काठमाण्डौ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको र आजै बेलुकासम्म नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिएको हो ।
उत्तरपुस्तिका परीक्षणको काम सकिएपछि प्राविधिक काम पनि करीब सम्पन्न भइसकेको, नम्बर कम्प्युटरमा चढाउने, सम्परीक्षण गर्ने, रुजु गर्नेलगायतका प्राविधिक कार्य समेत भइसकेको र कुनै प्राविधिक समस्या नआए भरे बेलुकासम्म नतिजा सार्वजनिकको अन्तिम तयारी भइरहेको बाेर्डले जनाएकाे छ ।
परीक्षा बोर्डका अनुसार यसपाली अन्तिम पटक २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गर्ने निर्णय भएकोे छ । विसं २०७२ को प्रणालीअनुसार सैद्धान्तिक र प्रयोगात्मकको जोडेर ३५ प्रतिशत अङ्क ल्याए पनि विद्यार्थी उत्तीर्ण हुने व्यवस्था छ ।
योे पद्धतिअनुसार ९० देखि १०० प्रतिशत ल्याउनेलाई ए प्लस, ८० देखि ९० भन्दा ल्याउनेलाई ए, ७० देखि ८० ल्याउनेलाई बी प्लस, ६० देखि ७० ल्याउनेलाई बी, ५० देखि ६० ल्याउनेलाई सी प्लस, ४० देखि ५० ल्याउनेलाई सी, ३० देखि ४० ल्याउनेलाई डी प्लस, २० देखि ३० ल्याउनेलाई डी तथा २० भन्दा कम ल्याउनेलाई ई ग्रेड प्रदान गर्ने गरिएको छ ।
नयाँ निर्देशिका २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले ३५ प्रतिशत अङ्क अनिवार्य ल्याउनु पर्छ । नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउनेलाई नन ग्रेडेडमा राखिन्छ । यो व्यवस्था आगामी वर्षदेखि लागू हुने बताइएकोे छ ।
गएको चैत १७ गतेदेखि २९ गतेसम्म भएको एसईई परीक्षामा देशभरका सामुदायिक र निजी विद्यालयका गरी कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थी सहभागी भएका थिए । प्राविधिक धारतर्फका १५ हजार चार सय ६१ जना परीक्षार्थीसमेत एसईईमा सहभागी थिए ।
राष्ट्रिय परीक्षा बोर्डले आज प्रकाशित गर्न लागेको एसईई परीक्षाको नतिजा सहजै हेर्ने व्यवस्था गरेको छ । वेबसाइट, एसएमएस र आइभिआरबाट समेत नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।
नतिजा हेर्नका लागि १६०० मा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा जान्न सकिन्छ । त्यस्तै एसएमएसका लागि १६००, ३१००३, ३४९४९, ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था मिलाइएको छ । इन्टरनेटमा परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाइटमा नतिजा हेर्न सकिने छ ।
नतिजा हेर्न सकिने वेभसाइटहरू
www.see.ntc.net.np