बेसीशहर, बैशाख १५ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विकासको दृष्टिकोणले पछि परेका ग्रामीण क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
लमजुङकाे दूधपाेखरी र गोरखाकाे अजिरकाेट गाउँपालिका जोड्ने कुनाघाटमा रहेको चेपेनदी भच्चेक सडक पुलको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले पूर्वी दूधपोखरी र अजीरकोटजस्ता बिकट र दुर्गम क्षेत्र बिकासकाे दृष्टिकाेणले पछि परेकाले यी क्षेत्रको विकासका लागि प्रदेश सरकारकाे प्रतिबद्धता जनाएका हुन् ।

मुख्यमन्त्रीले लमजुङ र गोरखाका यी दुई पालिकाको सडक, पुल, स्वास्थ्य, सञ्चार र विद्युतलगायतका पूर्वाधारको योजनाबद्ध विकासका लागि प्रदेश सरकार सकरात्मक रहेको धारणा राखे । उनले सडकको स्तरोन्नतिका लागि आगामी बजेटमा सम्बोधन गर्ने आश्वासन पनि दिए ।
मुख्यमन्त्रीले भने– “पुल निर्माण भएर मात्रै हुँदैन, हिउँद बर्खा नै चल्ने सडकको यहाँ आवश्यकता छ । पुल त हिउँद वर्षा काम लाग्छ, तर बाटो पनि हिउँद बर्खा चल्ने चाहियो, यो बाटो भएन भने यो पुल बर्खामा हाँसेर बस्छ । त्यसैले हिउँद बर्खा चल्ने बाटो बनाउनु पर्छ, यो तपाइँहरुको मनको कुरा पनि हो, मैले देखेको कुरा पनि हो ,त्यसैले अबको बजेटमा बाटोको स्तरोन्नतिका लागि बजेटको ब्यवस्था हुन्छ ।
प्रदेशको विकासका लागि हाल पर्यप्त बजेटको ब्यवस्था नभएको गुनासो गर्दै मुख्यमन्त्री पाण्डेले ५ खर्बको बजेट आवश्यकता पर्नेमा अहिले ५ अर्ब पनि जुटाउन नसक्दा चाहेजति विकास निर्माणका काम गर्न नसकिएको बताए । जनताका आवश्यकता धेरै भए पनि सीमित बजेटले ती आवश्यकता तत्काल पूरा गर्न नसकिने बताए ।

प्रदेश सरकारका आर्थिक मामिला मन्त्री डा टकराज गुरुङले प्रदेश सरकारले चाहेर पनि बजेट अभावकै कारण धेरै काम गर्न नसकेको भन्दै विकासको दृष्टिकोणले पछि परेका दुर्गम क्षेत्रका विकासका लागि प्रदेश सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गर्ने बताए ।
पूर्वी लमजुङको दूधपोखरी गाउँपालिका १ र गोरखाको अजिरकोट गाउँँपालिका २ जोड्ने उक्त पुल मोटरेवल पुल ४ करोड ३७ लाखको लागतमा निर्माण भएको हाे । ४० मिटर लम्बाइकाे पुल सिंगल स्पानको हो । यसको भारबहन क्षमता ७० टन रहेकोे पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख विवेक सिग्देलले जानकारी दिए ।

खबरकुञ्ज