बेसीशहर, पुस ०९ गते । राईनास नगरपालिकाको धमिलीकुवामा चौथो राईनास कप २०८१ को तयारी शुरु गरिएको छ । राईनास नगरपालिकाको प्रायोजनमा गौलीटार क्षेत्रीय खेल मैदान समितिले प्रतियोगिताको आयोजना गरेको हो ।
धमिलीकुवाको गौलीटार क्षेत्रीय खेल मैदानमा यही माघ १ गतेदेखि शुरु हुने तीन लाख रुपैयाँ पुरस्कार राशी रहेको प्रतियोगितामा लमजुङसहित गोरखा र तनहूँका विभिन्न टीमले सहभागिता जनाउने छन् ।
प्रतियोगिता बारे जानकारी गराउन आईतबार धमिलीकुवामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गौलीटार क्षेत्रीय खेलमैदान समितिका अध्यक्ष टेकेन्द्रनाथ चिलुवालले प्रतियोगितामा १२ वटा टीमले सहभागिता जनाउने र प्रतियोगिताको तयारी शुरु गरिएको जानकारी दिए । उनले खेल प्रतियोगितालाई सफल बनाउन १०१ सदस्यीय मूल आयोजक समिति र विभिन्न ९ वटा उपसमितिहरु गठन गरिएको जानकारी दिए ।
सो अवसरमा उनले प्रतियोगिताको उपाधि विजेताले नगद ३ लाख, राईनास कप, स्वर्णपदक र प्रमाणपात्र, उपबिजेताले नगद १ लाख ५० हजार, कप, रजत पदक र प्रमाणपत्र तथा सेमीफाइनल पुग्ने अन्य दुई टीमले नगद ४०÷४० हजार पुरस्कार पाउने जानकारी दिए ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही ७÷७ हजार पुरस्कार र प्रमाणपत्र र प्रत्येक खेलमा म्यान अफ दि म्याच घोषणा गरी नगद १ हजारको साथमा मायाको चिनो प्रदान गरिने पत्रकार भेटघाटका अवसरमा जानकारी गराइयो ।
राईनास ७ का वडा अध्यक्ष गोविन्द चिलुवालको प्रमुख आतिथ्यमा भउको कार्यक्रममा गौलीटार क्षेत्रीय खेलमैदानको स्तरोन्नतिका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारले बजेट ब्यवस्थापन नगरेकामा दुःख प्रकट गरियो । प्रतियोगिता सफल बनाउन मुख्य प्रायोजक राईनास नगरपालिकाले ८ लाख रुपैयाँ बजेट उपलब्ध गरेको गौलिटार क्षेत्रिय खेल मैदान समितिका सचिव प्रदिपजंग गुरुङले जानकारी दिए ।
खबरकुञ्ज