जनगणना २०७८ काे तथ्याङ्कमा लमजुङः जनसंख्या घट्याे, पुरूषभन्दा महिला धेरै

बेसीशहर । लमजुङ जिल्लाको जनसंख्या घटेको जनगणना २०७८ को तथ्याङ्कले देखाएको छ । तथ्याङ्क कार्यालय गोरखाले २०६८ देखि २०७८ सम्मको अवधिमा लमजुङ जिल्लाको जनसंख्या ११ हजार ८ सय ७२ ले घटेको जानकारी दिएको छ ।

तथ्याङ्क कार्यालय गोरखाका तथ्याङ्क अधिकृत जितेन्द्र रानाभाटले २०६८ को जनगणनामा लमजुङको जनसंख्या जनसंख्या १ लाख ६७ हजार ७२४ रहेकोमा २०७८ को गणनामा जनसँख्या घटेर एक लाख ५५ हजार आठसय ५२ कायम भएको जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयमा आइतबार आयोजित एक कार्यक्रममा तथ्याङ्क अधिकृत रानाभाटले जनगणनाको विधि, प्रक्रिया, जनसंख्या वृद्धिदरको अवस्थालगायतका विषयमा प्रतिवेदन प्रस्तुत गरेका थिए।

उक्त प्रतिवेदन अनुसार लमजुङमा महिलाहरुको जनसंख्या महिला ८१ हजार सातसय ७५ जना रहेका छन् भने पुरुषको सँख्या ७४ हजार ७७ जना रहेको छ । जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक अर्थात -०.७० प्रतिशत छ ।

जिल्लाभित्र बसोबास गर्नेहरुको मात्र गणना गरिएकाले जनसंख्या बृद्धिदर ऋणात्मक देखिएको हो । जिल्लाबाहिर र देशबाहिर रहनेहरुको यो संख्यामा गणना गरिएको छैन ।

तथ्याङ्क अनुसार लमजुङ जिल्लाबाहिर तर स्वदेशमै रहेको जनसंस्था ३१ हजार ६५६ छ । जसमा १६ हजार सातसय ९२ पुरुष र १४ हजार आठसय ६४ जना महिला छन् । विदेशमा रहनेहरुको जनसँख्या १६ हजार आठसय ७१ छ । जसमध्ये १४ हजार सातसय ६२ पुरुष र दुईहजार १०९ जना महिला छन् । विदेशमा रहेका १५- ५९ बर्षसमूहको जनसंख्या १५ हजार ६७१ रहेको तथ्याङ्क अधिकृत रानाभाटले जानकारी दिए ।

जातिगत आधारमा अहिले पनि लमजुङमा सवैभन्दा धेरै गुरुङहरुको जनसंख्या छ । लमजुङमा गुरुङहरुको संख्या ४५ हजार ५९७ छ । तथ्याङ्क अनुसार दोस्रो बढी जनसंख्या क्षेत्रीहरुको छ । क्षेत्रीहरु २४ हजार १९३ छन् । जनसंख्याको आधारमा तेस्रोमा रहेको ब्राह्मणहरुको जनसंख्या १८ हजार २१०, चौथोमा रहेका विश्वकर्मा १४ हजार,  पाँचौंमा रहेका तामाङहरु १२ हजार १९४,  छैटौंमा रहेका मिजारहरुको जनसंख्या ८ हजार ७३२ छ । त्यस्तै परियार ६ हजार २७२, नेवार ५ हजार ८४६ र मगर जातीको जनसंख्या ३ हजार ८४० छ ।

लमजुङमा सवैभन्दा धेरै हिन्दू धर्मावलम्बी छन् । जिल्लामा हिन्दुहरुको सँख्या ९७ हजार तीनसय १८ छ । बौद्ध धर्मावलम्बी ४६ हजार ४५, बोन धर्मावलम्बीहरु ७ हजार २५५, क्रिश्चियन ३ हजार ८६४ र मुस्लिम एकहजार १९४ जना छन् । लमजुङमा बहाई र शिख धर्ममा आस्था गर्नेहरुको सँख्या एक/एक जना रहेको छ ।

चार गाउँपालिका र चार नगरपालिका गरी आठ स्थानीय तह रहेको लमजुङमा सबैभन्दा बढी जनसंख्या बेसीशहर नगरपालिकामा छ । बेसीशहरमा ३८ हजार २३२ जनसंख्या छ । दोस्रो धेरै जनसंख्या रहेको सुन्दरवजारमा २७ हजार ४३, मध्यनेपालमा २१ हजार ९७१ र राईनासमा १७ हजार ४०२ जनसंख्या छ । 

गाउँपालिका तर्फ मस्र्याङदीमा १७ हजार ८०, दोर्दीमा १६ हजार ५०, दुधपोखरीमा ८ हजार ५९२ र क्होलासोँथारमा सातहजार ९६० जनसंख्या छ ।

२०७८ सालमा सम्पन्न भएको जनगणनाको नतिजा गत चैत १० गते सार्वजनिक गरिएकोमा जिल्लागत तथ्याङ्क आईतबार सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया