनु होइन र ?

यो पंक्तिकारले पहाडीलाई दिएको सापटी पैसा फिर्ता मागेको सन्दर्भमा “मिलन दनाईको बर्बराहट” भनेर लेखे उनले । मलाई यस अर्थमा खुशी लागेको छ कि धन्न सञ्चारमाध्यममै भए पनि मसंग २० हजार सापटी लिएको स्वीकार गरे उनले । नत्र त मैले मेरो पैसा डुब्यो नै भनेको थिएँ । उनलाई पैसा दिएको मैले यो २० हजार रुपैयाँको चर्चा सञ्चारमाध्यममा गरिराख्नु थिएन । तिरेनछन् भने पनि केही छैन भन्ने लागेको थियो । उनैले लेखेर बाहिर ल्याएपछि लेख्नै पर्‍यो, भन्नै पर्‍यो । 

करीब २ बर्ष भयो पहाडीले त्यो सापटी लगेको । उनले त्यतिबेला मसंग पत्रिकाको भ्याट तिर्न पैसा भएन, सहकारीबाट पनि पैसा पाइएन, मलाई गाह्रो पर्‍यो के गर्ने होला भनेका थिए । म पनि पत्रिका सञ्चालन गर्ने भएकाले उनलाई परेको अप्ठेरोमा सहयोग गर्नुपर्छ भन्ने ठानेर सनराइज बैंकमा रहेको मेरो पत्रिका लमजुङ आवाजको खाताबाट झिकेर तत्काल २० हजार रुपैयाँ उनलाई मैले सापटी दिए । त्यो पनि बाणिज्य बैंकसम्मै पुगेर । बैंकमा मैले पत्रिकाको खाताबाट झिकेर ल्याएको हो, प्रेसमा तिर्नेबेला दिनुहोला भनेको थिएँ । उनले पत्रिकाको पैसा आएपछि फिर्ता गर्छु भनेका पनि थिए । झण्डै डेढ बर्षसम्म दिएनन् । पछि कालिकाबाट बचत फिर्ता पाएपछि दिन्छु भने । केही समय पछि उनले बचत फिर्ता पाइसकेको कुरा थाह पाएपछि फेरि मागें, तर दिएनन् उनले । अहिले कालिका सहकारीको शेयर फिर्ता नभई दिन्न भन्छन् । त्यसो भन्न मिल्छ ? कालिका सहकारी मेरो ब्यक्तिगत सम्पति हो ? कालिकामा उनी पनि स्वयं शेयर सदस्य छन् । म पनि शेयर सदस्य हो । कालिकामा रहेको उनको शेयर फिर्ता दिने दायित्व मेरो हो र ? उनले सहकारीमा राखेको शेयरको रकमको बदलामा मैले सापटी दिएको रकम माया मारि दिनु पर्ने हो ? अहिले उनी लाज पचाएर सञ्चारमाध्यममै मैले सहकारीबाट पाउन पर्ने रकम नलिई त्यो पैसो फिर्ता गर्न नैतिकताको यो चरम खडेरीको बेलामा कति मनासिब होला भन्दै ४- ६ जना भलादमीले बोल्नु होस् भन्दैछन् । भलाद्मी खोज्ने जिम्मा उनलाई नै दिएँ मैले । खोजुन्, भलाद्मीले के भन्छन् म पनि मान्दिउँला ।



तर मलाई अचम्म लागेको कुरा के भने कुनै दिन कोही ब्यक्ति कुनै पदमा थियो भन्दैमा सधैं त्यही पदमा हुन्छ ? अपवाद बाहेक कुनै पनि संघसंस्थामा कुनै पनि पदमा कोही ब्यक्ति सधै बहाल हुँदैन । समयक्रम अनुसार परिवर्तन भइरहन्छ । कालिकामा पनि त्यही भएको हो । कुनै समय म कोषाध्यक्ष थिएँ, आज अर्कै ब्यक्ति छ । तर नवराज पहाडीलाई अझै पनि म नै कोषाध्यक्ष भनेर देखाउनु पर्ने कारण चाहिँ के रहेछ ? अहिले कालिकाको कोषाध्यक्ष विनिता अधिकारी घिमिरे हुन् । तर पहाडी भन्छन् उनले पद स्वीकार गरेकी छैनन् रे । कोषाध्यक्ष भनेर माइन्युटमा सही गर्ने, त्यसकै आधारमा जिल्ला अदालतमा मुद्दासमेत झेल्दैछन् उनी । भलै उनी अहिलेसम्म फरार छिन् । तर नवराज पहाडीले बिनिता कोषाध्यक्ष होइन भनेर प्रमाणित गर्न खोज्नुमा के स्वार्थ लुकेको छ भन्या ? म प्रष्ट छु, त्यसभित्र केही न केही पक्कै छ ।

