काठमाडौं । सरकारले ल्याउन लागेकाे प्रस्तावित शिक्षा सम्बन्धी विधेयककाे विराेधमा निजी विद्यालयहरुले शुरू गरेकाे आन्दोलन फिर्ता भएकाे छ । शुक्रबार सरकारसँग भएको छलफलमानीजि विद्यालय सञ्चालकहरुले राखेको माग सम्बोधन हुने प्रतिवद्धता भएपछि आन्दोलन स्थगन भएकाे हाे ।
प्याब्सनका अध्यक्ष डि के ढुंगानाका अनुसार नीजि विद्यालय सञ्चालकहरूकाे मागलाइ सरकारले गम्भीरता पूर्वक लिएर माग सम्बोधन गर्ने र त्यसमा आवश्यक छलफल गर्ने भन्ने आश्वासन दिएपछि आन्दोलन स्थगित भएकाे हाे ।
सरकारले नीजि तथा संस्थागत विद्यालयहरुलाई ५ वर्षभित्र गुठीमा रुपान्तरण र दायित्व फरफारकको विषयलाई समावेश गरी नयाँ शिक्षा नीति ल्याउन विधेयक ल्याएकाे थियाे । जस अनुसार हाल कम्पनी ऐन अनुसार सञ्चालित विद्यालयहरुलाई ५ वर्षभित्र गुठीमा रुपान्तरण गरी दायित्व फरफारक गर्नु पर्ने थियाे ।
यस बिषयमा निजी शैक्षिक संस्थाका प्याब्सन, एन प्याब्सन र हिसानले विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै आन्दोलन शुरू गरेका थिए । आन्दोलन स्वरूप निजी शैक्षिक संस्था सञ्चालकहरुले शनिबारदेखि विद्यालय बन्दकाेघोषणा समेत गरेका थिए ।