बेसीशहर । प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० विरुद्ध लमजुङका निजी विद्यालय सञ्चालकहरु समेत आन्दोलित भएका छन् । मंगलबार प्रस्तावित विधेयकमा समावेश गरिएका विषयहरुमा आपत्ति जनाउँदै प्याब्सन, एन प्याब्सन र हिसानले संयुक्त रुपमा आन्दोलन घोषणा गरेका थिए ।
मंगलबार काठमाडाैंमा पत्रकार सम्मेलन प्याब्सन लगायत संघसंस्थाहरूले घोषणा गरेकाे आन्दाेलनकाे कार्यक्रम अनुसार लमजुङमा प्याब्सनले जिल्ला प्रशाससन कार्यालय, शिक्षा बिकास तथा समन्वय इकाइ, बेसीशहर नगरपालिका लगायतका निकायमा ज्ञापन पत्र बुझाएकाे छ ।

ज्ञापनपत्रमा शिक्षा विधेयकमा भएका केही प्रावधान खारेजीको माग गरिएकाे छ । बिधेयकमा सरोकारवालाका सुझावहरुलाई वेवास्ता गरिएकाे र निजी लगानीका संस्थागत विद्यालयहरूप्रति पूर्वाग्रही रहेकाे भन्दै ज्ञापनपत्रमा बिधेयक अव्यवहारिक, अन्यायपूर्ण र संविधान विपरीत समेत भएकाले संशोधनको लागि सम्वन्धित निकायकाे ध्यानाकर्षण गराइएको छ ।

आन्दाेलनका कार्यक्रम अनुसार प्याब्यासन लगायत आन्दाेलनरत संस्थाहरूले बिहीबार प्रस्तावित विधेयक विरुद्ध विरोध प्रदर्शन गर्ने, शुक्रबार सरोकारवाला पक्षबीच अन्तरक्रिया तथा छलफल गर्ने, आ-आफ्ना संगठनमा समीक्षा बैठक गर्ने छन् । त्यस्तै १ भदौमा अनिश्चितकालीन विद्यालय बन्द तथा विद्यालयका सवारी साधनहरु सार्वजनिकस्थलमा पार्किङ गर्ने घोषणा उनीहरूले गरेका छन् ।
प्रस्तावित विधेयकमा कम्पनी मार्फत सञ्चालित विद्यालयहरुलाई ५ वर्षभित्र गुठीमा रुपान्तरण गर्न र दायित्व फरफारकको विषयलाई समावेश गरी निजी लगानीको शिक्षा क्षेत्रलाई निरुत्साहित गर्न खोजिएको र निजी लगानी तथा व्यवस्थापनमा सञ्चालन भएका शैक्षिक प्रतिष्ठानहरुको अस्तित्व नामेट पर्ने उद्देश्यबाट बिधेयक अभिप्रेरित भएको उनीहरूकाे अाराेप छ ।
प्याब्सन लमजुङका अध्यक्ष मेनवहादुर घलेकाे नेतृत्वमा गएकाे प्रतिनिधिमण्डलले प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्याल, शिक्षा बिकास तथा समन्वय इकाइका प्रमुख बीरबहादुर गुरूङलाइ ज्ञापन पत्र बुझाएका हुन् ।
ब्याब्सनले सुन्दरवजारका नगरप्रमुख कृष्णप्रसाद कोइराला, मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ र राइनासमा शिक्षा शाखा प्रमुख पूर्णवहादुर अछामीलाइ ज्ञापन पत्र बुझाएकाे र बिहीबार मध्यनेपाल नगरपालिकामा ज्ञापनपत्र वुझाउने कार्यक्रम रहेकाे प्याब्सन लमजुङका सचिव विमल अधिकारीले जानकारी दिए ।