एमालेकाे नवाैं जिल्ला अधिवेशन चैत तेस्राे साता हुने

बेसीशहर, पुस २५ गते । नेकपा एमाले जिल्ला कमिटी लमजुङको ९ औँ जिल्ला अधिवेशन आगामी चैत १६ र १७ गते हुने भएको छ ।  एमाले जिल्ला कमिटी लमजुङको मंगलबार बेसीशहरमा बसेको ११ औँ बैठकले अधिवेशनकाे निर्णय गरेको हो ।

नेकपा एमाले लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकलाई एमाले केन्द्रीय  सदस्य एवं अखिल नेपाल महिला संघका केन्द्रीय अध्यक्ष टुका हमाल, जिल्ला इञ्चार्ज रामशरण बस्नेत, पालिका इञ्चार्ज जमिन्द्रमान घले र प्रेदश कमिटीका सचिव धनञ्जय दवाडीले बैठकलाई मार्ग निर्देशन गरेका थिए ।

बैठकमा जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीले प्रतिवेदन प्रस्तुत गर्दै एमालेको झुलाघाट-चिवा भन्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राको क्रममा लमजुङको उपस्थिति र कार्यक्रम सफल भएकाे दावी गरे ।

बैठकले पालिका भेलाको मिति तय गर्नुको साथै जिल्ला कमिटीमा राम श्रीमल र जीवन श्रीमललाई एवं सचिवालय सदस्यमा मदन राना र राजेन्द्र अधिकारीलाई मनोनित गरेको छ ।

बैठकमा जिल्ला कमिटीका उपाध्यक्ष एवं आर्थिक विभाग प्रमुख यशोदा रिमालले आय-व्यय विवरण प्रस्तुत गरेका थिए । बैठकमा पालिका कमिटीका अध्यक्षहरुले पालिकाभित्र भएका पार्टीका गतिविधिसहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।  बैठकको सञ्चालन जिल्ला कमिटी लमजुङका सचिव शुभाष पौडेलले गरेका थिए ।

प्रतिक्रिया