बेसीशहर । स्वास्थ्य क्षेत्रमा गण्डकी प्रदेशमै उत्कृष्ट ठहरिएकाे लमजुङकाे मध्यनेपाल नगरपालिका लमजुङ जिल्लाका आठ स्थानीय तहमध्ये पनि सर्वाेत्कृष्ट ठहरिएकाे छ । स्वास्थ्य कार्यालय लमजुङले गरेकाे कार्यसम्पादन मूल्याङ्कनमा मध्यनेपाल नगरपालिकाकाे स्वास्थ्य शाखा जिल्लाकै सर्वाेत्कृष्ट घाेषणा भएको हो ।
स्वास्थ्य कार्यालय लमजुङले बिभिन्न सूचकका माध्यमले जिल्लाका सबै स्थानीय तहमा भएका स्वास्थ्य सम्बन्धी गतिविधिकाे मूल्याङ्कन गरेकाे थियाे । यसमा मध्यनेपाल नगरपालिकाले सबै भन्दा धेरै अर्थात ८६.२२ प्रतिशत अंक प्राप्त गरेको थियाे ।
स्वास्थ्य कार्यालयकाे मूल्याङ्कनमा बेसीशहर नगरपालिकाले ७५.३२ प्रतिशत अंङ्क प्राप्त गरी दोस्रो स्थान प्राप्त गरेकाे छ । त्यस्तै मर्स्याङदी गाउँपालिकाले ७४.६५ प्रतिशत अंक पाएर तेस्राे, ७४.४९ प्रतिशत अङ्क पाइ क्व्हाेंलसाेथार गाउँपालिकाले चाैथाे स्थान प्राप्त गरेकाे छ ।
स्वास्थ्य कार्यालयका अनुसार पाँचाैं स्थानमा दूधपाेखरी गाउँपालिका परेकाे छ । दूधपाेखरीले ७३.३७ प्रतिशत अङ्क पाएकाे छ । त्यस्तै छैटाैं स्थानमा राइनास नगरपालिका, साताैं स्थानमा दाेर्दी गाउँपालिका र अाठाैं स्थानमा सुन्दरबजार नगरपालिकाले स्थान बनाएका छन् ।
छैटाैं स्थानकाे राइनासले ७२.१२ प्रतिशत, साताैं स्थानकाे दाेर्दीले ७१.८९ प्रतिशत र अन्तिम स्थान बनाएकाे सुन्दरबजार नगरपालिकाले ६९.९६ प्रतिशत अंक प्राप्त गरेका स्वास्थ्य कार्यालयले जनाएकाे छ ।
स्वास्थ्य कार्यालयले बुधवार एक औपचारिक कार्यक्रम गरेर उत्कृष्ट कार्यसम्पादन गर्ने स्थानीय निकायलाइ अवार्ड सहित प्रमाणपत्र दिइ सम्मान गरेकाे छ । जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्णबहादुर गुरूङले उत्कृष्ट कार्यसम्पादन गर्ने पालिकाका प्रमुख तथा ती पालिकाका स्वास्थ्य शाखाका प्रमुख तथा प्रतिनिधिहरूलाइ अवार्ड र प्रमाणपत्र प्रदान गरेका थिए ।
साेही अबसरमा सबै पालिकाले आफूले गरका गतिबिधि समेटिएकाे पाेष्टर सार्वजनिक गरेका थिए । जसमा मर्स्याङदी गाउँपालिका प्रथम, क्व्हाेंलसाेंथार गाउँपालिका द्वितीय र दूधपाेखरी गाउँपालिकाले तेस्राे स्थान पाए ।