अनि नवराज पहाडीले स्वीकार गरेकै अर्को पाटो बारे पनि के नलेख्नु र ? उनले आफ्नो र आफू अध्यक्ष रहेको ठाडोभाका लोककला प्रतिष्ठान नेपालको गरी २ लाख रुपैयाँको बचत सहकारीमा राखेको स्वीकार गरेका छन् । संस्थाको रकम बैंकमा चल्ती खाता खोलेर राख्नुपर्छ । संस्थाको रकम लगेर आफ्नो नीजि खातामा जम्मा गर्ने र सो रकमबाट आफूले ब्याज खान पाइन्छ ? कानुनले दिन्छ यस्तो गर्न ? यसको जवाफ नवराज पहाडीलेचाहिँ कसैलाई दिनु नपर्ने ? नैतिकताको तुलोमा तौलिन नपर्ने ?

उनले कालिका साकोसको गतिविधिका बारेमा जान्ने जो कोहीले पनि छातीमा हात राखेर भन्दा हुन्छ कि ठगीको त्यो हरकत गर्नेमा आधा दर्जन हाराहारीका व्यक्तिभन्दा बढी संख्या छैन, तर जो डामिनु नपर्ने हो, डामिन पर्ने वालाहरूले चलखेल गरे, आफ्ना मान्छे प्रयोग गरे, प्रहरीलाई मन्तरे र चलाखीपूर्वक अन्य २६, २७ जनालाई डाम्ने काम गरियो, भनेका रहेछन् यसको पनि उनीसंग जवाफ माग्नुछ मलाई । कालिका सहकारी विरुद्ध मुुद्दा दायर गर्नेहरु मध्ये अधिकांशलाई म चिन्दिन । कसले कसका विरुद्ध जाहेरी दियो भन्नु भन्दा पनि जाहेरीमा जसजसलाई विपक्षी बनाइयो, ती नाम सहकारी सम्बद्ध होइनन् भने फरक कुरा, तर हुन् भने पहाडीले बर्बराउनुको तुक छैन । को अपराधी हो, को निरपराधी हो भनेर छुट्टाउने नवराज पहाडीले हो ? कहाँको न्यायाधीश हुन उनी ? अदालतमा मुद्दा चलेको छ, कोही निर्दोष रहेछ भने अदालतले न्याय देला, दोषी रहेछ भने सजाय देला । तर नवराज पहाडीले कसैलाई दोषी देख्नु, कसैलाई निर्दोष देख्नु उनको दृष्टिको दोष हो अन्यथा होइन ।

मृगेन्द्र घिमिरे कालिकाको संस्थापक अध्यक्ष होइनन् र कालिका डुब्नुमा उनी मात्र दोषी पनि छैनन् भन्न पनि भ्याए पहाडीले । त्यसो भए कालिका सहकारीको संस्थापक अध्यक्ष को रहेछ त पहाडीले तोकिदिए हुने नि ? एकीकरण पछि उनी जिम्मेवार पदमा पनि रहेनन्/दिइएन । यो चाहिँ सत्य हो । तर अहिले जिम्मेवारीमा नरहेकै कारण पुरानो जिम्मेवारीबाट भाग्न पाउँछ कसैले ? उनले विगतमा के के मात्र गरेनन् ? कालिका सहकारीको समाचार लेख्दा आफैले लेखेको कुरा अहिले उनले कसरी बिर्से ? किन बिर्से ? भनिरहनु पर्ला र ?

