बेसीशहर, असोज ७ गते । भूगोलविद् स्व. डा. हर्क गुरुङलाई जन्मथलो लमजुङमा स्मरण गरिएको छ । उनको १८ औं स्मृति दिवसका अवसरमा उनको समाधिस्थल मस्र्याङदी गाउँपालिकाको वडा नं. ७ ताङलीचोक र बेसीशहरमा उनको सम्झना गरिएको हो ।
डा. हर्क गुरुङ स्मृति प्रतिष्ठानले उनको समाधिस्थल ताङ्लीचोकमा उनको शालिकमा माल्यार्पण गरेर सम्झिएका छन् । बेसीशहरमा तमु ह्युल छोंज धिंको कार्यालय परिसरमा रहेको उनको शालिकमा माल्यार्पण गरिएको हो ।

ताङलीचोकमा आयोजित कार्यक्रममा स्थानीयसहित मस्र्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले स्व गुरुङको प्रतिमामा माल्यार्पण गरेका थिए । सो अवसरमा अध्यक्ष गुरुङले स्व. डा. हर्क गुरुङले देशलाई संसारमा चिनाउने व्यक्ति भएको र उनी जस्तो भूगोलविद देशमा कमै जन्मने बताए । स्व. गुरुङलाई चिरकालसम्म चिनाइ राख्न हर्क गुरुङ प्रतिष्ठानले काम गर्नुपर्ने कार्यक्रमका सहभागीले बताए ।

यता बेसीशहरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्णबहादुर ग ुरुङ, प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङ, क्व्होलसोंथार गाउँपालिकाका अध्यक्ष सुर्यप्रसाद गुरुङ, बेसीशहर नगरपालिकाका उपप्रमुख पद्मा गुरुङ लगायतले स्व. गुरुङको जीवनीमाथि प्रकास पार्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

वि.सं. १९९५ साल पुस २१ गते बुबा पारसै गुरुङ र आमा मैस्योको ठूलोकान्छा छोराको रुपमा जन्मेका डा. हर्क बहुमुखी प्रतिभाका धनी व्यक्ति थिए । नेपालमा विकेन्द्रीकरणको थालनी उनकै पहलमा भएको थियो । उनी पञ्चायतकालमा राज्य मन्त्री, योजना आयोगको सदस्य हुँदै उपाध्यक्ष सम्म बनेका थिए । भूगोल बिषयमा विद्यावारधी गर्ने उनी नेपालकै पहिलो ब्यक्ति हुन् । बहुमुखी प्रतिभाका धनी उनी समाजशास्त्री, दर्शनशास्त्री, पर्यटनविद, चित्रकार, खेलाडी, फोटोग्राफर, अन्वेषक भनेर पनि चिनिन्छन् ।
पछिल्लो समय संरक्षण क्षेत्रमा हात हालेका उनीको २०६३ असोज ७ गते निधन भएको थियो । विश्व वन्यजन्तु कोष नेपालको आयोजनामा गर कञ्चनजंघा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रममा भाग लिएर फर्कँदै गर्दा हेलिकप्टर दुर्घटनामा परी सालमा उनको मृत्यु भएको थियो । उनीसंगै वातावरणविद् डा. चन्द्रप्रसाद गुरुङसहित २४ जना देश–विदेशका विज्ञहरूको सोही दुर्घटनामा परी मृत्यु भएको थियो ।
खबरकुञ्ज