कीर्ते गरी नागरिकता लिएकाे आरोपमा उपमेयर पक्राउ

जनकपुरधाम । भारतीय नागरिक भइ कीर्ते कागज बनाएर नेपाली नागरिकता बनाएकाे आरोपमा सप्तरीकाे डाकनेश्वरी नगरपालिकाका उपमेयर मीराकुमारी यादवलाइ प्रहरीले पक्राउ गरेकाे छ ।

यादवले नक्कली कागजपत्र बनाएर नेपाली नागरिकता बनाएकाे भन्दै डाकनेश्वरी नगरपालिका वडा न.– ४ का कृष्णकुमार यादवले प्रहरीमा उजुरी दिन खाेज्दा प्रहरीले उजुरी लिएकाे थिएन । यसका बिरूद्ध उनले उच्च अदालतमा रिट दिएका थिए । रिटमाथि सुनुवाइ गर्दै अदालतले प्रहरीलाई मुद्दा दर्ता गरी पक्राउ गर्न परमादेश जारी गरेको थियो । अदालतले आदेश गरेपछि प्रहरीले उपमेयर यादवलाइ प्रहरी कार्यालयमा बाेलाएकाे थियाे ।

बुधबार साँझ  ५ बजेतिर प्रहरी कार्यालय पुगेकी यादवलाई प्रहरीले नियन्त्रणमा लिइ हिरासतमा राखेकाे हाे । 

उपमेयर मीरा र उनका पति महेन्द्र यादव भारतीय नागरिक रहेको र उनीहरूले नक्कली कागजपत्र बनाएर नेपाली नागरिकता लिएको कृष्णकुमार यादवकाे दावी छ । उनीहरू भारतको बिहार राज्यकाे जिल्ला सुपौल, मझारी ग्राम, निवासी रहेको दाबी उजुरीमा गरिएको छ ।

उपमेयर यादव पक्राउ परे पनि उनका पति महेन्द्र भने फरार छन् । उनको खोजी भइरहेको छ ।


प्रतिक्रिया