मिलन दनाईले ‘मृगेन्द्रको ३० लाख धरौटी बारेमा पनि मौन रहेको’ भन्ने उल्लेख गरेछन् फेरि । मौन रहेको भनेको होइन, गौण बनाएको भनेको हो, समाचार फेरि हेर्दा प्रस्टै हुन्छ । अब पीतपत्रकारिता भित्र के पर्छ के पर्दैन भन्ने कुरा कसैले मपाइँ भन्नै पर्दैन, विज्ञ पाठकले छुट्याइहाल्छन् नि ! नवराज पहाडीको चरित्र नबुझ्ने लमजुङमा शायदै कोही होला । नबुझ्नेहरुले अब विस्तारै बुझ्दै जान्छन् ।

कालिका साकोसका हर्ताकर्तानै उनीहरू हो भनेर केही सिमित ब्यक्तिलाई मात्र तोक्छन् पनि उनी । यति भनेपछि दोष जति यिनकै हो, ठग यिनै हुन् भन्ने प्रमाणित गर्न खोजेको होला, ठिकै छ, प्रमाणित गरेर देखाए भयो नि । जहाँसम्म फेसबुक म्यासेजको कुरा छ, त्यो त मसंग पनि सुरक्षित छ, भोलि कतै देखाउन पो पर्छ कि ? पहाडीले घर घर गएर मान्छे उचालेको प्रष्टै छ, को कोसंग के के भनेर उचाल्यौ प्रष्टै छ । कोही त प्रहरी कार्यालय पुगेर फर्केका पनि हुन्, पाँच सय हाराहारीको गफ किन दिन पर्‍यो ? पाँचै हजारलाई उचाले भैगो नि ।

पहाडीले भनेझैं साकोस चार करोड मुनाफा छ भन्ने भ्रम छरेको चाहिँ कसले रहेछ ? संस्था नाफामा भएको भए किन कसैका अमिला बचन सुनिरहन पथ्र्यो र ? सहकारीको ऋण असुल भैदिए संस्थाले बचत फिर्ता गर्न सक्छ, उल्टै नाफा हुन्छ भनिएको हो, न मैले म निर्दोष छु वा परिवन्दमा परें भनेर कोकोहोलो हालेको छु । हो, असल भावले संस्थामा बसियो तर संस्थामा समस्या आयो । यदि मेरै कारणले कुनै संस्थामा समस्या आएको हो भनेर कसैले प्रमाणित गर्छ भने सहजै म सजाय भोग्न तयार छु । छ पहाडीसंग त्यो प्रमाणित गर्ने ल्याकत ? छ हिम्मत ? प्रमाण पनि छन् कि ? छन् भने जाकिदिँदा बेस हुन्छ ताकि भोलि सिंगौरी खेल्ने मान्छे बाँकी नरहोस् । तर ख्याल राख, कोही ब्यक्ति कुनै संस्थामा रहँदैमा र त्यो संस्थामा समस्या आउँदैमा संस्थामा आवद्ध हरेक ब्यक्ति दोषी हुँदैन । 

आफ्नो आङको भैंसी नदेख्ने तर अर्काको आङकको जुम्र्रा खोज्ने प्रवृत्तीले कस्को कति हित गर्छ, त्यो त भोलिका दिनमा पक्कै देखिने छन् । म वा मजस्तै कोही अन्य यो समाजमा भएकै कारण नवराज पहाडीको हैसियत उचो भएको हो वा हामी जस्ताले उनको भर्‍याङको खुड्किलो बनिदिएका हौं भने ठिकै छ हाम्रो टाउकोमा टेकेर कतिसम्म उचाइमा पुग्दा रहेछन् उनी हामी पनि हेरौंला । अन्यथा हामीले धानेको भर्‍याङ छोडिदिएपछि के के हुँदो रहेछ, हेर्दै जाउँ न त ! अन्त्यमा उनी हाम्रो खुड्किलो चढ्दै जाउन, नलडुन्, शुभकामना ।

प्रतिक्रिया