काठमाडाैं । बेहुली पक्षसँग दाइजाे माग गर्दै अपमानित गर्ने र बेहुलीलाइ मण्डपमै गाली बेइज्जति गर्ने एक बेहुला काठमाडाैंबाट पक्राउ परेका छन् ।
काठमाडाैंकाे नक्शालस्थित लिसेरा रिसेप्सन पार्टी प्यालेसमा विवाह हुँदै गर्दा बेहुली पक्षसंग ५० लाख रुपैयाँ दाइजो मागेको आरोपमा सुनसरीको दुहबी नगरपालिका-६ घर भई हाल काठमाडौंको ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियार पक्राउ परेका हुन् ।
अमेरिकाको ग्रिनकार्ड समेत रहेकाे भनिएका रौनियारको मंगलबार असार १२ गते काठमाडौंको नक्शालस्थित लिसेरा रिसेप्सन पार्टी प्यालेसमा विवाह हुँदै थियो ।
विवाह हुँदै गर्दा बेहुला पक्षले बेहुली पक्षबाट मागेजति दाइजो नपाएको र बिबाहका जन्तीलाई समेत राम्रो स्वागत नभएकाे भन्दै विवाह रद्द गर्ने धम्की दिएका थिए ।
बेहुला पक्षले बिबाह अघि नै बेहुली पक्षबाट पटक-पटक गरी २२ लाख रुपैयाँ दाइजाेबापत लगिसकेकाे बुझिएकाे छ ।
विवाद बढ्दै जाँदा बेहुलीलाई विवाह मण्डपमै गाली बेइज्जती तथा हातपात समेत भएपछि बेहुलीपक्षले प्रहरी वृत्त मालीगाउँमा खबर गरेका थिए । त्यसपछि बेहुलालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनी उपर विवाह सम्बन्धी कसुर मुद्दामा चलाइएकाे छ ।